बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

ईश्वर पक्षबाट महासचिवको उम्मेदवार सुरेन्द्र कि गोकर्ण ?

मङ्गलबार, २३ मङ्सिर २०८२, १३ : ००
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दै छन्।
  • पदाधिकारी संख्या घट्दा ओली र पोखरेल दुवैलाई प्यानल बनाउन सकस भएको छ।
  • महासचिवका लागि ओली र पोखरेल दुवै समूहबाट आकांक्षी देखिएका छन्, सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ।

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्ष पदमा उठ्ने घोषणा गरेसँगै दुई नेताबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।

मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उपस्थितिमा उद्घाटन हूने ११ औँ महाधिवेशनलाई एमालेले एकताको महाधिवेशन बनाउने दाबी गर्दै आएको छ । तर, नेताहरूको तयारीले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना क्षीण बन्दै गएको एमाले नेताहरू नै बताउँछन् ।

अर्कोतर्फ विधान संशोधन गरेर पदाधिकारी सङ्ख्या घटाएको अवस्थामा अध्यक्षबाहेकका पदाधिकारीमा आकाङ्क्षीको सङ्ख्या बढ्न पुग्दा ओली र पोखरेल दुवै पक्षलाई १५ जनाको प्यानल बनाउन सकस भइरहेको छ ।

आकाङ्क्षीहरू एउटा प्यानलमा नपरे अर्को प्यानलमा परेर भए पनि आफ्नो पद सुरक्षित गर्ने तयारीमा देखिन्छन् ।

अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवका लागि दुवै समूहमा तीन-तीन जना नेताहरूले आकाङ्क्षा देखाएका छन् । ओलीको समूहबाट महासचिव पदका लागि बहालवाला महासचिव शङ्कर पोखरेलसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले आकाङ्क्षासहित आफू निकटस्थहरूमार्फत प्रचार प्रसार नै गर्न थालिसकेका छन् । यद्यपि पोखरेल, ज्ञवाली र गुरुङ ओलीको ग्रिन सिग्नल पर्खिरहेका छन् । ओलीले अहिलेसम्म कसैलाई पनि महासचिवलगायत कुनै पनि पदमा बचन नदिएको ओली निकटका नेताहरू बताउँछन् । पदका लागि भेट्न जानेहरूलाई ओलीले ‘म जे भन्छु त्यहीँ गर्नु’ भनेर पठाउने गरेका छन् ।

उता ओलीसँग प्रतिस्पर्धा गर्न लागेको ईश्वर पोखरेल समूहले पनि आफ्नो समूहबाट क–कसलाई पदाधिकारी बनाउने भनेर निर्क्योल गर्न सकेको छैन । सुनधाराको एक होटल र थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनलाई सम्पर्क कार्यालय बनाएको पोखरेल समूहले ओली पक्षको प्यानल हेरेर मात्रै आफ्नो पक्षको प्यानल बनाउने रणनीति बनाएको बुझिएको छ । यो समूहबाट महासचिवको उम्मेदवार बन्नेमा हालका उपाध्यक्ष सुरेन्द्र पाण्डे निर्विकल्पजस्तै रहेको पोखरेल समूहका नेताहरू बताउँछन् ।

‘हाम्रो समूहबाट सिनियारिटीको हिसाबले पनि अहिलेसम्म सुरेन्द्र पाण्डे नै महासचिवको उम्मेदवार बन्नेमा दुई मत छैन’, ईश्वर पोखरेल निकटका एक नेता भन्छन्, ‘यदि उहाँ(पाण्डे)ले महासचिव बन्न अस्वीकार गरेको खण्डमा गोकर्ण र योगेशमध्ये एक जना सहमतिमै उम्मेदवार बनाउने तयारी छ ।’

विष्ट र भट्टराई पनि आफ्नो समूहमा कुनै पनि पदमा विवाद नरहेको बताउँछन् ।

‘को कुन पदको उम्मेदवार बन्ने भन्ने निश्चित भएको त छैन । तर जो जुनमा भए पनि सहमतिमै हामी मिलाउँछौ’, विष्ट र भट्टराई दुवैको भनाइ एउटै छ । पोखरेलले पार्टी पुनर्गठनको मागसहित महाधिवेशनको बन्दसत्रमा पेस गर्ने फरक मतसहितको अवधारणा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । पोखरेलले महासचिव शङ्कर पोखरेलमार्फत बुझाएको अवधारणा पत्रमा पार्टीभित्रको लोकतान्त्रीकरणको अभाव खट्किदा सिङ्गो पार्टी गुटमा सीमित बनेको उल्लेख छ ।

रोचक त के छ भने नेकपा एमालेको इतिहासमै सधैँ संस्थापन पक्षमा रहेर केन्द्रीय सदस्य, पोलिटब्युरो, स्थायी कमिटी, महासचिव, उपाध्यक्ष पदमा रहेर काम गरेका पोखरेल यसपटक संस्थापनलाई चुनौती दिँदै अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

पोखरेल नवौँ महाधिवेशनमा ओलीको पक्षबाट महासचिव बनेका थिए भने हाल पोखरेलको पक्षमा पुगेका पाण्डे नवौँमा उनैसँग महासचिवमा प्रतिस्पर्धा गरेका थिए । त्यस वेला पाण्डे पोखरेलसँग १५ मतले मात्र पराजित बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप