सर्वसम्मत भनिएका लुम्बिनीका जिल्लामा पनि विवाद
सारांश
- नेकपा एमालेले लुम्बिनी प्रदेशका सात जिल्लामा महाधिवेशनका लागि निर्वाचन गर्यो।
- दाङ र बाँकेमा प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ, जहाँ कार्यकर्ताहरूले प्रक्रियाको विरोध गरेका छन्।
- लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १३५ संगठित सदस्य छन्, र केन्द्रीय संगठन विभागले यस विषयमा निर्णय गर्नेछ।
बुटवल । नेकपा एमालेले आगामी महाधिवेशनका लागि राष्ट्रिय प्रतिनिधि छनोटको कार्य सर्वसम्मत बनाउने प्रयास गरे पनि लुम्बिनी प्रदेशका सात जिल्लामा निर्वाचन भएको छ । यद्यपि सर्वसम्मत भनिएका दुई जिल्लाबाट पनि विवाद सतहमा आएको छ ।
एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको रातोपाटीलाई बताए । तर, दाङ र बाँकेमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको भनिए पनि एउटा भूगोलका प्रतिनिधिलाई अर्कोमा राखेको र जबर्जस्ती निर्णय गरिएको खुलेको छ ।
अन्य जिल्लाहरू; रुपन्देही, पाल्पा, अर्घाखाँची र नवलपरासीमा निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष कँडेलले रोल्पामा मतदान चलिरहेको जानकारी दिए ।
एमालेको केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरअनुसार लुम्बिनी प्रदेशका लागि खुलाबाट ८० जना, महिला ५३, युवा २६, दलितबाट १९, मजदुरबाट ७ र प्रदेश कमिटीबाट ५ जना गरी कुल १९० जना प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ ।
जिल्लाबाट प्रतिनिधि छनोट भई प्रदेशमा आउने क्रममा रहेकाले त्यसको लिखित जानकारी पार्टीको संगठन विभागलाई प्रदेशले पठाउने अध्यक्ष कँडेलले बताए । उनले भने, ‘हामीले यहाँबाट प्रतिनिधिहरूको नामसूची लिखित रूपमा बाहिर सार्वजनिक गर्दैनौँ, माथि संगठन विभागमा पठाएपछि विभागले सार्वजनिक गर्नेछ ।’
मतदान भइरहेको रोल्पामा युवा र दलित प्रतिनिधि सर्वसम्मत चयन भए पनि खुला र महिला प्रतिनिधिमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुनेछन् ।
दुई जना खुला प्रतिनिधिका लागि रोल्पामा तीन जना र दुई जना महिला प्रतिनिधिका लागि चार जनाको उम्मेदवारी परेपछि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको हो ।
यस्तै, रुपन्देहीबाट ३४, बर्दियाबाट १५, नवलपरासी पश्चिमबाट ११, पूर्वी रुकुमबाट ५, गुल्मीबाट २०, अर्घाखाँचीबाट १३, कपिलवस्तुबाट १५ र प्युठानबाट ८ जना राष्ट्रिय प्रतिनिधि छनोट भएका छन् । लुम्बिनी प्रदेशमा मात्र एमालेका ८२ हजार १३५ संगठित सदस्य छन् ।
दुई जिल्लामा विवाद
सर्वसम्मत निर्वाचन सकिएको भनिएका दाङ र बाँकेमा प्रतिनिधि छनोट विवादित बनेको हो । दुवै जिल्लाको विवाद उस्तै प्रकृतिको छ । विधि र प्रक्रियाविपरीत एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टी केन्द्रीय संगठन विभागमा उजुरी हालेका छन् ।
केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरविपरीत मतदाता नामावली र निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालले आरोप लगाए ।
यसअघि विभिन्न चरणमा आकांक्षीहरूसँग छलफल र परामर्श गरेर सूची टुंग्याइएको दाङ जिल्ला सचिव सूर्यबहादुर डाँगीले जानकारी दिए । यस्तै, बाँके क्षेत्र नम्बर २ र ३ मा पनि प्रतिनिधि छनोटमा होटलको कोठामा बसेर निर्वाचनको प्रक्रिया नै नगरी छनोट गरेको भन्दै कार्यकर्ताहरूले विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा आक्रोश पोख्नेदेखि उजुरीसम्म दिने काम बाँकेमा भएको छ । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले दुई जिल्लाबाट उस्तै उस्तै प्रकृतिको निवेदन आएकोले केन्द्रीय संगठन विभागले छिट्टै उचित निकास निकाल्ने रातोपाटीसँग बताए ।
एमालेको केन्द्रीय कमिटीमै लुम्बिनी प्रदेशबाट ठुला नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, गोकर्ण विष्ट र प्रदीप ज्ञवाली रहेका छन् । अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबिच आगामी अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएपछि यहाँ पनि प्रतिनिधि छनोटमा कार्यकर्ताहरू विभाजित बन्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण