बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशन प्रतिनिधि छनोटः तनहुँमा लफडा, मध्यराति अध्यक्षमाथि कुटपिट

आइतबार, १४ मङ्सिर २०८२, १८ : ३२
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • तनहुँमा एमालेको प्रतिनिधि छनोटका क्रममा विवाद भएको छ, मतदानका क्रममा लफडा सुरु भएको हो।
  • शनिबार राति मत गन्दा केही व्यक्तिले कम मत आएको भन्दै विवाद गरेपछि कार्यालयमा ताला लगाइयो।
  • असन्टुष्ट पक्षले जिल्ला अध्यक्ष र अन्यले मतपेटिकामा गडबडी गरेको आरोप लगाएका छन्, कुटपिट समेत भएको छ।

पोखरा । नेकपा एमालेको प्रतिनिधि छनोटका क्रममा तनहुँमा लफडा भएको छ ।

सर्वसम्मत हुन नसकेपछि यहाँ मतदानबाट प्रतिनिधि टुंग्याइएको थियो । तर शनिबार राति मत गन्दागन्दै केही व्यक्तिले आफ्नो मत कम आएको भन्दै लफडा सुरु गरेका थिए । आइतबार सहमति गरेर पुनः मतगणना सुचारु गर्ने भनेपछि कार्यालयमै ताला लगाएर मतपेटिका राखिएको थियो । तर, राति जिल्ला अध्यक्ष, इन्चार्ज र मतगणकले मतपेटिका तलमाथि गरेको आरोप असन्तुष्ट पक्षको छ । 

‘बन्दीपुर गाउँपालिकाको गणना हुँदाहुँदै कम मत आएको भनेर एकपक्षले विरोध गर्‍यो । सोही पालिकाबाट उम्मेदवार बनेकामध्ये एक जनाको ९९ सय र अर्कोको कम मत आएपछि विवाद सुरु भएको हो,’ नेता रामबहादुर गुरुङले भने, ‘मत कम आउँदैमा गणना रोक्नुपर्ने थिएन । सबैले आइतबार गणना गर्ने भनेपछि स्थगित भयो, तर राति लफडा भएछ ।’

तनहुँकै अर्का एक नेताका अनुसार राति एक बजे मतगणना रोकिएपछि दुई बजे जिल्ला अध्यक्ष हरिराज कँडेल सहितको टोलीले ताला खोलेर मतपत्र तलमाथि गरेका थिए । 

‘जिल्ला अध्यक्ष, इन्चार्ज, अध्यक्षकी श्रीमती र मतगणनामा खटिएका कर्मचारी राति दुई बजे पार्टी कार्यालयमा देखेपछि लफडा भयो,’ ती नेताले भने, ‘तालाचाबी लगाएर गएपछि राति उनीहरू कार्यालय गएर ढोका खोल्नुपर्ने कारण के हो भनेर कुटपिट पनि भयो ।’

उनीहरू कार्यालयमा रहेको थाहा पाएपछि उम्मेदवारसमेत रहेका पूर्णबहादुर गुरुङको समूह पार्टी कार्यालय पुगेका थिए । उनीहरूले मतपेटिकामा गडबडी गरेको भन्दै जिल्ला अध्यक्ष र कर्मचारी सुनिल पाण्डेमाथि कुटपिट गरेका नेताहरूले बताएका छन् । 

अर्को पक्षले यही अवस्थामा मतगणना हुन नसक्ने बताएको छ । गुरुङले अब सहमतिबाट निर्णय निकाल्नुपर्ने बताए । ‘मतपत्र नै तलमाथि गरेपछि गणना गरेर अब काम छैन । समय धेरै नभएकोले सहमतिबाट निकास निकाल्नुपर्छ,’ उनले भने, ‘होइन भने पुनः मतदान हुनुपर्छ ।’ 

तनहुँको क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् तर १ मा भने निर्वाचन भएको थियो । देवघाट, आँबुखैरेनी र भानु नगरपालिकाको मतगणना सकिएर बन्दीपुरमा सुरु गरेपछि विवाद निस्किएको हो । बन्दीपुरपछि ब्यासको मत गन्न बाँकी थियो । घटनाबारे बुझ्न सम्पर्क गर्दा इन्चार्ज केदार सिग्देल र अध्यक्ष हरिराज कँडेल दुवैले फोन उठाएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप