शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
हेटौँडा सडक विस्तार

‘भोलि बिहानैबाट डोजर चल्छ, आवश्यक परे सेना परिचालन गर्छौँ’

घर बनाएर बस्नेहरू पूर्णरूपमा सुकुम्वासी नै हुन् भन्ने कुरा पत्याउन गाह्रो छ : वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी
शुक्रबार, १९ मङ्सिर २०८२, १६ : ३३
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • हेटौँडा उपमहानगरपालिकामा सडक विस्तारका लागि दिइएको १५ दिने अल्टिमेटम सकिँदैछ, संरचना हटाउन निर्देशन दिइएको थियो।
  • सडक डिभिजनले सडक सीमाभित्रका संरचना भत्काउने तयारी गरेको छ, भने मुआब्जा र क्षतिपूर्तिको माग गर्दै व्यवसायीहरूले विरोध जनाएका छन्।
  • अदालतको आदेशअनुसार, सडक सीमाभित्रको जग्गामा मुआब्जा नपाइने र विस्तारको काम नरोकिने प्रशासनको भनाइ छ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ ।  सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५/७५ फिट विस्तार गर्न लागेको हो ।

सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मङ्सिर ५ गते उक्त अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैँ भत्काउने सूचनामा छ । तर, अल्टिमेटमको अन्तिम दिन (शुक्रबार) सम्म पनि सडक सीमा क्षेत्रका कुनै संरचना हटाइएका छैनन् । यसको सट्टा मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।  

सडक डिभिजन कार्यालयको तथ्याङ्क अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रभित्र मात्रै ५ सय ३१ वटा संरचना भत्काउनु पर्नेछ । यो रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म क्षेत्रभित्रको संरचना हो । यसमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ वटा र बायाँतर्फ २९७ वटा संरचना भत्काउनुपर्ने देखिएको डिभिजनले जनाएको छ ।  

हेटौँडा बजार क्षेत्रभित्रको सडक भत्काउने सूचनापछि यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर समेत भएको थियो । उक्त रिटमाथि सर्वोच्च अदालत अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । साथै, मंसिर २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

यही सम्बन्धमा बजार क्षेत्रको सडक विस्तारको तयारी, सुरक्षा प्रबन्ध र तयारीका विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग रातोपाटीका लागि अमृत चिमरियाले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

  • सडक डिभिजन कार्यालयले सडक सीमा खाली गर्न दिएको १५ दिने म्याद आज सकिँदैछ । सडक विस्तारका लागि प्रशासन र सुरक्षा निकायको तयारी कस्तो छ ?

सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सडक सीमा (सडकको केन्द्रबिन्दुबाट २५ गज अर्थात् २२.८६ मिटर दायाँ बायाँ) भित्रका संरचना खाली गर्न सूचना जारी गरेको थियो । सोही सूचना अनुसार आज १५ दिनको म्याद सकिँदैछ । सडक डिभिजनले आवश्यक समन्वय र सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेलगत्तै हामीले जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीति तयार पारिसकेका छौँ ।

हामीले प्रदेश सुरक्षा समितिसँग समन्वय गरेर आवश्यक जनशक्ति र सहयोगको अनुरोध पनि गरिसकेका छौँ । आज दिउँसो ३ बजेसम्म कसैबाट पनि काम रोक्ने किसिमको कुनै अन्तरिम आदेश आएको छैन । तसर्थ, भोलि (शनिबार) बिहानैदेखि हाम्रो अभियान सुरु हुन्छ र सडक संरचना खाली गर्ने काम अघि बढ्छ ।

  • सडक विस्तारका लागि आवश्यक उपकरण र सुरक्षाकर्मीको व्यवस्थापन कसरी मिलाइएको छ ?

सडक डिभिजन कार्यालयले आवश्यक डोजर, एक्स्काभेटर तथा लोडरहरूको व्यवस्था गरिसकेको छ । सुरक्षाको पाटोमा हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूलाई पर्याप्त सङ्ख्यामा परिचालन गर्ने तयारी गरेका छौँ । आवश्यकता परेको खण्डमा नेपाली सेनाले पनि लजिस्टिक सहयोग गर्नेछ ।

हामीले सडक निर्माण कार्यलाई अवरोध पुर्‍याउन सक्ने, अवाञ्छित गतिविधि गर्ने र गैरकानुनी क्रियाकलाप गर्न सक्ने केही व्यक्तिहरूलाई ‘नोटिस’मा राखेका छौँ । यदि भोलि कसैले शान्ति सुरक्षामा खलल पुर्‍याउन खोज्यो वा दुर्घटना गराउन खोज्यो भने उनीहरूलाई नियन्त्रणमा लिन हामी पूर्ण रूपमा तयार छौँ ।

  • विगतमा पनि पटक–पटक सडक विस्तारको कुरा उठ्ने तर काम बिचमै रोकिने गरेको थियो । अहिले चाहिँ के हुन्छ ?

यसपटक सडक विस्तारको काम रोकिँदैन । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागकै अग्रसरतामा यो सूचना निस्किएकाले केन्द्र सरकारको पूर्ण सहयोग छ । साथै, प्रदेश सरकारको पनि यसमा सहयोग रहेको छ । यो कुनै नयाँ काम नभई नियमित प्रक्रिया हो र अदालतको आदेश कार्यान्वयन गर्ने विषय हो ।

अहिले नै सडक सीमाभित्रका करिब ५० प्रतिशत घर तथा टहराहरू खाली भइसकेका छन् । धेरैले सटरहरू भत्काउन थालिसक्नुभएको छ । अब भोलिबाट हामीले बाँकी रहेका संरचना भत्काउन सुरु गर्छौँ । एकपटक काम सुरु भइसकेपछि यो पूरा नभएसम्म रोकिँदैन ।

  • सडक विस्तारको विषयमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरूसँग कत्तिको छलफल भएको छ ?

हामीले प्रमुख राजनीतिक दलहरूसँग समन्वय गरेका छौँ । यो सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने विषय भएकाले धेरै छलफल गरिरहनुपर्ने अवस्था पनि छैन ।

हामी स्टेकहोल्डर (सरोकारवाला) हौं र अदालतको निर्णय कार्यान्वयन गर्नु हाम्रो दायित्व हो । पूर्वजनप्रतिनिधि वा अन्य व्यक्तिहरूसँग छुट्टै छलफल नगरिए पनि कानुनी राज्यको पालना सबैले गर्नुपर्छ । यो नियमित विकास निर्माणको काम भएकाले यसलाई रोक्नु हुँदैन भन्नेमा धेरैको एकमत छ ।

  • केही व्यवसायी र घरधनीहरूले विरोध गरिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?

शान्तिपूर्ण रूपमा आफ्नो असहमति राख्न पाइन्छ, तर कानुन हातमा लिने वा सडक विस्तारमै अवरोध गर्ने छुट कसैलाई छैन । ५० प्रतिशत मानिसले आफैँ घर खाली गरिसकेको अवस्थामा केही व्यक्तिले मात्र विरोध गरेर यो काम रोकिँदैन । सडक संरचनामा परेका घरहरूलाई अब थप समय दिने वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गर्न दिने अवस्था छैन । भोलि सबेरैबाट विस्तारको काम सुरु हुन्छ ।

  • सडक विस्तारको क्रममा मुआब्जाको विषय निकै पेचिलो बनेको छ । प्रभावितहरूले लालपुर्जा भएको, मालपोतबाट पास भएको र कर तिरेको दाबी गरिरहेका छन्, यसमा अदालतको आदेश र प्रशासनको बुझाइ के हो ?

सम्मानित सर्वोच्च अदालतले सडक सीमा (२५ गज) भित्रको जग्गाको मुआब्जा नपाउने भनेर स्पष्ट फैसला गरिसकेको छ । कतिपयले मसँग लालपुर्जा छ, नगरपालिकालाई कर तिरेको छु वा मालपोतबाट रजिस्ट्रेसन पास भएको छ भन्ने तर्क गरे पनि अदालतको फैसलाले त्यसलाई खारेज गरिदिएको छ । जग्गा पास गरे पनि, व्यवसाय दर्ता गरे पनि वा कर तिरेकै भरमा सार्वजनिक जग्गालाई मेरो हो भन्न नमिल्ने कुरा फैसलामा उल्लेख छ ।

  • त्यसो भए सडक सीमाभित्रको जग्गा सुरुदेखि नै सार्वजनिक हो भन्ने बुझियो ? अनि विगतमा कसैले मुआब्जा पाएको रहेछ भने के हुन्छ ?

हो । २५ गजभित्रको क्षेत्रका लागि मुआब्जा नदिने भनेपछि त्यो स्वतः सार्वजनिक जग्गा हो भन्ने बुझिन्छ । अदालतले यसलाई गैरकानुनी ठहर गरिसकेको अवस्थामा विगतमा कसैले मुआब्जा पाएको रहेछ भने पनि नेपाल सरकारले छानबिन गरेर असुलउपर गर्नुपर्ने अवस्था देखिन्छ ।

  • राजमार्ग बन्नुभन्दा अघिदेखि बसोबास गरिरहेका वा वास्तविक पीडित र सुकुम्बासीहरू सडकमा आउने अवस्था आयो भने उनीहरूका लागि केही विकल्प सोचिएको छ ?

राजमार्गको छेउमा (महँगो जग्गामा) घर बनाएर बस्नेहरू पूर्णरूपमा सुकुम्वासी नै हुन् भन्ने कुरा पत्याउन गाह्रो छ । धेरैजसोले यो राजमार्ग क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै पछिल्लो समय जग्गा किनेको देखिन्छ ।

यद्यपि, यदि कोही वास्तविक सुकुम्वासी हुनुहुन्छ र उहाँहरूको बिचल्ली हुने अवस्था छ भने वडाहरूले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । भूमि आयोग र नगरपालिकासँग समन्वय गरेर उहाँहरूलाई अन्यत्र व्यवस्थापन गर्ने विषयमा नगर प्रमुखज्यूले पनि बोल्नुभएको छ र हामी पनि त्यसमा समन्वय गर्ने पक्षमा छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप