शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुर सडक दुर्घटनामा कानुनमन्त्री सिन्हाका भाइको मृत्यु

बिहीबार, २५ मङ्सिर २०८२, १९ : १३
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • ललितपुरको जावलाखेलस्थित बागमती करिडोरमा भएको दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ।
  • दुर्घटनामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु भएको हो।
  • प्रहरीले दुर्घटनामा संलग्न भ्यान चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित बागमती करिडोर यूएन पार्क सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जना स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब ३ बजेर ५० मिनेटमा भएको दुर्घटनामा ४५ वर्षीय राजीव सिन्हाको मृत्यु भएको ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । सिन्हा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको भाइ भएको बुझिएको छ ।  

दुर्घटनामा घाइते भएका ४५ वर्षीय सिन्हालाई तत्काल उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । तर उपचार क्रममा उनको बिहीबार दिउँसो साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्हा स्कुटरमा सवार थिए । सिन्हा रौतहटको गौर नगरपालिका–९ का बासिन्दा हुन् । उनी कानुन व्यावसायी थिए । 

प्रहरीका अनुसार कुपण्डोल पुलबाट यूएन पार्क पुलतर्फ जाँदै गरेको बाप्र०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरीत दिशाबाट आइरहेको बाप्र०१–०२२ च ००६१ नम्बरको निजी कार, बा२ज ४७६० नम्बरको भाडाको कार, बाप्र ०१–०२९ च ८१४५ नम्बरको निजी भ्यान र सोही दिशातर्फ गइरहेको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न पाँच वटै सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले बाप्र०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानका चालक काठमाडौँ नागार्जुन नपा ६ बस्ने २० वर्षीय रोहित रन्जितकारलाई नियन्त्रणमा लिएको छ ।

अन्य सवारीका चालकहरू दोलखा शैलुंङ गापा ५ बस्ने ३५ वर्षीय अरुन कार्की (निजी कार बाप्र०१–०२२ च ००६१), रामेछाप मन्थली नपा १२ बस्ने २७ वर्षीय सुन्दर सार्की (भाडाको कार बा२ज ४७६०) र उदयपुर रतुवामाई गापा १ बस्ने २३ वर्षीय विष्णु बहादुर तामाङ (निजी भ्यान बाप्र ०१–०२९ च ८१४५) रहेका छन् । 

दुर्घटनामा संलग्न पाँचवटै सवारी साधन र भ्यान चालक प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप