ईश्वर पोखरेलको अवधारणापत्र : चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी पुनर्गठन गरौँ (पूर्णपाठ)
सारांश
- एमाले नेता ईश्वर पोखरेलले पार्टी संगठन पुनर्गठन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
- पोखरेलले पार्टीभित्र गुटबन्दी बढेको र 'जबज' बुझाइमा एकरूपता नभएको आरोप लगाए।
- उनले पार्टीमा स्वस्थ बहस र प्रतिस्पर्धाको अभ्यासलाई बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनपछिको नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
नेता पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गर्ने अवधारणा पत्रमा यस्तो प्रस्ताव गरेका हुन् ।
सोमबार वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी कार्यालय च्यासलमा पुगेर महासचिव शंकर पोखरेलमार्फत उक्त ४० बुँदे अवधारणापत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका हुन् ।
‘हाम्रो पार्टी नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट हामीले विधान महाधिवेशनपश्चात् देशमा उत्पन्न असाधारण परिस्थितिको बस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न जरुरी छ’, पोखरेलले भनेका छन् ।
साथै नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न, सही तरिकाले राष्ट्रिय एकताको अगुवाइ गर्ने नेतृत्व निर्माण गर्न आँट गर्नुपर्नेमा जोड दिएका छन् ।
‘पार्टीले ‘जनताको बहुदलीय जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै आएको त छ, तर वर्तमान विकसित परिस्थितिमा ‘जबज’लाई बुझ्ने सवालमा एमालेभित्र एकरूपताको खाँचो पनि देखापर्दै गएको छ’, पोखरेलको अवधारणापत्रमा भनिएको छ, ‘जस्तोसुकै कार्य परिस्थितिमा पनि सबैले ‘जबज’को अर्थ र मर्मलाई एकै किसिमले बुझ्नै पर्दछ । ‘जबज’लाई यसको सार र गतिमा बुझेर मात्र बुझाइमा एकरूपता ल्याउन सकिन्छ ।’
उनले आजका कार्यभारहरूलाई निर्देशित गरिरहेको सिद्धान्त मार्क्सवाद लेनिनवाद भएको र मार्क्सवाद लेनिनवादलाई नेपाली विशिष्टतामा प्रयोग गर्दै मदन भण्डारीले अगाडि बढाएको जबजको सिद्धान्तका आधारमा पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादका आधार तयार पार्ने चरणमा रहेको स्मरण गराएका छन् ।
त्यसैगरी दोस्रो विधान महाधिवेशनले पार्टी विधानमै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रावधान राखेपनि त्यस्तो समाजवाद कसरी निर्माण गरिनेछ भन्ने प्रष्ट खाका तयार भइनसकेको बताएका छन् ।
‘यस महाधिवेशन र यसपछि पनि हामीले नेपाली विशेषताको समाजवादको स्पष्ट खाका तयार गर्नुपर्छ । तसर्थ, हाम्रो पार्टीको नीति अध्ययन प्रतिष्ठानको अगुवाइमा नेपाली विशेषताको समाजवादको अवधारणा–पत्र आगामी एक वर्षभित्र तयार पारी राष्ट्रिय प्रतिनिधि परिषद्बाट पारित गरी लागु गरिनु पर्दछ’, पोखरेलले भनेका छन् ।
पोखरेलले यसबिचमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तीव्र भएको, गुटको आवरणमा वाञ्छित अवाञ्छित, वैध अवैध क्रियाकलाप हुन थालेको आरोप समेत लगाएका छन् ।
‘प्रतिस्पर्धा स्वस्थ होइन, अस्वस्थ हुन थाले । पार्टी सदस्य बनाउन अरूले शुल्क तिरिदिने गलत अभ्यास भयो । गुटमा सक्रिय नहुने सक्षम र असल कार्यकर्ताहरूमाथि अन्याय हुने स्थिति आयो’, पोखरेलले भनेका छन्, ‘यस अवधिमा विकास भएका नकारात्मक क्रियाकलाप र प्रवृत्तिलाई हटाएर स्वस्थ बहस र प्रतिस्पर्धाको असल अभ्यासलाई पार्टी जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा नवाैँ महाधिवेशनपछि जबजले निर्देशित गरेका असल अभ्यासहरू पनि कमजोर भएर गए ।’ उनले पार्टीमा छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथमिकता पाउन छोडेको तथा भिन्न मत सके प्रकट हुन नदिने, भइहाले भने असहिष्णुताको व्यवहार गर्ने र कतिपय अवस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिएको बताएका छन् ।
‘सीमित नेताहरू बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखियो’, पोखरेलले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै भनेका छन्,‘केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोका बैठकहरू समयमा नबोलाउने, बैठक भए पनि पर्याप्त छलफल नहुने, हरेक निर्णय सचिवालयबाट गर्ने र तुरुन्तै कार्यान्वयन गरिहाल्ने, विषयको सान्दर्भिकता सकिइसकेपछि केन्द्रीय कमिटीबाट अनुमोदन गराउने परम्परा नै बस्यो ।’
पार्टीमा सामूहिक छलफल गरी एकीकृत धारणा बन्न नसक्दा पार्टीको सार्वजनिक प्रतिष्ठामा धक्का लागेको भन्दै पोखरेलले प्रदेश सरकार गठनका सन्दर्भमा भएका पछिल्ला गतिविधिले पार्टीको नैतिक मूल्य माथि नै गम्भीर प्रश्न खडा गरिदिएको बताएका छन् ।
‘भयरहित वातावरणमा आफूलाई लागेका कुरा प्रष्टसँग राख्ने अवस्था बन्न सकेन । कमिटीहरूमा राजनीतिक वैचारिक बहसको वातावरण कमजोर भएको छ’, पोखरेलले भनेका छन्, ‘सिङ्गो पार्टी राजनीतिक वैचारिक रूपमा होइन, प्राविधिक रूपमा, गैरसरकारी संस्थाको ढाँचाबाट चल्ने गरी रूपान्तरित हुने जोखिम बढेको छ । यस स्थितिबाट पार्टीलाई मुक्त गर्न हामीले जबजको मूल सिद्धान्त र त्यसको विकासका मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात् गर्नुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण