सरकारलाई दलहरूको आग्रह : चुनावमै केन्द्रित होऊ, अर्जुनदृष्टि लगाऊ
सारांश
- राजनीतिक दलहरूले वर्तमान सरकारलाई आगामी निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन आग्रह गरे।
- दलहरूले शान्ति सुरक्षाको वातावरण बलियो बनाउन सुझाव दिए, र निर्वाचन आयोगले तयारीबारे जानकारी गरायो।
- प्रधानमन्त्रीले निर्वाचन गराउन तत्पर रहेको र नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न चाहेको बताए।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरूले वर्तमान सरकारलाई आगामी निर्वाचनको वातावरण निर्माणमा मात्र केन्द्रित हुन आग्रह गरेका छन् । मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा फर्काउन निर्वाचन अपरिहार्य रहेको भन्दै दलहरूले सरकार चुनावी काममा 'अर्जुनदृष्टि' लगाउनुपर्नेमा जोड दिएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै राजनीतिक दलहरूले सरकारलाई स्पष्ट रूपमा यो चुनावी सरकार भएकाले यताउता ध्यान नदिई चुनावमा केन्द्रित हुन सुझाव दिएको बताए। उनले शान्ति सुरक्षाको वातावरण अझै बलियो बनाउने गरी अघि बढ्न पनि सुझाव दिएको उल्लेख गरे।
ज्वालाका अनुसार, बैठकमा सुरक्षा निकायहरूले सुरक्षाको स्थिति र निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गरेका थिए। दलहरूले शान्ति सुरक्षाको वातावरण पूर्ण रूपमा बनिनसकेको कारण विशेष रणनीतिका साथ यसमा काम गर्नुपर्ने सुझाव दिएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीले हामीलाई सहयोग गर्नुस्। हामी निर्वाचन गराउन तत्पर छौँ। निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको कुरा सुनाउनुभयो,’ ज्वालाले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले संविधानको संरक्षण र समाजमा विधिको शासन स्थापित गर्न निर्वाचन अपरिहार्य आवश्यकता भएको कुरा राजनीतिक दलहरूले बैठकमा राखेको बताइन्। उनले पछिल्लो पटक बनेको सरकार संविधान बाहिर गएर बनेको सबैले स्वीकारेको अवस्थामा संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचन गराउनुपर्नेमा जोड दिइन्।
गौतमले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता सरकारको तर्फबाट आएको पनि जानकारी दिइन्। उनले बिस्तारै निर्वाचनको वातावरण बन्दै गएको अवस्था रहेको बताइन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समयमै निर्वाचन सम्पन्न गर्ने कुरामा राजनीतिक दल र सरकार प्रतिबद्ध भएर लाग्ने कुरा बैठकमा भएको बताए। उनले सरकारले निर्वाचनको वातावरण निर्माण गरे निर्वाचनमा भाग लिन सबै दलहरू तयार रहेको धारणा आएको जानकारी दिए।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि र सरकारको तर्फबाट प्रधानमन्त्रीसँगै केही मन्त्रीहरू समेत सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण