बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

थाइल्याण्ड–कम्बोडिया सीमा सङ्घर्ष तेस्रो दिनमा, ५ लाखभन्दा बढी मानिस विस्थापित

बुधबार, २४ मङ्सिर २०८२, १५ : २३
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबिच सीमा क्षेत्रमा भइरहेको सङ्घर्ष तेस्रो दिनमा प्रवेश गरेको छ । 

सीमापार गोलाबारी र हवाई आक्रमणका कारण दुवै देशका गरी पाँच लाखभन्दा बढी सर्वसाधारण घर छाडेर सुरक्षित आश्रयस्थल खोज्न बाध्य भएका छन् ।

बुधबार दुवै दक्षिणपूर्वी एसियाली छिमेकी देशका अधिकारीहरूले एकअर्कालाई द्वन्द्व पुनः सुरु गरेको आरोप लगाएका छन् । यस सप्ताहको सङ्घर्षमा अहिलेसम्म कम्तीमा १३ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ । 

थाइल्याण्डको रक्षा मन्त्रालयका प्रवक्ता सुरसान्त कोङसिरीले सात प्रान्तमा ४ लाखभन्दा बढी मानिसलाई सुरक्षित आश्रयस्थल मा सारिएको बताएका छन् ।

उनले भने, ‘उनीहरूको सुरक्षाका लागि आसन्न खतरा देखिएकाले ठुलो सङ्ख्यामा सर्वसाधारणहरूलाई खाली गराउनु परेको हो ।’

थाइ सेनाले कम्बोडियाबाट प्रहार गरिएका रकेटहरू बुधवार बिहान सुरिनस्थित फानोम डोङ राक अस्पताल नजिकै खसेको रिपोर्ट गरेपछि बिरामी र अस्पतालका कर्मचारी बङ्करमा लुक्न बाध्य भएका थिए ।

छिमेकी कम्बोडियामा पनि रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेताले ५ प्रान्तमा १ लाख १ हजार २ सय २९ जना मानिसलाई सुरक्षित आश्रयस्थल र आफन्तको घरमा सारिएको जानकारी दिइन्।
कम्बोडियाली मिडिया ब्रोडकास्टिङ कर्पोरेसनद्वारा सञ्चालित वेबसाइट कम्बोडियननेसले थाइल्याण्डका एफ–१६ लडाकु विमानले देशका दुई क्षेत्रमा आक्रमण गरेको र अन्य तीन क्षेत्रमा गोलाबारी जारी रहेको रिपोर्ट गरेको छ ।

थाइल्याण्डको माटिचन अनलाइन समाचार पोर्टलले पनि बुधवार बिहान थाइ सेनाले सीमा नजिकै कम्बोडियाको ‘एक सैन्य लक्ष्य’ मा एफ–१६ प्रयोग गरेर हमला गरेको रिपोर्ट गरेको छ। द नेसन पत्रिकाले सैन्य स्रोतहरूलाई उद्धृत गर्दै कम्बोडियाली रकेट र तोप आक्रमणले थाइल्याण्डका चार प्रान्तमा रहेका १२ अग्रपङ्क्तिका क्षेत्रहरूलाई निशाना बनाएको जनाएको छ ।

अल जजीराका पत्रकार रोब म्याकब्राइडले थाइल्याण्डको सुरिन प्रान्तबाट रिपोर्टिङ गर्दै सीमावर्ती प्रायः सबै प्रान्तहरूमा सङ्घर्ष भइरहेको बताए। उनले थाइल्याण्डले शान्ति चाहेको बताए पनि सुरक्षा र थाइ जनताको सुरक्षा सुनिश्चित नभएसम्म आक्रमण रोक्न नसकिने बताएको उल्लेख गरे ।

कम्बोडियाको ओड्डार मिन्चेयबाट रिपोर्टिङ गरिरहेका बार्नबी लोले विस्थापित मानिसहरूलाई राखिएको शिविरको अवस्था ‘अत्यन्तै खराब’ रहेको र पर्याप्त सहायता नपुगेको बताएका छन्। मानिसहरूमा हिंसा थप फैलिने डर रहेको र ठुलो विस्फोटको आवाज सुनिएपछि उनीहरू थप सुरक्षित स्थानतर्फ जाने तयारीमा रहेको जानकारी उनले दिए ।

कम्बोडियाका पूर्व प्रधानमन्त्री तथा सेनाका कमाण्डर हुन सेन ले थाइल्याण्डमाथि प्रतिशोधात्मक हमलाको सङ्केत दिएकाले द्वन्द्व छिट्टै अन्त्य हुने सम्भावना कम रहेको लोले थपे ।

मध्यस्थता गर्ने ट्रम्पको दाबी

यस सप्ताहको सङ्घर्ष जुलाईमा भएको पाँच दिने युद्धपछि सबैभन्दा घातक हो। जुलाईको सङ्घर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अस्थायी रूपमा रोकिएको थियो। ट्रम्पले मङ्गलबार राति पेन्सिलभेनियाको एक र्‍यालीमा पुनः सङ्घर्ष रोक्नका लागि फोन गर्ने बताएका छन् ।

‘मैले एउटा फोन कल गर्नुपर्नेछ। दुई धेरै शक्तिशाली देशहरू, थाइल्याण्ड र कम्बोडियाको युद्ध फोन कल गरेर रोक्न सक्ने अरू को हुन सक्छ?’ ट्रम्पले भनेका थिए ।

यद्यपि, थाइ विदेश मन्त्री सिहासाक फुवाङकेटकेओले अल जजीरालाई भने कि वार्ताको कुनै सम्भावना नदेखेको र बैङ्ककले सङ्घर्ष सुरु नगरेको बताए । 

ह्युमन राइट्स वाचका सुनाइ फासुकले कम्बोडियाले विशेषगरी लामो दूरीका हतियारहरू अन्धाधुन्ध प्रयोग गरिरहेको र यसले नागरिक सुरक्षामा ठुलो खतरा निम्त्याएको बताएका छन् ।

कम्बोडियाले बुधवार ‘गम्भीर चिन्ता’ जनाउँदै थाइल्याण्डमा भइरहेको दक्षिणपूर्वी एसियाली खेलकुदबाट आफूलाई अलग गर्ने घोषणा गरेको छ, जसले दुई देशबिचको बिग्रँदो सम्बन्धको थप सङ्केत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप