शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनोटमा लुम्बिनी प्रदेशका केही जनप्रतिनिधि पराजित

आइतबार, १४ मङ्सिर २०८२, १९ : २०
आइतबार, १४ मङ्सिर २०८२

बुटवल । नेकपा एमालेको ११ औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम भइरहेको छ । लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्लामा भएको प्रतिनिधि छनोटमा मतदानबाट जनप्रतिनिधि पराजित भएको पाइएको छ ।

अर्घाखाँचीमा भएको महाधिवेशन प्रतिनिधि छनोटमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् । लुम्बिनी प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिका सभापति समेत रहेका घिमिरेले एक हजार २०७ मत प्राप्त गरेर पराजित भए । शीतगंगा नगरपालिकाकी उपप्रमुख गीता भाट क्षेत्रीले महिलातर्फ प्रतिस्पर्धा गरेकी थिइन्, तर पराजित भइन् ।

एमाले प्रतिनिधि छनोटमा रुपन्देहीको देवदह नगरपालिकाकी उपमेयर विद्यालक्ष्मी गुरुङ पनि पराजित भएकी छन् । उनी देवदह नगरपालिकामा दोस्रो पटक उपमेयरमा निर्वाचित भएपनि पार्टीको प्रतिनिधि छनोटमा भएको मतदानमा पराजित भएकी हुन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार गुरुङ रुपन्देही क्षेत्र नम्बरबाट पराजित भएकी छन् । यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसी पनि पराजित भएका छन् भने सोही गाउँपालिका वडा नम्बर १ का वर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल पनि प्रतिनिधि छनोट निर्वाचनमा पराजित भएका छन् ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाका पूर्व प्रमुख तथा पार्टीका जिल्ला सचिव धिरज शर्मा बस्याल पनि पराजित भएका छन् । नवलपरासीमा ११ जना महाधिवेशन प्रतिनिधिका लागि ३० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । जसमा जिल्ला सचिव एवं बर्दघाट नगरपालिकाका पूर्व प्रमुख धिरज शर्मा बस्याल र पार्टी जिल्ला उपसचिव राजन आचार्य पराजित भएका छन् । 

नवलपरासीमा कुल ३ हजार ८ सय ४३ सङ्गठित सदस्यहरू मतदाता रहेकोमा बदर मतसहित २ हजार १ सय ६७ मत (५६.३८ प्रतिशत) खसेको थियो । यसमा १ हजार ६७६ मतदाता अनुपस्थित रहेका थिए ।

पराजित हुनुका विभिन्न कारण

राजनीतिक मामिला जानकार राजीव गौतम जनप्रतिनिधिहरू पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा पराजित हुनुमा गुटबन्दी मुख्य कारण रहेको बताउँछन् । जसकारण जनताले रुचाएपनि कार्यकर्ताले रुचाएको नपाइएको उनी बताउँछन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाको अवस्था

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ५ जिल्लामा मतदान भएको थियो भने ७ जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । दाङ र बाँके जिल्लामा प्रतिनिधि छनोटमा सर्वसम्मत भनिएपनि पछि उजुरी परेपछि विवाद बाहिर आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप