शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : ‘हावादारी’ आश्वासन दिएर जनता नझुक्क्याऊ
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यवसायी दुर्गा प्रसाईंको आर्थिक र सामाजिक परिवर्तनका योजनाको आलोचना गरेका छन्।
- मन्त्री पुनले शिक्षकलाई भत्ता दिन नसकेको र विद्यालयलाई सहयोग गर्न नसकेको अवस्था सुनाउँदै प्रसाईंको योजनालाई अव्यावहारिक भनेका छन्।
- प्रसाईंले कालो सूची हटाउने, तलब बढाउने र ऋण मिनाहा गर्ने योजना कसरी बनाउन सक्छन् भन्दै पुनले प्रश्न गरेका छन्।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका ठूला आर्थिक र सामाजिक परिवर्तनका घोषणाहरूलाई तथ्यहीन र अव्यावहारिक भन्दै कडा आलोचना गरेका छन्। पुनले सामाजिक सञ्जालमार्फत प्रसाईंलाई सम्बोधन गर्दै देशको वास्तविक आर्थिक दुर्दशाको चित्रण गरेका छन्।
शिक्षामन्त्री पुनले अहिले शिक्षा क्षेत्रमा भोगेको आर्थिक अभावलाई प्रसाईंका दाबीहरूसँग तुलना गरेका छन्। पुनले लेखेका छन् कि पैसा नभएर धेरै शिक्षकलाई स्थानीय भत्ता वा महँगी भत्ता दिन सकिएको छैन। त्यस्तै, छाना नभएका र कक्षाकोठाको अभाव भएका विद्यालयहरू सहयोग माग्न आउँदा पनि आफूले खाली हात फर्काउन परेको तितो यथार्थ उनले सुनाएका छन्। शिक्षकको माग लिएर आउने विद्यालयलाई पठाउनका लागि जगेडा बजेट नै नभएको अवस्था उनले स्पष्ट पारेका छन्।
यस्तो अवस्थामा प्रसाईंले छ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना र प्रहरीको तलब मासिक रु. एक लाख बनाउने, र रु. २० लाखसम्मको ऋण मिनाहा गरिदिने जस्ता काम कसरी गर्न सक्छन् भन्दै मन्त्री पुनले सोधेका छन्। उनले प्रसाईंलाई ‘धनको देवता कुवेर’ नभएको र ऋण मिनाहा गर्दा बैंकमा जम्मा भएको जनताकै पैसा डुब्ने खतरा रहेको भन्दै सचेत गराएका छन्।
मन्त्री पुनले प्रसाईंलाई ‘छापाखानामा किताब छापे जस्तै’ पैसा छाप्न नपाइने साधारण आर्थिक सिद्धान्त सबैलाई थाहा हुनुपर्ने कुरामा जोड दिएका छन्। उनले प्रसाईंका यस्ता ‘हावा कुरा’ले जनतालाई झुक्याउनु नहुने बताएका छन्।
यसअघि पनि रेल, पानीजहाज ल्याउने र नेपाललाई सिंगापुर बनाउने जस्ता अव्यावहारिक आश्वासन धेरैले दिएको तर ती व्यक्तिहरू हाँसोको पात्र मात्र बनेको उदाहरण दिँदै मन्त्री पुनले तथ्य र बुझेर मात्र कुरा गर्न प्रसाईंलाई सुझाव दिएका छन्।
यस्तो छ पुनको भनाइ :
कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले - शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन सकेको छैन। छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरूलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरूलाई शिक्षक पठाउने जगेडा बजेट नै छैन।
६ लाख जनतालाई कालो सुची वाट हटाउने, सेना प्रहरीको तलब महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरी दिने रहेछन् दुर्गा भाइले? त्यसो गर्दा जनताले बैंकमा जम्मा गरेको जनताकै पैसा डुबी हाल्छ नि । धनको देवता कुवेर नै त होइनन् नि यिनी भाइ अनि छापाखानामा किताब छापे जस्तै पैसा छाप्न पाइँदैन भन्ने कुरा सबैलाई थाहा छ होला नि। यस्ता हावा कुरा गरेर जनता झुक्क्याउनु हुन्न दुर्गा भाइ ।
यो भन्दा पहिले रेल ल्याउने, पानी जहाज ल्याउने , १२ वर्षमा नेपाललाई दक्षिण एसियाको एकदमै धनी देश बनाउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका थिए । यस्तो हावादारी कुरा गऱ्यो भने हाँसोको पात्र भइन्छ। कुरा बुझेर तथ्य कुरा गरुम् । तथास्तु !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण