जेनजी आन्दोलनबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको निरीक्षण, पुनर्निर्माणमा सघाउने गृहमन्त्रीकाे प्रतिबद्धता
धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मंगलबार स्थलगत निरीक्षण गरेका छन् ।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सोमबार धनगढी पुगेका गृहमन्त्री अर्यालले (मंगलबार) मुख्यमन्त्री कार्यालय पुगी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा उनले आन्दोलनका कारण भत्किएका र क्षति पुगेका पूर्वाधारहरूको पुनर्निर्माणका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनका क्रममा कार्यालयमा भएको भौतिक क्षति र त्यसपछि सेवा प्रवाह तथा सञ्चालनमा देखिएका चुनौतीबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
निरीक्षणकै क्रममा प्रदेशमा कार्यरत निजामती कर्मचारीहरूले मर्यादाक्रममा विभेद भएको भन्दै गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशमा कार्यरत उपसचिवहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबिचको मर्यादाक्रम न्यायपूर्ण हुनुपर्ने माग राखे ।
कर्मचारीहरूले बुझाएको पत्रमा नेपाल सरकारले २०७६ वैशाख १६ गते प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र सङ्घीयताको मर्म विपरीत रहेको उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतले २०७८ माघ १२ गते समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्न निर्देशनात्मक आदेश दिए पनि व्यवहारमा लागू नभएको उनीहरूको गुनासो छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सर्वोच्चको आदेशका बाबजुद सङ्घका अधिकारीलाई प्राथमिकता दिइनुले कर्मचारी संयन्त्रभित्र विभेदकारी मानसिकता उत्पन्न गराएको छ । तसर्थ, तीन वटै तहमा समान तह र श्रेणीका कर्मचारीहरूको मर्यादाक्रम एउटै कायम गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण