बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भान्सा संस्कृति

इटालीले पायो विश्वको पहिलो ‘राष्ट्रिय भान्सा’ मान्यता, नेपाल कहिले अघि बढ्ला ?

शुक्रबार, २६ मङ्सिर २०८२, ०० : ५४
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • इटालीको भान्सा संस्कृतिलाई यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ, जुन विश्वकै पहिलो हो।
  • इटालीको भान्सालाई सांस्कृतिक र सामाजिक मिश्रणको रूपमा वर्णन गरिएको छ, जसले परिवार र समुदायलाई जोड्छ।
  • नेपालले हालसम्म यूनेस्कोको सूचीमा कुनै पनि अमूर्त सम्पदालाई नामाङ्कन गरेको छैन, तर यसमा धेरै सम्भावनाहरू छन्।

डिसेम्बर १०, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी अन्तर सरकारी समितिको २०औँ सत्रमा इटालीको भान्सा संस्कृति (Italian cooking, between sustainability and biocultural diversity) लाई अमूर्त सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage of Humanity) को प्रतिनिधिमूलक सूचीमा समावेश गर्ने सर्वसम्मत निर्णय गर्‍यो । यो विश्वकै पहिलो घटना हो जहाँ कुनै देशको सम्पूर्ण राष्ट्रिय भान्सा संस्कृतिलाई यसरी मान्यता दिइएको छ। इटाली सरकारले २०२३ मार्चमा यो प्रस्ताव  यूनेस्कोमा पेस गरेको थियो र प्रधानमन्त्री मेलोनीको सरकारले यसलाई राष्ट्रिय पहिचानको हिस्साको रूपमा अघि बढाएको थियो। जसमा लोम्बार्डीको ओसोबुकोदेखि पुग्लियाको ओरेकिएट्टेसम्मका विविध क्षेत्रीय भान्साहरू समेटिएका छन्।

यूनेस्कोले इटालीको भान्सालाई सांस्कृतिक र सामाजिक मिश्रणको रूपमा वर्णन गरेको छ। जसले परिवार र समुदायलाई जोड्छ, दैनिक भोजन तयार गर्ने र सँगै खाने संस्कार, मौसमी तथा स्थानीय सामग्रीको सम्मान, जैविक विविधताको संरक्षण र पुस्तौँदेखि हस्तान्तरण हुने ज्ञानलाई समेट्छ। यसले सामाजिक समावेशिता बढाउँछ, कल्याण प्रवर्द्धन गर्छ र अन्तरपुस्तीय शिक्षा प्रदान गर्छ। यो केवल पिज्जा, पास्ता वा टिरामिसु जस्ता परिकारहरूको कुरा होइन बरु आइतबारको पारिवारिक भोजन वा हजुरआमाले नातिनातिनालाई टोर्टेलिनी बनाउन सिकाउने जस्ता दैनिक अभ्यासहरूको इतिहास पनि हो।

यो खबरले इटालीमा ठुलो उत्साह जगाएको छ। प्रधानमन्त्री जियोर्जिया मेलोनीले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत भनेकी छिन् कि हामी विश्वमै पहिलो देश हौँ जसले यो सम्मान पाएका छौँ।  यो हाम्रो पहिचानको सम्मान हो किनकि इटालियनहरूका लागि भान्सा केवल खाना होइन। यो संस्कृति, परम्परा, काम र सम्पदा हो।  कृषि मन्त्री फ्रान्सेस्को लोलोब्रिजिडाले यो उपलब्धि सबैको भएको बताएका छन्। किनकि यसले इटालीको पाक शास्त्रको रचनात्मकता र परम्परालाई मजबुत बनाउँछ। साथै ‘मेड इन इटाली’ ब्रान्डलाई संरक्षण गरी नक्कली उत्पादनहरू विरुद्ध लड्न सहयोग पुग्छ।यस अवसरमा रोमको कोलोसियमलाई इटालीको झन्डाको रङमा सजाएर ठुलो उत्सवहरू आयोजना गरेका छन्।

मानव सभ्यताको इतिहास केवल युद्ध, राजनीति र आविष्कारहरूले मात्रै बनेको होइन। यो जनजीवनको भान्सा, खानाको सुगन्ध, र संस्कृतिको स्वादले भरिएको एक दीर्घ यात्रा पनि हो। यही कारण यूनेस्कोले Intangible Cultural Heritage (ICH)  कार्यक्रमअन्तर्गत विश्वभरका पाककला, भोजन परम्परा, खाजा-संस्कृति र खानाका विधिहरूलाई विशेष पहिचान र संरक्षणका लागि सूचीमा समावेश गरेको छ। विश्वका दर्जनौँ देशहरू आफ्नो  इतिहास र पहिचान व्यक्त गर्ने भोजनहरूलाई संरक्षण गर्न सफल भएका छन्। आज खाद्य–संस्कृतिलाई केवल पेट भर्ने साधन होइन, अस्तित्व र पहिचानको सांस्कृतिक दस्ताबेज बनाइदिएको छ।

विश्वभर भोजन र पाककला परम्परालाई सांस्कृतिक पहिचानको अभिन्न अङ्गका रूपमा संरक्षण गर्ने उद्देश्यले यूनेस्कोले स्थापन गरेको Intangible Cultural Heritage कार्यक्रम आज विश्वका दर्जनौँ देशहरूको अभिमान बनेको छ । भोजन केवल स्वाद वा परिकार होइन, कुनै समुदायको इतिहास, प्रकृतिसँगको सम्बन्ध, संस्कार–परम्परा, सामूहिक सहभागिता र जीवनशैलीको गहिरो दस्ताबेज हो ।

यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage of Humanity) को अवधारणा र संरक्षणको औपचारिक प्रक्रिया लामो समयदेखि विकास हुँदै आएको हो। यसको सुरुवात १९७० को दशकबाट भएको मानिन्छ। पहिलो पटक बोलिभियाले १९७३ मा अमूर्त संस्कृतिको संरक्षणको मुद्दा उठाएको थियो। त्यसपछि यूनेस्कोले विभिन्न कार्यक्रमहरू सुरु गर्‍यो जस्तै १९८९ मा ‘परम्परागत संस्कृति र लोककथाको संरक्षणसम्बन्धी सिफारिस’ (Recommendation on the Safeguarding of Traditional Culture and Folklore) अपनायो। जसले सदस्य राष्ट्रहरूलाई अमूर्त सम्पदाको सूची बनाउन र संरक्षण गर्न प्रेरित गर्‍यो।

१९९० को दशकमा थप प्रगति भयो। १९९४ मा ‘जीवित मानव खजाना’ (Living Human Treasures) कार्यक्रम सुरु भयो ।  जसले परम्परागत ज्ञान बोकेका व्यक्तिहरूलाई मान्यता दिने राष्ट्रिय प्रणालीलाई प्रोत्साहन गर्‍यो । त्यसपछि १९९७-१९९८ मा ‘मानवताको मौखिक र अमूर्त सम्पदाका उत्कृष्ट कृति’ (Proclamation of Masterpieces of the Oral and Intangible Heritage of Humanity)  कार्यक्रम सुरु भयो जसले २००१ देखि २००५ सम्म ९० वटा अमूर्त सम्पदाहरूलाई ‘मास्टरपिस’ को रूपमा घोषणा गर्‍यो।

सन् २००३ मा अपनाइएको यो महासन्धि २००६ मा लागू भयो र हाल १८० भन्दा बढी देशहरूले यसमा हस्ताक्षर गरेका छन् । यो कार्यक्रमले अमूर्त सम्पदाको महत्त्व बारे विश्वव्यापी जागरण ल्यायो ।यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा (ICH) ले खाना वा पाककलासँग सम्बन्धित परम्पराहरू मात्र सूचीकृत गर्दैन ।अन्य जीवन्त सांस्कृतिक परम्पराहरूको विविध क्षेत्रहरूलाई पनि संरक्षण र मान्यता दिन्छ । यसले मौखिक परम्परा र भाषा, प्रदर्शन कला (संगीत, नृत्य, नाटक), सामाजिक अभ्यास तथा परम्परा  र उत्सवहरू, प्रकृति तथा ब्रह्माण्डसँग सम्बन्धित ज्ञान र अभ्यास, तथा परम्परागत हस्तकला जस्ता पाँच मुख्य विषयहरूलाई समेट्छ । खाना सम्बन्धित तत्त्वहरू मुख्य रूपमा सामाजिक अभ्यास वा उत्सवसँग जोडिएर आउँछन् । खानासँग सम्बन्धित विवरणहरू सन् २०१० देखि सूचीकृत हुन थाले। भोजन दर्ता हुनु भनेको केवल परिकारको मान्यता होइन। सम्पूर्ण संस्कृति, पर्व, विश्वास, उत्पादनदेखि पकाउने र खानेसम्मको जीवनचक्र सुरक्षित गर्नु हो । यूनेस्कोले भोजन दर्ता गर्दा पाँच प्रमुख आधार हेर्छ । ऐतिहासिकता, समुदायको निरन्तर अभ्यास, सांस्कृतिक महत्त्व, प्रकृति–मानव सम्बन्ध र दीर्घकालीन संरक्षण क्षमता ।

हाल सम्म यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage - ICH) को प्रतिनिधिमूलक सूची  (Representative List of the Intangible Cultural Heritage of Humanity) मा करिब १५० देशहरूले ८४९ तत्त्वहरू समावेश गरेका छन्।  जसमध्ये खाना सम्बन्धित तत्त्वहरू करिब ६४ वटा मात्र छन्। 

यी मान्यताहरूमध्ये फ्रान्सको ग्यास्ट्रोनोमिक भोजनले महत्त्वपूर्ण अवसरहरूमा परिवार र मित्रहरूसँग सहभोज गर्ने सामाजिक अभ्यासलाई जोड दिन्छ भने मेक्सिकोको परम्परागत भान्साले मकैमा आधारित खेती, तयारी र मृतकहरू सम्झने चाडसँग जोडिएको संस्कृतिलाई प्रतिबिम्बित गर्छ। जापानको वाशोकुले मौसमी सामग्री, सन्तुलित भोजन र प्रकृतिको सम्मानलाई नयाँ वर्षको उत्सवसँग जोडेर प्रस्तुत गर्छ भने भूमध्यसागरीय आहार (क्रोएसिया, साइप्रस, ग्रीस, इटाली, मोरक्को, पुर्तगाल र स्पेन) ले जैतुन तेल, फलफूल, तरकारी र सामूहिक भोजनको स्वस्थ तथा दिगो जीवनशैलीलाई सांस्कृतिक आदानप्रदानको रूपमा चित्रण गर्छ। कोरियामा किम्ची बनाउने कला ९दक्षिण र उत्तर कोरिया दुवै० ले सामूहिक श्रम र भिटामिनयुक्त अचारको सामाजिक महत्त्व देखाउँछ भने टर्कीको केस्केक वा माग्रेबी देशहरू (अल्जेरिया, मॉरिटानिया, मोरक्को, ट्युनिसिया) को कुस्कुसले बिशेष समारोह वा दैनिक खानाको उत्पादन र उपभोगलाई जोड दिन्छ।

हालका वर्षहरूमा थपिएका परम्पराहरूमा पेरुको सेभिचे तयारी (२०२३), हाइतीको सूप जोउमो (२०२१), सेनेगलको सेबु जेन (२०२४), स्पेनको साइडर संस्कृति (२०२४), ब्राजिलको परम्परागत चीज बनाउने कला (२०२४), मलेसियाको नाश्ता संस्कृति (२०२४), इजिप्टको कोशारी (२०२५) र साइप्रसको कमान्डारिया वाइन ९२०२५० जस्ता छन् जसले विभिन्न क्षेत्रका दैनिक वा उत्सवसँग जोडिएका खानाका अभ्यासहरूलाई संरक्षण गर्छन् । यी सबै परम्पराहरूले खानालाई पेट भर्ने माध्यम मात्र होइन, सांस्कृतिक पहिचान, सामाजिक बन्धन र पर्यावरणीय दिगोपनको प्रतीकको रूपमा स्थापित गर्छन्।

दक्षिण एसियाको चीन यूनेस्को क्ष्ऋज् सूचीमा विश्वकै अग्रणी छ, जससँग ४४ तत्त्वहरू छन् । भारतको १५ वटा तत्त्वहरू सूचीकृत छन्, जसमध्ये हालै डिसेम्बर १०, २०२५ मा (Festival of Lights)  Representative List मा समावेश भयो। जसले यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्वलाई मान्यता दियो। यसअघि गार्बा (२०२३), दुर्गा  पूजा (२०२१), कुम्भ मेला (२०१७), योग (२०१६) र रामलीला (२००८) जस्ता उत्सव र प्रदर्शन कलाहरू नामाङ्कन गरिएका थिए ।  जसले भारतको विविधता र एकताको प्रतीकलाई उजागर गर्छ । भारतले परम्परागत चाँदीका भाँडाकुँडा बनाउने शिल्प (२०२३) जस्ता शिल्पकलाहरू पनि पेस गरेको छ। भुटानसँग एक वटा तत्त्व छ भुटानीज फोकल लोरिको (Bhutanese Folk Loris, २०११) जसले मौखिक कथा र लोकगीतहरूलाई समेट्छ र यसले हिमालयन संस्कृतिको संरक्षणमा योगदान दिएको छ। बंगलादेशले चार वटा तत्त्वहरू नामाङ्कन गरेको छ जसमध्ये हालै डिसेम्बर ९, २०२५ मा ताङ्गाइलको परम्परागत सारी बुनाइ कला (Traditional Saree Weaving Art of Tangail) लाई Representative List मा समावेश गरियो जसले हस्तकला र सामुदायिक अभ्यासलाई जोड दिन्छ यसअघि मङ्गल शोभाझात्रा (२०१६) र पञ्चम बाघ (२०१८) जस्ता उत्सवहरू सूचीकृत छन्।

श्रीलङ्कासँग सात वटा तत्त्वहरू छन् जसमा रङ्गशाला नृत्य (Ranga Shala Dance,२०१८), सर्भोदय शान्ति आन्दोलन (Sarvodaya Shanti Movement) र परम्परागत चित्रकला जस्ता प्रदर्शन र सामाजिक अभ्यासहरू समावेश छन्, जसले बौद्ध संस्कृति र सामुदायिक एकतालाई प्रतिबिम्बित गर्छन् । अफगानिस्तानले तीन वटा तत्त्वहरू नामाङ्कन गरेको छ जसमध्ये हालै डिसेम्बर ९, २०२५ मा बेहजाद शैलीको मिनिएचर चित्रकला (Behzad’s Style of Miniature Painting) लाई Representative List मा समावेश गरियो जसले इस्लामी कला र हस्तान्तरणीय ज्ञानलाई संरक्षण गर्छ। यसअघि नवरोज (२००९, बहुराष्ट्रिय) र अफगान कालबेलिया (२०१७) जस्ता उत्सव र संगीत परम्पराहरू सूचीकृत छन् । यी देशहरूले दक्षिण एसियाको साझा हिमालयन, बौद्ध र इस्लामी प्रभावहरू (जस्तै नवरोज जसमा भारत र अफगानिस्तान दुवै आबद्ध छन्) लाई बहुराष्ट्रिय नामाङ्कनमार्फत उठाएका छन्। यसले क्षेत्रीय सहकार्यलाई प्रोत्साहन दिन्छ।

नेपालले यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage - ICH) सूचीमा अहिलेसम्म कुनै पनि तत्त्वलाई पूर्ण रूपमा नामाङ्कन गरेको छैन। नेपालको सन्दर्भमा हेर्दा, देशमा धेरै अद्वितीय तत्त्वहरू छन् जस्तै नेवारी नयाँ वर्ष (भिंतुन), थारू स्टिक डान्स, किराँत मुन्धुम मौखिक परम्परा, गुरुङको घाटु नाच, लिम्बूको च्याब्रुङ नृत्य, र विभिन्न जातीय समुदायका लोककथा वा परम्पराहरू, जुन विश्वकै लागि विशिष्ट छन् र अन्य देशमा पाइँदैनन् । यी तत्त्वहरूले नेपालको बहुजातीय, बहुभाषिक र हिमालयन संस्कृतिको विविधतालाई प्रतिबिम्बित गर्छन् । तर, सरकारी स्तरमा यिनलाई क्ष्ऋज् सूचीमा नामाङ्कन गर्ने ठोस पहल अझै नभएको अवस्था छ । 

यूनेस्कोको आधिकारिक वेबसाइट अनुसार, नेपालले २०१० मा ICH महासन्धिमा हस्ताक्षर गरेको छ। २०१६ देखि राष्ट्रिय सूची (Inventory) तयार गर्ने प्रयासमा छ, तर अहिलेसम्म (डिसेम्बर २०२५ सम्म) कुनै पनि तत्त्व Representative List मा सूचीकृत भएको छैन। २०१३ मा यूनेस्कोले काठमाडौँमा नामाङ्कन तयारी सम्बन्धी कार्यशाला आयोजना गरेको थियो । जसले सरकारी अधिकारी र समुदायहरूलाई प्रशिक्षित गरेको थियो तर त्यसपछिको प्रगति सुस्त छ । 

नेपालमा ICH नामांकनमा सरकारी पहलको कमीका मुख्य कारणहरू आर्थिक, प्रशासनिक र सामाजिक चुनौतीहरू छन् । नामाङ्कन प्रक्रिया जटिल र महँगो छ । राष्ट्रिय सूची, सामुदायिक दस्तावेजीकरण, संरक्षण योजना र डोसियर तयार गर्न लाखौँ रुपैयाँ लाग्छ । तर नेपालमा स्रोत (जनशक्ति, विशेषज्ञता, बजेट) को अभाव छ । राजनीतिक अस्थिरता र सरकारी प्राथमिकताको कमीले थप ढिलाइ भएको छ । साथै, स्थानीय तथा आदिवासी समुदायमा जागरण र सहभागिताको कमी छ । जसलाई २०१५ को भूकम्प र कोभिड–१९ ले झन् कठिन बनायो । भारतले छठ महापर्व (जुन नेपालमा पनि मनाइन्छ) लाई बहुराष्ट्रिय नामाङ्कनका लागि पेस गरेको छ । जसमा नेपाल पनि आबद्ध हुन सक्थ्यो, तर सरकारी समन्वयको कमीले गर्दा त्यसमा पनि नेपालको नाम अङ्कित गर्न सकिएन ।

यी चुनौतीहरूका बाबजुद, नेपालमा सम्भावना धेरै छन्। सरकारी स्तरमा पहल बढाउन राष्ट्रिय ICH सूची तत्काल पूर्ण गर्नु, स्थानीय एनजीओ र यूनेस्कोसँग सहकार्य गर्नु, र बजेट विनियोजन गर्नु आवश्यक छ। नेपालले भौतिक सम्पदामा जस्तै ICH मा पनि सक्रिय हुनुपर्छ, जसले विश्वव्यापी मान्यता र संरक्षणको ढोका खोल्नेछ।

नेपालमा यूनेस्को स्तरका सम्पदा हुन सक्ने स्पष्ट सम्भावना बोकेका छन्। तर राज्य, समुदाय र अनुसन्धानकर्ताहरूले समन्वितरूपमा काम नगरेसम्म नेपालका भोजन विश्व सम्पदामा पर्ने देखिँदैन। यूनेस्को ले भोजन दर्ता गर्नु केवल सम्मान होइन। देशको पर्यटन, अर्थतन्त्र, सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्त्वपूर्ण माध्यम पनि हो । नेपालले अब नीतिगत रूपमै पाककला संस्था, अनुसन्धान अभिलेख, सांस्कृतिक दस्ताबेज र अन्तर्राष्ट्रिय प्रस्ताव तयार गर्दै अघि बढ्यो भने निकट भविष्यमै कुनै नेपाली भोजन यूनेस्को सूचिमा देखिने सम्भावना अत्यन्त बलियो छ। भोजन केवल स्वाद होइन यो हाम्रा पुर्खाहरूको संस्कारहरूको सुगन्ध र हाम्रो पहिचानको जीवित आत्मा हो।संसारका घुमे जति देशमा मैले नेपाली खाना जस्तो भरिपूर्ण हुने परिकार अहिले सम्म कहीँ कतै पाएको छैन।

नेपालको भान्सा संस्कृति हिमाल, पहाड र तराईका विविध भूगोल, जलवायु र जातीय समुदायहरूबाट बुनेको एक समृद्ध सम्पदा हो। जसले पुस्तौँदेखिको ज्ञान, सामाजिक एकता, दिगो अभ्यास र प्रकृतिसँगको सामञ्जस्यलाई प्रतिबिम्बित गर्छ। मोमो ,थुक्पा ,याक चिया,थकाली खाना ,गुन्द्रुक ढिँडो, सेल रोटी र नेवारी भोज (८४ व्यञ्जनको सांस्कारिक भोजन) घोङ्गी (थारु समुदायको कीरा परिकार), र मधेसी मसलेदार व्यञ्जनहरूले जैविक विविधता र उष्ण अनुकूलनलाई उजागर गर्छन्।

यी परम्पराहरू यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा (ICH) सूचीका लागि बलियो आधार बन्न सक्छन्। नेपालका यी खाना,संस्कार र संस्कृतिहरूले पनि ऐतिहासिक निरन्तरता, सामुदायिक सहभागिता र पर्यावरणीय अनुकूलनका मापदण्ड पूरा गर्न सक्छन्। जसले पर्यटन र सांस्कृतिक पहिचानलाई विश्वमाझ थप परिचय गराउनेछ।संसारका धेरै देशमा फैलिएका नेपालीहरू संस्कृत तथा खाद्य दूतको रूपमा सक्रिय हुन आवश्यक छ। सरकारले पनि अन्य दूतहरू सरह यसलाई पनि प्राथमिकतामा राख्न अनिवार्य छ। आउनुस् नेपाली सभ्यतालाई पनि यूनेस्को मा सूचीकृत गर्न सबैले सामूहिक पहल गरौँ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र नेपाल श्रेष्ठ
सुरेन्द्र नेपाल श्रेष्ठ
लेखकबाट थप