बम बानियाँका तीन कविता
बम बानियाँ मुख्य रूपले समसामयिक विषयमा तिखो कलम चलाउँछन् । उनका कलमबाट उछिट्टिने शब्दहरूले उत्पीडित वर्गको पक्षमा आन्दोलन गर्छन् ।
उनले लेख्ने कविताहरूमा व्यङ्ग्य र हास्य रस मिसिएका हुन्छन् । बानियाँका यसअघि ‘जागै छन् शब्दहरू’, ‘मान्छे जोत्ने सहर’ लगायतका कृतिहरू प्रकाशित छन् ।
१) सपनाको खेती
दिनभर बाँड्छ सपना
रातभर बनाउँछ डिजाइन
आफू सुतेर गद्दामा
सुताउँछ जनतालाई
खुल्ला अकासमुनि
देखाउँदै सुदूर सपना ।
हिजो चलेको थियो
मार्क्सवादी ब्राण्ड
समाजवादी सपना
जहाँ जनताहरूले देखे
मुक्तिका सपना
रोजगारीका सपना
समृद्धिका सपना ।
अहिले बजारमा
चल्तीमा छ
जेनजी ब्राण्ड
सुरु भइसकेको छ
जेनजीकै काँधमा टेकेर
जेनजीकै सपनामाथि
नयाँ व्यापार ।
निर्वाचन आयोग
खोल्छ विज्ञापन
सपनाका व्यापारीहरू
टिपाइसकेका छन् रोस्टरमा नाम
सुरु भइसकेको छ नयाँ व्यापार ।
प्रीय जेड जेनेरेसन
आफैं ब्युँझनुस्
सपना बाँड्नेहरूबाट सावधान ।
२) झोला
हिजो
पढ्न रातो किताब
चाहिन्थ्यो झोला
आज त्यही झोला
चाकरी बोकिरहेछ
हिजो
विचार दृष्टिकोण बोक्थ्यो
लोकप्रिय थियो झोला
आज
त्यही झोला
बनेको छ
टिकट किन्ने साधन
फ्याँकेर राता किताब
बोक्न थालेको छ
भोट किन्ने नोट ।
त्यो गरिमामय झोला
अहिले बोक्न थालेको छ बिचौलिया
र
पाएको छ उपमा– झोले
यिनैले बदलिदिए झोलाको रङ
र
आम युवाहरूमाथि
पोतिदिए अपमानको धब्बा ।
उपलब्धिलाई फेरि थुत्न
चिहानबाट चियाउँदै छ निरङ्कुशता ।
ओ युवा !
तिमी बन्न सक्दैनौ झोले
तिमी बोक्न सक्दैनौँ कसैको झोला
बरु एकपटक
नेतृत्वमाथि प्रश्न गर
तिम्रो बिचार अनुसारको
देश निर्माण गर्न
यो तिम्रो विकल्प
हुन सक्छ ।
देशको समृद्धि
सोच बदल
फ्याकिदेउ
चाकरी बोक्ने झोला
फ्याकिदेउ
तिमीलाई ढोगाएर
उ देउता बन्ने झोला
फ्याकेपछि झोला
बन्नु पर्दैन झोले
फ्याकेपछि झोला
बन्नुहुन्छ आफै देश ।
३) काण्डहरूको युग
लुकाउन छुपाउन
एउटा काण्ड
रचिन्छ अर्को काण्ड
जब भाइरल हुन्छ एउटा
ढाकछोपका लागि
बन्छ ‘नेक्स्ट ग्रान्डडिजाइन’
हरेक नागरिकलाई
कण्ठ यी काण्डहरू
थुप्रोमुनि छन्
चाङ लागेर
र
बेला–बेला निकालिन्छन्
आवश्यकता अनुसार
परिस्थिति अनुसार
आज काण्डहरूको
हाटबजार लागेको छ ।
हरेक सत्ता
सत्य लुकाउँछ
र
सत्ता बचाउँछ ।
अझै छर्लङ्ग त
खुलेआम
मानव बेच्न
मानवकै व्यापार गर्छ
मानवमै शासन गर्छ
न्याय किन्छ
न्याय बेच्छ
छानी–छानी
काण्ड खोल्छ
छानी छानी काण्ड लुकाउँछ ।
यो काण्डहरूको युग हो
काण्डहरूको निर्मूल गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण