बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुरानो संरचनाविरुद्ध नयाँ चेतना

सोमबार, १५ मङ्सिर २०८२, १३ : ५१
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाल गहिरो ऐतिहासिक संक्रमणबाट गुज्रिरहेको छ, राजनीतिक असन्तुष्टि बढ्दै छ र युवा पुस्तामा राज्यप्रति अविश्वास बढेको छ।
  • युवा पुस्ताले शिक्षा, रोजगारी र न्यायको अभाव महसुस गर्दै विदेश पलायन हुनुपरेको छ, तर उनीहरू देशमै भविष्य खोज्न चाहन्छन्।
  • राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढेको छ, र जेनजी पुस्ताले पारदर्शिता, जवाफदेहिता र अवसरको माग गर्दै आन्दोलन गरिरहेको छ।

नेपाल आज एउटा गहिरो ऐतिहासिक सङ्क्रमणबाट गुज्रिरहेको छ। सतहमा शान्त देखिने राजनीतिक वातावरणभित्र एक अकल्पनीय असन्तोष उम्लिरहेको छ; सडकमा युवाको रोष, सामाजिक सञ्जालमा नागरिकको प्रश्न र देशभर फैलिएको शासनप्रति अविश्वासले एउटा नयाँ यथार्थ जन्माइरहेको छ। विडम्बना त के छ भने यो सबै यथार्थ आकस्मिक होइन, यो धेरै वर्षदेखि बनेर आएका गहिरा संरचनागत समस्याहरूको परिणाम हो। नेपालले राजनीतिक प्रणाली फेर्‍यो, संविधान फेर्‍यो, शासन प्रणाली फेर्‍यो, तर शासन मनोवृत्ति भने उही रह्यो। यही कारण परिवर्तनको धेरै चोटी, तर प्रगतिको झिनो धूलो मात्रै।

हाम्रो इतिहासको घाउ अझै ताजा छ। राजतन्त्रको पतन, जनयुद्धको बलिदान, संविधानसभाको ठुलो आकांक्षा, संघीयताको आशा—यी सबैले देशलाई नयाँ यात्रामा डोर्‍याए। तर विडम्बना, देशको मुख्य संरचना अझै पनि पुरानै शक्ति–केन्द्रको कब्जामा छ। नीति बनाउनेहरू जनतालाई भन्दा आफ्नै दायरा, आफ्नै गुट, आफ्नै संरक्षित नेटवर्कका लागि नीति बनाइरहेका देखिन्छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय—जताततै सर्वसाधारणले भेट्छन् निराशा, ढिलासुस्ती, उपेक्षा र असक्षमता। यो यथार्थ कुनै एक सरकारको होइन; यो धेरै दशकदेखि जरा गाडेर बसेको सत्ता–शैलीको परिणाम हो, जसमा परिवर्तनको वाचा धेरै आएको छ तर व्यवहारमा परिवर्तन भने कहिल्यै गहिरोसम्म पुग्न सकेन।

नेपालमा अहिले सबैभन्दा बढी चोट पाएको वर्ग युवा पुस्ता हो। यो पुस्ताले देशप्रति आस्था राखेको छ, राष्ट्रप्रति गौरव राखेको छ । तर राज्यप्रति भरोसा राख्न सक्ने अवस्था भने हराइरहेको छ। शिक्षा पूरा गरेको, सीप सिकेको, विदेश नजान खोजेको युवाले पनि अन्ततः विदेश जाने टिकट लिन्छ । किनकि देशले भन्न सकेको छैन—“तिमीलाई भविष्य यहीँ छ, तिमीलाई अवसर यहीँ छ।” लाखौं युवाहरूको सामूहिक पलायन स्वैच्छिक होइन; यो नेपालले उनीहरूलाई दिने वातावरण कमजोर भएको प्रमाण हो।

राजनीति देशको दिशा निर्धारण गर्ने क्षेत्र हो, तर यतै सबैभन्दा बढी निराशा देखिन्छ। राजनीतिक दलहरू जनताको शक्तिमा बाँच्ने भए पनि जनताबाटै टाढिंदै गएका छन्। निर्वाचनताका सुन्दै आएका वाचा—शिक्षा सुधार, स्वास्थ्य सुधार, रोजगार सृजना, उद्योग प्रवर्द्धन, पारदर्शिता—यी सबै सरकार गठन भएपछि अदृश्य हुन्छन्। नेताहरू जनताको घरको ढोकामा मत माग्न आउँछन्, तर जनताको समस्याको ढोकामा फर्केर कहिल्यै आउँदैनन्। सरकारहरू बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्—तर शासनको स्वरूप भने सधैँ उही; असक्षमता, स्वार्थ, उदासीनता र गैरजवाफदेहिताको मिश्रण।

यही कमजोर शासन संरचनाविरुद्ध पहिलो ठुलो विद्रोह थियो—माओवादी जनयुद्ध। त्यतिबेलाको संघर्ष केवल राजनीतिक सत्ता हत्याउने प्रयास थिएन; त्यो सामाजिक परिवर्तनको युद्ध थियो। राज्यको मूल संरचनामा बसेको अन्याय, विभेद, सामन्तवाद, वर्गीय शोषण, जातीय भेदभाव र आर्थिक–राजनीतिक असमानताविरुद्ध जनस्तरबाट भएको ऐतिहासिक निर्णय थियो। त्यो आन्दोलनले इतिहासको दिशा बदलिदियो। राज्यको पुरानो संरचना च्यातियो, राजतन्त्र ढल्यो, नयाँ संविधान आयो, गणतन्त्र जन्मियो र देशले समावेशी संरचनातर्फ यात्रा सुरु गर्‍यो।

तर परिवर्तनको यात्रामा एउटा ठुलो विडम्बना पनि रह्यो—संस्था फेरिए पनि संस्थाहरू चलाउने मानसिकता पुरानै संरचना र सोचले चलायो। माओवादी आन्दोलनको आदर्श धेय भनेका—समानता, वर्गीय न्याय, जनताको अधिकार, स्थानीय सशक्तीकरण, राज्य–सम्पदामा नागरिकको पहुँच—यी सबै लक्ष्य अंशतः मात्र पूरा भए। आन्दोलनका धेरै मुद्दाहरू संविधानमा समावेश त भए, तर त्यसलाई कार्यान्वयन गर्ने संरचना भने फेरबदल हुन सकेन। आन्दोलनले आफ्नो गति गुमायो, नेतृत्व सत्ता–संस्थामा पुगेपछि आन्दोलनकारी चरित्र फिक्का हुँदै गयो र परिवर्तनको गहिरो स्वरूप संस्थागत हुन सकेन।

यही असन्तोषका छिरा, यतिका वर्षदेखि भित्रभित्र जलिरहेको निराशा, र असमानताको निरन्तरता आज फेरि नयाँ पुस्ताको हातमा पुनःजीवन पाएजस्तो देखिएको छ। अहिले नेपालमा उठिरहेको जेनजीको आन्दोलन कुनै साधारण असन्तोष होइन; यो देशले पछिल्ला ३० वर्षमा देखेको सबैभन्दा स्वाभाविक, स्वतःस्फूर्त र बौद्धिक आन्दोलन हो। यो आन्दोलन कुनै दलले चलाएको होइन, कुनै नेताले निर्देशन दिएको होइन, कुनै संगठनले नियन्त्रण गरेको पनि छैन। यो नागरिक चेतनाको उदय हो—विशेषगरी त्यही पुस्ताको, जसले सिस्टमलाई आँखाले देखेको छैन, तर प्रत्यक्ष अनुभव गरेको छ।

यस पुस्ता राजनीतिक भाषणमा विश्वास गर्दैन; उनीहरू परिणाममा विश्वास गर्छन्। उनीहरूलाई वाचा कहिल्यै प्रभावित पार्दैन; उनीहरूलाई चाहिने हो—काम, पारदर्शिता, जवाफदायित्व, न्याय र अवसर। यही माग जब सडकमा बग्छ, तब प्रणाली नै हल्लिन्छ। सत्ता व्यवस्था आत्तिन्छ। पुराना नेतालाई नयाँ पुस्ताको आँधी अनौठो लाग्छ। किनकि यो आँधी भावनाले होइन, तथ्यले चल्छ। आँधी आवेशले होइन, तर्कले चल्छ।

नेपालकै इतिहास हेर्दा, परिवर्तन कहिल्यै सजिलो थिएन। जनआन्दोलन २०४६ होस्, जनयुद्ध २०५२ होस्, मधेस आन्दोलन होस्—प्रत्येक परिवर्तन बलिदानको परिणाम थियो। तर आजको युवा विद्रोह बन्दुकको होइन, बौद्धिकताको हो। संघर्षको भाषा बदलिएको छ। एउटा समय थियो—नेताहरूले जनता शिक्षित छैनन् भन्थे, अब जनता भन्न थालेका छन्—‘राजनीतिक नेतृत्व अपरिपक्व छ।’ इन्टरनेट, सूचना, विश्वव्यापी पहुँच, अध्ययन, तथ्य–आधारित बहस—यी सबैले नयाँ पुस्तालाई राजनीतिकरूपमा अत्यन्त सचेत बनाइदिएको छ।

यस पुस्ता केवल सरकारविरुद्ध होइन; उनीहरूको विद्रोह सम्पूर्ण शोषण, भ्रष्टाचार, असमानता र दण्डहीन राज्य–मनोवृत्तिविरुद्ध छ। उनीहरूलाई राम्रो अस्पताल चाहिएको छ, राम्रो विद्यालय चाहिएको छ, राम्रो सडक चाहिएको छ, सुकार्य प्रशासन चाहिएको छ, न्याय चाहिएको छ, करको उचित उपयोग चाहिएको छ, र सबैभन्दा बढी—आफ्नै देशमा बस्ने भविष्य चाहिएको छ। यही कारण यो विद्रोह एकपटक उठेको विद्रोह होइन; यो दीर्घकालीन परिवर्तन प्रक्रियाको सुरुवात हो।

सरकार र दलहरूको पुरानो शैली अब टिक्ने अवस्था छैन। जनताको नजर बढिसकेको छ, सूचनाको पहुँच छ, र गलत काम छिप्याउने ठाउँ सङ्कुचित हुँदै गएको छ। राज्यको हरेक निर्णय सार्वजनिक बहसको विषय बन्छ। कुनै मन्त्रिपरिषद्को निर्णय पनि अब अँध्यारो कोठामा गुपचुप टिक्न सक्दैन। युवा पुस्ताले सरकारको हरेक घोषणा जाँच्छ, प्रत्येक वक्तव्यको तथ्य खोज्छ, र हरेक निर्णयको प्रभाव बुझेर प्रश्न सोध्छ। जब जनताको निगरानी यति बलियो हुन्छ, तब शासनको शैली बदलिनै पर्छ।

नेपाल आज एउटा यस्तो मोडमा छ, जहाँ दुवै सम्भावना खुला छन्—देश अझै कमजोर हुँदै जाने, वा देश फेरि उठ्ने। पहिला सम्भावना तब बढ्छ जब पुरानो राजनीतिक वर्गले नागरिकको आवाजलाई पन्छाइदिन्छ, जेनुइन प्रश्नलाई ‘विरोध’ भनेर दमन गर्छ, युवाको मागलाई ‘प्रचार’ भनेर बेवास्ता गर्छ, र परिवर्तनलाई जोखिम ठानी राज्यलाई पुरानै शैलीमा चलाउन खोज्छ। तर दोस्रो सम्भावना तब हुन्छ जब यही आवाजलाई सत्ता संरचनाले सुन्छ, आत्मसमीक्षा गर्छ, परिवर्तन स्वीकार गर्छ र शासनलाई जनमुखी बनाउने साहस जुटाउँछ।

नेपाल असफल राष्ट्र होइन; नेपाल संघर्षरत राष्ट्र हो। नेपाल असफल सरकारहरू बोकेको देश हो, तर विफल जनता होइन। यहाँको जनतामा अदम्य जीवट छ, युवामा उत्साह छ, परिवर्तनको सम्झना अझै ताजा छ। यही कारण देश हरेक कठोर मोडमा फेरि उठ्न सकेको छ।

आजको जेनजी विद्रोहमा माओवादी आन्दोलनको प्रत्यक्ष विरासत छ—समानताका लागि जागरण, अन्यायविरुद्ध प्रतिरोध, र राज्य नागरिकको हो भन्ने बोधको निरन्तरता। भिन्नता शैलीमा मात्र छ—पहिले बन्दुक उठाइयो, आज कलम, तथ्य, प्रश्न, मञ्च र डिजिटल शक्ति उठाइएको छ। र यो परिवर्तनको ऊर्जा अब रोकिनेछ भन्ने आड कसैले गर्न मिल्दैन।

नेपालका नेताहरूले बुझ्नुपर्ने कुरा एक हो—देश तब मात्र बलियो हुन्छ जब नागरिक बलियो हुन्छन्। नागरिक तब बलियो हुन्छन् जब उनीहरूलाई अधिकार, अवसर, न्याय र सम्मान प्राप्त हुन्छ। तर अहिले सबैभन्दा ठुलो विडम्बना यही छ—अधिकार कागजमा छ, अवसर विदेशमा छ, न्याय अदालतको जालोमा छ, र सम्मान नेताको भाषणमा मात्र छ।

तर इतिहास सधैँ एकै दिशामा बग्दैन। कहिलेकाहीँ जनता उठेपछि इतिहासको दिशा नै परिवर्तन हुन्छ। नेपाल अहिले यस्तै क्षणबाट गुज्रिरहेको छ। प्रश्न उठेको छ—देशले फेरि अधुरो परिवर्तनको चक्र दोहोर्‍याउने छ कि यसपटक परिवर्तन अन्ततः गहिरोसम्म पुग्नेछ? देश फेरि पुरानै हातमा फर्कनेछ कि जेनजीको चेतना नयाँ युग जन्माउनेछ?

उत्तर निकट भविष्यले दिन्छ, तर संकेत स्पष्ट छ—यो पुस्ता जागिसकेको छ। जागरण एकपटक सुरु भएपछि, परिवर्तन केवल समयको कुरा हुन्छ। नेपाल असफल हुने देश होइन; नेपाल फेरि उठ्ने शक्ति बोकेको देश हो—यदि जनताले आफ्नो आवाज निरन्तर उठाइरहे भने।

यो समय केवल राजनीतिक आलोचना गर्ने समय होइन; यो समय देशको संरचना नै नयाँ रूपमा कल्पना गर्ने समय हो। यदि हामी सबैले यसलाई थाम्न सके यही कल्पना, यही ऊर्जा, यही विद्रोह नै नेपालको नयाँ भविष्य लेख्ने शक्ति बन्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन देव
रोशन देव
लेखकबाट थप