निर्वाचनमा सशस्त्र प्रहरीको परिचालन नीति : दोस्रो घेरामा रहेर त्रुटिरहित सुरक्षा दिने तयारी
सारांश
- नेपाल सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि एकीकृत सुरक्षा योजना बनाएको छ।
- सशस्त्र प्रहरी बलले निर्वाचनलाई सुरक्षित बनाउन स्रोत र साधनको प्रयोग गरी परिचालन गर्नेछ।
- निर्वाचन सुरक्षाका लागि तालिम, सेल गठन, र विभिन्न टोली परिचालन गरिनेछ।
काठमाडौँ । नेपाल सरकारले २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सशस्त्र प्रहरी बल, नेपालले आफ्नो परिचालन नीति तर्जुमा गरेको छ।
सशस्त्र प्रहरी बलले तोकिएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि स्रोत र साधनको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन गर्ने बताएको छ। सशस्त्र प्रहरीको निर्वाचन परिचालन नीति तथा तयारीका मुख्य बुँदाहरू:
- सुरक्षाको घेरा र जिम्मेवारी: सशस्त्र प्रहरी बललाई सबै निर्वाचन क्षेत्रहरूमा (अतिसंवेदनशील, संवेदनशील र सामान्य) तोकिएको जिम्मेवारीमा परिचालन गरिनेछ। सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रूपमा काम गर्नेछ।
- तालिम: निर्वाचनमा खटिनुअघि सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिइनेछ।
- सेल तथा कमाण्ड पोष्ट गठन: निर्वाचन सुरक्षाको सुपरिवेक्षण, समन्वय र सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ। साथै, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल र जिल्लाका गण/गुल्महरूमा क्रमशः गण/गुल्म निर्वाचन सेल गठन गरिनेछ।
- परिचालन क्षेत्र: सशस्त्र प्रहरी कर्मचारीहरूलाई मोबाइल, स्ट्राइकिङ्ग, क्यूआर्टी/रिजर्भ, निर्वाचन क्षेत्र सुरक्षा, सुरक्षा वेस, कमाण्ड पोष्ट र जेईओसी, कार्यालय सुरक्षा/स्ट्याण्डवाई, जिल्लास्थित निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षा लगायतका क्षेत्रमा आवश्यक बन्दोबस्तीसहित परिचालन गरिनेछ।
- मोबाईल र स्ट्राइकिङ्ग टोली: निर्वाचन क्षेत्रहरूको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मोबाइल र स्ट्राइकिङ्ग टोली परिचालन गरिनेछ।
- सीमा र समन्वय: समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रूपमा परिचालन गरिनेछ।
- सुरक्षा बेस स्थापना: निर्वाचनको १ महिनाअगाडि देखि निर्वाचन क्षेत्र सुरक्षा वेस स्थापना गरिनेछ, भने स्ट्राइकिङ्ग तथा मोबाइल टोली निर्वाचनको १५ दिनअगाडि देखि आवश्यक बन्दोबस्तीसहित परिचालन गरिनेछ।
- क्यूआरटी तयारी: निर्वाचनको दिन सशस्त्र प्रहरी बल, नेपालको १९ नम्बर गण (विशेष कार्यदल गण) र २० नम्बर गण (विपद् उद्धार उपत्यका गण) का क्यूआरटी टोलीलाई आवश्यक परेको खण्डमा तत्काल हेली लिफ्ट गर्न सक्ने गरी २० नम्बर गणमा तैनाथ राखिनेछ। क्यूआरटी मा रहेका जनशक्तिलाई निर्वाचनको एक दिनअघिदेखि निर्वाचनको एक दिनपछि सम्म हातहतियार र सवारी साधनसहित रणनीतिक स्थानहरूमा परिचालन गरिनेछ।
- अन्य रणनीति: निर्वाचन आचारसंहिता पालना गराउने तर्फ सहयोगी भूमिका निर्वाह गरिनेछ। आम नागरिकको मताधिकार सुनिश्चित गर्न र निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्न सूचना सङ्कलन तथा योजनाबद्ध परिचालन गरिनेछ। निर्वाचन सुरक्षामा महत्त्वपूर्ण स्थानहरू अंकित गरी प्रदेशगत तथा जिल्लागत नक्सा तयार गरी प्रभावकारी बनाइनेछ।
परिचालनमा भौगोलिक विकटता, बन्दोबस्ती, यातायात र स्थानीय आवश्यकताको कारणले कठिनाई आएमा बाहिनी मुख्यालयहरूले प्रदेश सुरक्षा समन्वय समिति तथा केन्द्रीय निर्वाचन सेलको स्वीकृतिमा फेरबदल गर्न सक्ने व्यवस्था पनि नीतिमा उल्लेख छ।
२०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन
मिति २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीति अनुरुप “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” अनुसार सशस्त्र प्रहरी बल, नेपालले तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उपलब्ध श्रोत र साधनको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन गर्नका लागि “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति” तर्जुमा गरिएको छ ।
१. सबै निर्वाचन क्षेत्रहरुमा (अतिसंवेदनशील, संवेदनशील र सामान्य) सशस्त्र प्रहरी बल, नेपाल तोकिएको जिम्मेवारीमा परिचालन गर्ने,
२. निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रही अन्य सुरक्षानिकायसंग समन्वयात्मकरुपमा परिचालन गर्ने, ३. निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्वन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनु पुर्व सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने,
४. निर्वाचन सुरक्षा सम्वन्धित विषयवस्तुहरुमा सुपरिवेक्षण, समन्वय एवं सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा केन्द्रिय निर्वाचन सेल गठन गर्ने, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल गठन गर्ने साथै जिल्लाका अप्रेशनल जिम्मेवारीमा रहेका प्रत्येक गण / गुल्ममा क्रमशः गण/गुल्म निर्वाचन सेल गठन गर्ने,
५. निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी कर्मचारीलाई मोवाईल, स्ट्राइकिङ्ग, क्यूआरटी/रिजर्भ, निर्वाचनक्षेत्र सुरक्षा, सुरक्षा वेस, कमाण्ड पोष्ट र JEOC, कार्यालय सुरक्षा/स्ट्याण्डवाई, जिल्ला स्थित निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षा लगायतका क्षेत्रमा आवश्यक वन्दोवस्तीसहित परिचालन गर्ने,
६. निर्वाचन क्षेत्रहरुको भौगोलिक अवस्था तथा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मोबाईल र स्ट्राईकिङ्ग टोली परिचालन गर्ने,
७. निर्वाचन विरोधी गतिविधी नियन्त्रण एवं आपराधिक कृयाकलाप नियन्त्रण गर्न सुचना आदान प्रदान लगायत परिचालनमा आवश्यकता अनुसार समन्वयात्मक रुपमा गर्ने,
८. समकक्षी सुरक्षा निकायसंग आवश्यक समन्वय एवं सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रुपमा परिचालन गर्ने,
९. निर्वाचन आचारसंहिता पालना गराउने तर्फ सहयोगी भुमिका निर्वाह गर्ने,
१०. निर्वाचन क्षेत्र सहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्वपुर्ण स्थानहरु अंकित गरी प्रभावकारी वनाई परिचालन गर्ने,
११. आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचन विरोधी कुनै गतिविधी हुन नदिन सुचना संकलन तथा योजनावद्ध ढंगवाट परिचालन गर्ने,
१२. निर्वाचनको दिन सशस्त्र प्रहरी बल नेपाल नं १९ गण हे.क्वा. (विशेष कार्यदल गण ) र सशस्त्र प्रहरी बल, नेपाल, नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार उपत्यका गण ) का क्यूआरटी टोलीलाई तत्काल हेली लिफ्ट गर्न सक्ने गरी सशस्त्र प्रहरी बल, नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार उपत्यका गण )मा तैनाथ राख्ने,
१३. क्यूआरटी मा रहेको जनशक्तिलाई निर्वाचनको एक दिन अघि देखि निर्वाचनको एक दिनपछि सम्म हातहतियार तथा असवावका साधनहरु साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधन सहित परिचालन गर्ने,
१४. सशस्त्र प्रहरी बल, नेपालको कार्यालय रहेको जिल्लाको हकमा सो जिल्लाको अप्रेसनल कमाण्डको जिम्मेवारी प्राप्त कार्यालय प्रमुखले सम्वन्धित जिल्लाको ओभरअल कमाण्ड गर्ने र निजले जिल्ला कमाण्ड पोष्ट र अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय राखी निर्वाचन सुरक्षार्थ परिचालित टोलीलाई समन्वयात्मक ढंगमा परिचालन गर्ने,
१५. निर्वाचन सुरक्षार्थ परिचालन हुने साथै क्यूआरटी मा रहने प्रत्येक टोलीलाई सवारी साधन तथा संचार साधन सहित तैनाथ गर्ने, सडक सञ्जाल नभएको निर्वाचन क्षेत्रहरुको हकमा सम्बन्धित युनिटबाट माग भए पश्चात आवश्यकता अनुसार बैकल्पिक यातायातको साधन व्यवस्था गर्ने,
१६. आवश्यक वन्दोवस्तीका सामग्री तथा सवारी साधन सहित निर्वाचनको १ महिना अगाडी देखि निर्वाचन
क्षेत्र सुरक्षा वेश स्थापना गर्ने, स्ट्राइकिङ्ग तथा मोवाईल टोली निर्वाचनको १५ दिन अगाडी देखि आवश्यक वन्दोवस्तीका सामग्री तथा सवारी साधन सहित परिचालन गर्ने,
१७. माथि उल्लेखित नीति अनुरुप परिचालन गर्न भौगोलिक विकटता, बन्दोबस्ती, यातायात र ढुवानीको समस्याका साथै स्थानीय आवश्यकताको कारणले कठिनाई भएमा बाहिनी मुख्यालयहरुले प्रदेश सुरक्षा समन्वय समितिसँग आवश्यक समन्वय गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेलले योजना बनाई केन्द्रीय निर्वाचन सेलको स्वीकृतिमा फेरबदल गर्न सकिनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण