बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनलाई अपनत्व लिन र युवाहरूमाथि मुद्दा नचलाउन प्रभु साहको आग्रह

आइतबार, २१ मङ्सिर २०८२, १९ : ५३
आइतबार, २१ मङ्सिर २०८२

रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हालै भएको ‘जेनजी’ आन्दोलनले मुलुकमा राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उक्त आन्दोलनलाई सम्मान गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।

रौतहट–४, चन्द्रपुर–७ स्थित नयाँ बस्तीमा आइतबार आयोजित पार्टीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सुशासन र भ्रष्टाचार अन्त्यका लागि युवा पुस्ताले गरेको विद्रोहकै जगमा वर्तमान सरकार गठन भएको दाबी गरे ।

 उनले आन्दोलनमा सहभागी युवाहरूलाई धरपकड गर्ने र मुद्दा चलाउने कार्यले सकारात्मक सन्देश नदिने भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।
साहले भने, ‘जेनजी आन्दोलनले देशको गौरव बढाएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा होमिएका युवाहरूलाई सम्मान गर्नुको साटो नियन्त्रणमा लिनु न्यायोचित हुँदैन । प्रधानमन्त्रीज्यू स्वयं पनि यही परिवर्तनको जगबाट आउनुभएकोले युवाहरूको भावना बुझेर अघि बढ्न म आग्रह गर्दछु ।’
गत भदौ २३ र २४ गते भएका घटनाक्रमलाई स्मरण गर्दै साहले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग हुँदा र मानवीय क्षति भएपछि आक्रोशस्वरूप जनविद्रोह भएको टिप्पणी गरे । उनले आन्दोलनका क्रममा भएका तोडफोडलाई मात्र हेर्नुभन्दा त्यसको पछाडि रहेको युवाहरूको असन्तुष्टि र पीडालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री साहले परम्परागत राजनीतिक शैली र नेतृत्वका कारण देश र विशेषगरी मधेश पछाडि परेको गुनासो गरे । मधेशको विकास र समृद्धिका लागि राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने भन्दै उनले अबको नेतृत्वले जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने बताए ।

मुलुकको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै साहले बढ्दो ऋणभार र कर प्रणालीले जनतालाई समस्यामा पारेको बताए । उनले मौलापुर नगरपालिकामा लागु गरिएको ‘शून्य कर’ नीति प्रभावकारी भएको उदाहरण दिँदै देशैभरि जनतालाई करको भारबाट मुक्त गर्नुपर्ने धारणा राखे ।
साहले भने, ‘अहिले देशको अर्थतन्त्र दबाबमा छ । बढ्दो ऋण र अन्तर्राष्ट्रिय वित्तीय जोखिम (ग्रे–लिस्ट) को चुनौतीलाई सामना गर्न राजनीतिक नेतृत्व गम्भीर बन्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम नगरेसम्म देशको मुहार फेर्न सकिँदैन ।’
अध्यक्ष साहले रौतहट जिल्लाले देशका हरेक परिवर्तनमा अग्रणी भूमिका खेल्दै आएको स्मरण गर्दै अब पनि सुशासन र समृद्धिको पक्षमा जनमत तयार गर्नुपर्ने बताए । उनले सत्ता सञ्चालनको साँचो सीमित व्यक्तिको हातमा नभई आम जनताको पक्षमा हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप