प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : तोकिएकै समयमा निर्वाचन हुन्छ, आशंका नगरौँ
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।
- दलका प्रतिनिधिहरूले निर्वाचनमा ढुक्क भएर सहभागी हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
- सुरक्षा निकाय र निर्वाचन आयोगले निर्वाचनको सुरक्षा र तयारीबारे जानकारी गराए।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार तोकिएको समयमा नै निर्वाचन गर्ने आफ्नो कर्तव्यपूर्ण जिम्मेवारी र सक्रियताका साथ लागिपरेको बताएकी छिन्।
बालुवाटारमा शुक्रबार निर्वाचनसम्बन्धी बहुपक्षीय छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अन्तरिम कालको व्यवस्थापनका लागि वर्तमान सरकार गठन भएकाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन्। उनले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्दै सबैलाई सकारात्मक सहयोगका लागि आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर छलफल गर्दै आएको र यसले आशंकाहरू निवारण गरेको जानकारी दिइन्। अब चुनाव हुन्छ कि हुँदैन भन्दा पनि कसरी चुनाव सफल पार्ने भन्नेमा सबै लाग्नुपर्ने उनको भनाइ थियो। सबै पक्ष एकजुट भए निर्वाचनमा कसैले खलल पार्न नसक्ने उनले जोड दिइन्।
उनले जेनजी पनि पहिलाभन्दा धेरै फरक भएको र अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन तथा शिक्षा दिन सरकार तयार रहेको बताइन्।
छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको सुरक्षादेखि अहिलेसम्म भएका सबै तयारीका बारेमा छलफल भएको बताए। उनले दलहरू पनि निर्वाचनमा जान तयार रहेको अवस्थामा थप आशंका नगर्न आग्रह गरे।
- दलहरूको माग: भयरहित वातावरण
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले भने ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
कांग्रेस नेतृ पुष्पा भुसालले निर्वाचनमा कुनै पनि प्रकारको धम्की (threat) लाई स्वीकार गर्न नसकिने भन्दै सरकारले भयरहित निर्वाचन गराउन ध्यान केन्द्रित गर्नुपर्ने बताइन्। उनले वर्तमान सरकारलाई निर्वाचन नगराउने छुट नभएको उल्लेख गरिन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले छलफलमा निर्वाचन सुरक्षा र निर्वाचन आयोगका साथै सरकारको तयारीका बारेमा जानकारी लिने काम भएको बताए। उनले वर्तमान सरकार चुनावी भएकाले चुनावमा नै केन्द्रित हुन सुझाव दिएको उल्लेख गरे।
रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनलाई सफल पार्न सहयोग गर्ने जानकारी गराए।
- सुरक्षा निकाय र आयोगको तयारी
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा जानकारी गराएका थिए। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोग पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण