एमाले, कांग्रेस र नेकपालाई ‘रुपान्तरण’को सकस
सारांश
- नेपाली कांग्रेस र एमाले महाधिवेशनको संघारमा छन्, जसलाई जनताले चासोका साथ हेरिरहेका छन्।
- जेनजी आन्दोलनले सुशासन र सामाजिक सञ्जाल प्रतिबन्धको माग गर्दा, यी दुई दलले सत्ता गुमाए।
- विश्लेषकहरूले दलहरूले जेनजी आन्दोलनलाई सही रूपमा विश्लेषण नगरेको र रूपान्तरण हुन नसकेको बताए।
काठमाडौँ । देशका प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशनको सँघारमा छन् । एमालेको महाधिवेशन यही मंसिर महिनाको अन्तिम साता र नेपाली कांग्रेसको पुस अन्तिम साता महाधिवेशन हुँदैछ ।
कांग्रेस र एमालेका महाधिवेशनलाई दुई पार्टीका नेता कार्यकर्ताले मात्र होइन, नेपाली जनताले समेत चासोका साथ हेरेका छन् । उनीहरूले महाधिवेशनमार्फत लिने नीति र नेतृत्व नेपाली जनता र देशको भविष्यसमेत जोडिने भएकाले दुवै दलको महाधिवेशन सर्वत्र चासोको विषय बनेको हो ।
दशकौँदेखि सरकारमा रहेका, नेतृत्व गरेका यी दुई दल गत भदौ २३ र २४ गते भएको दुई दिने जेनजी आन्दोलताका पनि सँगै सरकारमै थिए । तर, आन्दोलनले उनीहरूलाई सत्ताच्युतमात्र गरेन, मुलुकमा एक हिसाबले सत्तापलट नै हुनपुग्यो ।
सुशासन र सामाजिक सञ्जाल प्रतिबन्धको सामान्य माग अघि सारेर जेनजी (नवयुवा पुस्ता)ले गरेको आन्दोलनबाट यसरी सत्तापलट होला र नेताहरूलाई ज्यान जोगाउनै कठिन पर्ला भनेर ती दलका नेताहरूले सायदै सोचेका थिए । यद्यपि उनीहरूको सोचविपरीत आन्दोलन अघि बढ्यो र एमाले–कांग्रेसको सरकार ढल्न पुग्यो ।
त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेर फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । यो मितिमा सबैजसो दलले चुनाव हुनुपर्छ भने पनि एमालेले त्यसलाई खुलस्त ढंगले स्विकार्न सकेको छैन । एमालेले शान्ति सुरक्षा र नेताको स्थानहदलाई देखाएर ‘नहुने निर्वाचन’को कुरै गर्न जरुरी नठानेको जस्तो व्यवहार गरिरहेको छ ।
- रुपान्तरण स्वीकार्न सकस
जनेजी आन्दोलनको माग सुशासन र पारदर्शिता हो । यो माग नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) सँग बढी र प्रत्यक्ष जोडिन पुग्छ । किनभने यिनै तीन दलले लामो समयदेखि आलोपालो सरकार चलाउँदै आएका छन् ।
त्यतिमात्रै होइन, ती दलको नेतृत्व तहमा पनि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहँदै आएका छन्, जसले युवा पुस्ताको चाहना र भावना अनुसार सुशासन र रोजगारी दिन सकेनन् । जसका कारण मुलुकमा भ्रष्टाचार बढ्यो, कुशासन मौलायो, बेरोजगारी बढ्यो र नातावाद–कृपावाद फस्टायो भन्ने युवा पुस्ताको बुझाइ हो । परिणामस्वरुप उनीहरू सामाजिक सञ्जालमै एकीकृत भएर आन्दोलनमा होमिए अनि तीन दलको वर्चश्व तोडे । भलै भदौ २४ को आगजनी, लुटपाट र विध्वंशलाई एकातिर राखेर हेर्ने हो भने युवाहरूले अघि सारेका मागमा कसैको विमति रहेको देखिँदैन । युवा पुस्ताको सुशासनको अपेक्षा र आकाङ्क्षा कांग्रेस, एमाले र माओवादीमा उनै देउवा, ओली र प्रचण्डभन्दा बाहिरको नेतृत्वबाट मात्रै सम्भव छ भन्ने प्रस्टै सुनिन्छ, बुझिन्छ र देखिन्छ ।
त्यही बुझेर हुनसक्छ, प्रचण्डले थोरै भए पनि पार्टी र आफूलाई धु्रवीकरण गर्दै रुपान्तरण गर्ने प्रयासस्वरुप विभिन्न दल मिलाएर नयाँ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका छन् । पार्टी धु्रवीकरण गर्दा पनि एकीकृत पार्टीको नेतृत्व तहमा प्रचण्ड आफैँ छन् । यद्यपि प्रचण्डले जेनजी आन्दोलनको मर्म र भावना आफूले जति अरु पार्टीले नबुझेको बताउँदै आएका छन् । तर, प्रचण्डले आफ्नो पार्टीका युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हिम्मत भने अझै गरिसकेका छैनन् ।
जेनजी आन्दोलनपछि माओवादी केन्द्रको अध्यक्षबाट नेपाली कम्युनिस्ट पार्टीको संयोजक रहेका नेता प्रचण्डले आफूलाई रुपान्तरण गर्ने प्रयास गरेको देखाए पनि यथार्थमा उनी आफैँ अझै पार्टी र सरकारको नेतृत्व गर्न लालयित देखिन्छन् ।
- रुमल्लिएको कांग्रेस
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौजुदा विधान अनुसार अब पार्टी सभापति हुन पाउने छैनन् । देउवाले जेनजी आन्दोलनपछि कांग्रेसको कार्यवाहक सभापतिमा पुर्णबहादुर खड्कालाई अघि सारे । यसबिचमा केही दिन उपचारका लागि विदेश पुगेर देउवा फर्किसकेका छन् । उनी स्वदेश फर्केपछि फेरि कांग्रेसको राजनीति उनै देउवाको वरिपरि घुमिरहेकोमात्र छैन, कांग्रेस आन्तरिक राजनीतिमा रुमल्लिन पुगेको छ । उक्त पार्टीको पुसमा हुने महाधिवेशनमा पनि देउवाको उत्तराधिकारी हुने होडवाजी देउवाकै उमेर हाराहारीका नेताहरूमा चलिरहेको छ । युवा पुस्ताका भनिने गगन थापा र विश्वप्रकाश शर्माहरूले नेतृत्वको आकाङ्क्षा राखे पनि उनीहरूलाई कमजोर बनाउने प्रयत्न पार्टीभित्रै चलिरहेको छ । सम्भवतः आगामी पुसमा महाधिवेशन भैहाले कांग्रेसको नेतृत्व शेखर, शशांक, पुर्णबहादुर खड्कालगायत कुनै एकको हातमा जाने देखिन्छ । जबकि कांग्रेसमा ती नेताहरूले नेतृत्व लिए पनि अनुहारबाहेक कार्यशैलीमा भिन्नता आउँछ भनेर विश्वास गर्न सक्ने अवस्था छैन ।

- ओलीको ब्राण्डिङमै एमाले ध्यान
कांग्रेस र नेकपाजति पनि एमालेले जेनजी आन्दोलनलाई स्विकार्न र आफूलाई रुपान्तरण गर्न सकेको छैन । यहाँसम्म कि एमालेले अहिलेसम्म जेनजी आन्दोलनलाई षड्यन्त्र र अपराधकर्मको संज्ञा दिँदै आएको छ । यही बेला एमालेको ११औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको एमालेको महाधिवेशनमा ओली तेस्रो पटक अध्यक्ष बन्ने प्रयासमा छन् भने उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।
एमाले नेता–कार्यकर्ताहरूलाई महाधिवशेनको चटारोले छोइसकेको छ । एमाले महाधिवेशनकै प्रसङ्गमा ओली समूहले एउटा अचम्मको नारा अघि सारेर ओलीलाई ब्राण्डिङ गरिरहेको छ ।
‘मेरो होइन, माटोको बोली, फेरि एकपटक केपी ओली ।’ ओलीको तस्बिरमा यस्तो लेखेर एमाले नेता कार्यकर्ताहरूले प्रचार गरिरहँदा के ओलीलाई फेरि पनि माटोले नै मागेको हो भन्ने प्रश्न उठ्न पुगेको छ ।

- विश्लेषक भन्छन्– रुपान्तरण हुन चाहेनन्
राजनीतिक विश्लेषकहरू पनि जेनजी आन्दोलनलाई प्रमुख दलहरूले सही विश्लेषण गरेर आफूलाई रुपान्तरण गर्न नसकेको बताउँछन् । राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल आन्दोलनपछि प्रमुख तीन दल आफूलाई आन्दोलनको माग अनुसार रुपान्तरण गर्न नचाहेको र नसकेको बताउँछन् । यद्यपि उनी कांग्रेस, एमाले र माओवादीको फरक–फरक स्थिति भएको प्रस्ट पार्छन् ।
‘एमाले त रुपान्तरण हुनै नचाहेको देखिन्छ । किनभने फेरि पनि ओलीकै नेतृत्व चयन गर्ने दिशामा एमाले छ’, पोखरेलले भने, ‘एमालेमा कार्यकर्ता र एउटा पक्षमा रुपान्तरण गर्ने पक्षमा देखिन्छ, तर नेतृत्व तहमा जसको पकड छ, उसले रुपान्तरण चाहेको छैन ।’
त्यस्तै नेपाली कांग्रेस वैचारिक रुपान्तरण नभए पनि नेतृत्व हस्तान्तरणको अवस्थामा रहेको पोखरेलको भनाइ छ । ‘किनभने शेरबहादुर देउवालाई विधानले नै उठ्न नदिने भएपछि उनले बल गर्ने देखिएन । अर्को नेतृत्व आउँछ’, उनले भने, ‘यद्यपि नेतृत्व हस्तान्तरण कुन तहको नेतामा हुन्छ भन्ने उम्मेदवार तय भएपछि नै थाहा हुने कुरा भयो ।’

नेकपाको हकमा उनीहरू संगठित भएर अलि ठुलो बन्ने शक्ति बढाउने प्रयासमा देखिएको पोखरेलको भनाइ छ । ‘शक्ति बढाउने प्रयासमा उनीहरूको ध्यान छ । तर पछि महाधिवेशनमा कस्तो उम्मेदवार उठाउँछन्, त्यो हेर्न बाँकी नै छ,’ नेपाली कम्युनिस्ट पार्टीबारे पोखरेलले भने, ‘जेनजी माग सम्बोधनमा सम्झौता गर्ने भनिएकोमा त्यो पनि ढिलाढाला भएको छ । सम्झौता भएमा पछि आउने सरकारलाई यो समस्या सम्बोधन गर्न मार्गदर्शक बन्न सक्थ्यो ।’
अर्का विश्लेषक सोमत घिमिरे पनि प्राध्यापक पोखरेलको भनाइसँग सहमत देखिन्छन् । जेनजी आन्दोलनपछि तीन वटै प्रमुख दललाई एउटै डालोमा हालेर विश्लेषण गर्न अनुपयुक्त हुने घिमिरेको भनाइ छ । यद्यपि उनी यी तीन दल रुपान्तरित हुन नचाहेको सत्य भएको दाबी गर्छन् ।
‘एमालेले केही पनि गर्दै गरेन, अर्थात् रुपान्तरण हुनै चाहेन । एमालेमा रुपान्तरण र पुस्तान्तरण दुवै नहुने देखिन्छ’, विश्लेषक घिमिरेले भने, ‘कांग्रेसले पुस्तान्तरण चाह्यो तर वैचारिक रिफर्म गर्न चाहेको देखिएन ।’
घिमिरेका अनुसार तत्कालीन माओवादी (नेपाली कम्युनिस्ट पार्टी) ले पोलोराइजेसन (धु्रवीकरण) भने पनि जेनजीको अपेक्षा र भावनाअनुसार हिँड्न नसकेको सत्य हो । ‘तर धु्रवीकरणलेमात्रै जेनजीले खोजेको सुशासन र पुनर्संरचना गर्न चाहेन’, उनले भने ।
घिमिरेको निष्कर्षमा जेनजी विद्रोह जुन मात्रा र असन्तोषको तहमा भयो र त्यसले जहाँ प्रहार गर्न खोजे पनि दलहरूले आफूलाई वैचारिक, सांगठनिक र नेतृत्वको हिसाबले पुनर्संरचनातर्फ लगेनन् । तीन दलले अहिलेसम्म गरेको कर्मले यो जेनजी आन्दोलन विष्फोटका रूपमा भए पनि त्यसलाई सही विश्लेषण गर्न नसक्नु दुर्भाग्य भएको घिमिरेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण