मन्त्रीले नै स्वीकारे- साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ
सारांश
- उद्योगमन्त्री अनिल कुमार सिन्हाले साना व्यवसायीहरूलाई राज्यको व्यवहारप्रति असन्तुष्टि जनाए।
- खुद्रा व्यापार संघका अध्यक्षले उपभोग्य वस्तुको म्याद नाघेको विषयमा साना व्यापारीलाई मात्रै कारबाही गरेको गुनासो गरे।
- पूर्वसचिव बास्कोटाले साना व्यवसायीलाई राहत दिन भ्याटको सीमा बढाउन र मन्त्री सिन्हाले व्यवसायीलाई दुःख दिनेहरूलाई भोट नदिन आग्रह गरे।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले साना व्यवसायीहरूलाई राज्यको संयन्त्र र कर प्रशासनले ’सुन्तला निचोरेजस्तो’ व्यवहार गरेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
खुद्रा व्यापार संघको ४६औँ वार्षिकोत्सव समारोहमा मन्त्री सिन्हाले आफ्नै मन्त्रालय मातहतको संयन्त्रको कार्यशैलीमाथि कडा प्रश्न उठाएका हुन् ।
समारोहमा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले उपभोक्ता हित संरक्षण ऐन साना व्यापारीलाई तर्साउने हतियार बनेको आरोप लगाए । उनले उत्पादक र आयातकर्ताले पठाएको म्याद नाघेका सामानको दोष खुद्रा पसलेमाथि थोपर्ने परिपाटीको कडा आलोचना गरे । ‘उत्पादक र आयातकर्ताले म्याद नाघेका सामान पठाउँछन्, तर अन्जानमा ती सामान बेच्ने साना व्यापारीलाई २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिन्छ,’ बज्राचार्यले भने । उनले कुलेश्वरको एक गोदाममा ७ करोडको म्याद नाघेको सामानमा नयाँ मिति टाँस्ने ठुला व्यवसायी सामान्य जरिवानामा छुट्ने तर साना व्यापारी सधैं फस्ने गरेको यथार्थ सुनाए ।
अध्यक्ष बज्राचार्यले कोरोना, भूकम्प र नाकाबन्दी जस्ता संकटमा ठुला मार्ट बन्द हुँदा साना व्यापारीले ज्यान जोखिममा राखेर सेवा दिए पनि सरकारले सधैं हेयको दृष्टिकोणले हेरेको गुनासो गरे । उनले भारतीय नागरिकहरूले दर्ताविना पसल खोलेर बजार कब्जा गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
सोही कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले साना व्यवसायीलाई राहत दिन भ्याटको अनिवार्य सीमा बढाउन सरकारलाई सुझाव दिए । ‘खुला सिमानाका कारण दैनिक ८० करोड बराबरको सामान भन्सार नतिरी भित्रिन्छ, जसले कर तिर्ने व्यवसायी मर्कामा परेका छन्,’ बास्कोटाले भने, ‘त्यसैले हालको ३० लाखको सीमा व्यावहारिक छैन, साना व्यवसायीलाई बचाउन भ्याटको थ्रेसहोल्ड ५० लाख पुर्याउनुपर्छ ।’
बास्कोटाले म्याद नाघेका सामान भेटिँदा साना पसलेलाई मात्र दोषी देखाइनु गलत भएको भन्दै यसको मुख्य जिम्मेवारी उत्पादक वा आयातकर्ताले लिनुपर्नेमा जोड दिए । साथै उनले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गर्दै व्यवसायीहरूलाई नकारात्मक हल्लाको पछि नलागी व्यवसाय आधुनिकीकरण गर्न आग्रह गरे ।
व्यवसायी र विज्ञहरूको गुनासो सुनेपछि सम्बोधन गर्दै मन्त्री सिन्हाले भने, ‘तपाईंहरूले व्यवसायीलाई सुन्तला निचोरेजस्तो निचोर्नुभएको छ। सुन्तलाको रस सिद्धिसक्यो, बोक्राको रस पनि सिद्धिन थालिसक्यो, अब त तितोपन आउन थाल्यो । यस्तो अवस्थामा पनि अझै व्यवसायीलाई नै निचोर्ने? ‘उनले वाणिज्य विभागले अनुगमनका नाममा साना व्यवसायीलाई मात्र निशाना बनाउने र तर्साउने गरेको गुनासो आफूकहाँ आएको स्वीकार गरे । ‘सरकार कोठामा बसेर कराउँछ, तर विपद्मा जनताको भोक मेटाउने व्यवस्थापन व्यवसायीले गर्छन्,’ मन्त्री सिन्हाले भने ।
न्यायाधीशसमेत भइसकेका मन्त्री सिन्हाले आगामी चुनावमा व्यवसायीलाई दुःख दिने कानुन बनाउने र प्रशासन चलाउनेहरूलाई भोट नदिन आग्रहसमेत गरे । उनले साना व्यवसायी अर्थतन्त्रको थोपा भएको भन्दै डण्डा चलाएर नभई सचेतना जगाएर बजार सुधार गर्नुपर्नेमा जोड दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण