शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा तिमिल्सिना

शुक्रबार, १९ मङ्सिर २०८२, ०७ : २७
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन्।
  • पोखरामा भएको महाधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भयो।
  • महाधिवेशनमा ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पोखरा । नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षहरूमा मिठाराम अधिकारी, हिमालकुमार र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा पोखराका केशव पाठक निर्विरोध निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत भए ।

रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए । आगामी नेतृत्वका लागि पोखराका चित्रबहादुर थापाको समेत उम्मेदवारी परेको थियो । कास्की जिल्ला अध्यक्षसमेत रहेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मतको वातावरण बनेको हो ।

मानदेव हजाराले उपाध्यक्षबाट, प्रवीणकुमार थोकर तामाङले महासचिवबाट तथा सचिवमा उम्मेदवारी दिएका गीता थापा र पेमा गिर्मी मोक्तानले पनि फिर्ता लिएका हुन् । संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिए ।

पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल ३ वर्षअघि सकिए पनि महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव समेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गरे । प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले महाधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप