बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

आरजुसँगै उम्मेदवारमा सिफारिस भएका वड भन्छन्– टिकट जसले पाए पनि कांग्रेसले जित्नुपर्छ

बिहीबार, २५ मङ्सिर २०८२, ११ : ४९
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ।
  • सिफारिस हुने अन्यमा पूर्वमेयर नृपबहादुर वड पनि छन्, जो प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुने एक्ला दलित समुदायका व्यक्ति हुन्।
  • डा. आरजु राणा देउवाको उम्मेदवारी लगभग निश्चित मानिएको छ, तर नृप वडले पनि टिकटको लागि दाबी प्रस्तुत गरेका छन्।

धनगढी । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका चार जनामा धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृपबहादुर वड पनि छन् । वड कैलालीमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुने एक्ला दलित समुदायका व्यक्ति हुन् ।

कैलाली–५ बाट उम्मेदवारका लागि सिफारिस हुनेमा प्रदेश महामन्त्री तथा पूर्वजिल्ला सभापति नरनारायण शाह ‘मनु’, र २०७९ सालको निर्वाचन यही क्षेत्रबाट निर्वाचित डिल्लीराज पन्त पनि छन् ।

क्षेत्रीय कार्यसमितिले डा. आरजु राणा देउवाको नाम पहिलो नम्बरमा सिफारिस गरेसँगै उनको उम्मेदवारी लगभग निश्चित मानिएको धेरैको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएकी आरजु यसपटक फेरि चुनावी मैदान उत्रिने तयारीमा छिन् । यद्यपि, उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छैन, जसले पार्टीभित्रका अन्य आकाङ्क्षीको सम्भावनालाई पनि कायम राखेको छ ।

यसैबिच, धनगढीका पूर्वमेयर नृप वडले आफ्नो दाबीलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये दलित समुदायबाट प्रत्यक्षतर्फ सिफारिसमा पर्ने एक्लो भएकाले पनि उनी टिकट पाउनेमा आशावादी छन् । ‘पार्टीले मलाई टिकट दिएमा चुनाव जित्न सक्छु भन्ने विश्वास छ,’ उनले भने ।

२०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगर प्रमुखका रूपमा निर्वाचन भएर कार्यकाल पूरा गरिसकेका आधारमा पनि आफू यहाँका जनतासँग बढी निकट रहेको वडको दाबी छ । ‘चुनाव हारे पनि, जिते पनि हामीले गर्ने भनेको समाजसेवा नै हो । म निरन्तर जनताको माझमा छु,’ उनले भने । २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै उनी धनगढीको मेयर बनेका थिए ।

टिकट पाउने कुरा नेतृत्वको निर्णयमा भर पर्ने भए पनि आफूले टिकट पाए न्याय हुने उनको भनाइ छ । ‘नेतृत्वको निर्णयअनुसार नै अगाडि बढिन्छ,’ उनले भने ।

मेयर हुँदा आफूले धनगढीको विकासमा थुप्रै कामको सुरुवात गरेको वड बताउँछन् ।

अछाममा जन्मेका वडको परिवार २०३६ सालमा धनगढी बसाइ सरेको थियो । विद्यार्थी राजनीतिबाट उदाएका उनी २०४९ सालमा धनगढी–५ को वडा सभापति, नगर कार्यसमिति सचिव हुँदै दुई कार्यकाल नगर सभापति बने ।

‘समाजसेवा र सङ्गठन निर्माण नै मेरो लक्ष्य थियो, त्यही मेहनतले धनगढी कांग्रेसको बलियो गढ बन्यो,’ उनले भने ।

आगामी निर्वाचनमा कांग्रेसको राम्रो सम्भावना रहेको वडले बताए । पार्टीभित्र एकता भए कैलालीका पाँचै क्षेत्रमा कांग्रेसले जित्ने उनको दाबी छ ।

‘कांग्रेसमा एकबद्ध भएर, सहमति र सहकार्यका साथ हामी सबै एक भयौँ भने जित निश्चित छ,’ उनले भने, ‘कसले टिकट पायोभन्दा पनि कांग्रेसले जित्नुपर्छ भन्ने भावना महत्त्वपूर्ण हो । यो राज्यको लागि कांग्रेसको आवश्यकता छ ।’

पार्टीले जसलाई टिकट दिए पनि पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वडले भने, ‘मैले टिकट पाए पनि सबै साथीहरूको सहयोग चाहिन्छ, अरू कसैले पाए पनि मेरो पूर्ण समर्थन रहन्छ । पार्टीको प्रक्रियालाई सबैले सम्मान गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप