बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली

शनिबार, २० मङ्सिर २०८२, १७ : ०७
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिएको आरोप लगाए।
  • ओलीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई हटाएर आफू अनुकूलको व्यक्ति ल्याएको आरोप लगाए।
  • ओलीले वर्तमान सरकारले राजदूत फिर्ता बोलाएको र अवैधानिक काम गरेको आरोप लगाए।

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन्। 

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागको नेतृत्व नै परिवर्तन गरेको जिकिर समेत गरे।

उनले सम्पत्ति शुद्धीकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकूलको व्यक्ति ल्याएको बताए।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै भने, "प्रधानमन्त्रीजी भन्नुहुन्छ– प्रमाण तयार गर्नुन, प्रमाण तयार। मैले थुप्रै ठाउँमा भनेको छु– प्रधानमन्त्रीजीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई बोलाएर तीन पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस्, गिरफ्तार गर्नु पऱ्यो भन्ने माग गर्नुस् भनेर अनेक दबाब दिनुभयो।"

उनले त्यहाँका निर्देशकले "झुटो कामहरू म गर्न सक्दिनँ, गैरकानूनी काम पनि गर्न सक्दिनँ" भनेपछि निर्देशकलाई तुरुन्त हटाइएको र अर्को निर्देशक ल्याइएको बताए। "प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुःखद स्थिति के हुन्छ?" ओलीले प्रश्न गरे।

अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाए। उनले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने पनि बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप