आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति

सोमबार, २२ मङ्सिर २०८२, ०६ : ४४
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • अमेरिकी सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ, जसले मस्कोको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको जनाएको छ।
  • नयाँ रणनीतिले युक्रेन द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासलाई ईयूले रोकेको आरोप लगाएको छ, जसले युरोपियन अधिकारीहरुलाई चिन्तित बनाएको छ।
  • ईयू अधिकारीहरू र विश्लेषकहरूले रणनीतिको आलोचना गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको जोडलाई क्रेमलिनको भाषासँग तुलना गरेका छन्।

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो।

यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले 'सभ्यता मेटाउने' जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी समाचार एजेन्सी टाससँगको अन्तर्वार्तामा भने, ‘हामीले देखिरहेका समायोजनहरू... हाम्रो दृष्टिकोणसँग धेरै हदसम्म मिल्दोजुल्दो छ।’ उनले यसलाई ‘सकारात्मक कदम’ भन्दै मस्कोले थप विश्लेषण गर्ने बताएको छ।

नयाँ रणनीतिले रुसप्रति नरम भाषा अपनाएको छ, जसले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ। उनीहरूले युक्रेन युद्ध अन्त्य गर्न पहल गरिरहेका बेला यसले मस्कोप्रतिको युरोपको अडानलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

दस्ताबेजमा युक्रेन द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासलाई युरोपेली सङ्घ (ईयू) ले रोकेको दोष लगाइएको छ र अमेरिकाले ‘रुससँग रणनीतिक स्थिरता पुनर्स्थापित गर्नुपर्ने’ जसले ‘युरोपेली अर्थतन्त्रहरूलाई स्थिर बनाउने’ दाबी गरिएको छ।

रणनीतिमा विदेशी प्रभावसँग जुध्ने, सामूहिक बसाइसराइ रोक्ने र ईयूको कथित सेन्सरसिपको अभ्यासलाई अस्वीकार गर्ने कुरालाई प्राथमिकता दिइएको छ। यसले 'पश्चिमी पहिचान' पुनर्स्थापना गर्नुपर्ने आह्वान गर्दै युरोप २० वर्ष वा सोभन्दा कम समयमा 'अपरिचित' हुने र यसका आर्थिक समस्याहरू 'सभ्यतागत मेटाउने वास्तविक र कडा सम्भावनाले ग्रहण लागेको' उल्लेख गरेको छ।

यता, धेरै ईयू अधिकारीहरू र विश्लेषकहरूले यस रणनीतिको आलोचना गर्दै यसको अभिव्यक्ति स्वतन्त्रतामाथिको जोडलाई क्रेमलिनले प्रयोग गर्ने भाषासँग तुलना गरेका छन्। जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले अमेरिका आफ्नो महत्त्वपूर्ण सहयोगी भए पनि 'स्वतन्त्र समाजको सङ्गठनका प्रश्नहरू यस रणनीतिमा नपर्नु पर्ने' बताएका छन्। 

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा ‘युरोप तिम्रो सबैभन्दा नजिकको सहयोगी हो, तिम्रो समस्या होइन’ भन्दै अमेरिकालाई सचेत गराएका छन्।

डेमोक्रेट सांसदहरूले यो दस्तावेजले अमेरिकी विदेश सम्बन्धलाई भत्काउन सक्ने चेतावनी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप