शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बालुवाटारबाट भागेको होइन, पाण्डवजस्तै ‘लाक्षागृह’बाट जोगिन निस्किएको हुँ : केपी ओली

बिहीबार, २५ मङ्सिर २०८२, १५ : ०८
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट भागेको नभई राजनीतिक घेराबन्दीबाट जोगिएको बताए।
  • ओलीले आफूलाई पाण्डवसँग तुलना गर्दै विपक्षीलाई कौरवसँग दाँजे र घेराबन्दी तोड्न बालुवाटार छाडेको बताए।
  • उनले आफू कामचलाउ प्रधानमन्त्री रहेको र विपक्षीको टिप्पणीलाई केटाकेटीको रमाइलोको संज्ञा दिए।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोपको प्रतिवाद गरेका छन् ।

बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताएका हुन् ।

आफ्नो बचाउका क्रममा अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग कोट्याए । उनले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै आफूलाई पाण्डवसँग दाँजे ।

'भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ ओलीले भने, 'भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्‍याएर भागेका हुन् ।’

उनले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नुपरेको तर्क गरे। 'दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उनले थपे ।

ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गरे। उनले प्रश्न गरे, ’म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’

विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उनको दाबी थियो। 'मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ ओलीले भने, 'वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’

विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै उनले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गरे। 'भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भने, ’म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’

उनले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप