सालनालदेखि ब्रह्मनालसम्म : मानवचेतनाको विकासक्रम
सारांश
- लेखमा पूर्वीय दर्शन र पाश्चात्य मनोविज्ञानको सङ्गमलाई आधार बनाएर लोककल्याणकारी राज्यले नागरिकको जीवनमा कसरी अभिभावकीय भूमिका खेल्नुपर्छ भन्नेबारे चर्चा गरिएको छ।
- लेखमा मानव जीवनलाई विभिन्न चरणमा विभाजन गर्दै राज्यले नागरिकको जीवनचक्रमा खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारिएको छ, जसमा बाल्यकालदेखि वृद्धावस्थासम्मको कुरा समेटिएको छ।
- लेखमा लोककल्याणकारी राज्यले नागरिकलाई जन्मदेखि मृत्युसम्म कसरी सहयोग गर्न सक्छ र यसले 'समृद्ध नेपाल, सुखी नेपाली' को नारालाई कसरी सार्थक बनाउँछ भन्नेबारेमा जोड दिइएको छ।
मानव जीवनलाई बुझ्ने सन्दर्भमा विश्वमा मुख्यतया दुईवटा दृष्टिकोणहरू प्रभावी देखिन्छन्– पूर्वको सनातन आध्यात्मिक दर्शन र पश्चिमको आधुनिक मनोविज्ञान। सतही रूपमा हेर्दा यी दुई परम्पराहरू अलग–अलग ध्रुवजस्तै लाग्न सक्छन्। तर, गहिराइमा पुगेर विश्लेषण गर्ने हो भने यी दुवैले एउटै शाश्वत सत्यलाई इङ्गित गरिरहेका छन्: ‘मानिस जन्मँदै पूर्ण हुँदैन; जीवन एक क्रमिक विकास यात्रा हो।’
जीवनका आवश्यकताहरू एकैपटक पूरा हुँदैनन्, न त चेतनाको स्तर नै एकैचोटि शिखरमा पुग्छ। जीवन त सिँढीजस्तै चरणबद्ध रूपमा उकालो लाग्छ, जहाँ आवश्यकताहरू तल्लो तहबाट माथिल्लो तहसम्म उक्लँदै जान्छन्। यही जीवन–यात्राको समष्टिगत रूपलाई नेपाली मौलिक दर्शनमा ‘सालनालदेखि ब्रह्मनालसम्म’ को यात्रा भन्न सकिन्छ।
सालनाल आमाको गर्भबाट बाहिर निस्कँदा काटिन्छ, तर मानव–विकासको अदृश्य सालनाल जीवनपर्यन्त समाज र राज्यसँग जोडिरहन्छ। पाश्चात्य मनोवैज्ञानिक अब्राहम मास्लोले मानिसका आवश्यकतालाई पाँच तहमा विभाजन गरेर जुन कुरा बुझाए, त्योभन्दा हजारौं वर्षअघि पूर्वीय ऋषि–महर्षिहरूले जीवनलाई चार आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास) मा बाँडेर जीवनको वैज्ञानिक र व्यवहारिक नक्सा कोरेका थिए।
फरक केवल भाषा र प्रस्तुतिको मात्र हो; उद्देश्य एउटै छ— मानिसलाई जैविक प्राणीबाट पूर्ण चेतनशील र उत्तरदायी ‘मानव’ मा रूपान्तरण गर्नु।प्रस्तुत लेखमा पूर्वीय दर्शन र पश्चिमी मनोविज्ञानको यही सङ्गमलाई आधार मानेर ‘लोककल्याणकारी राज्य’ ले नागरिकको जीवनका हरेक मोडमा—जन्मको पहिलो श्वासदेखि मृत्युको अन्तिम विश्रामसम्मकसरी अभिभावकीय भूमिका खेल्नुपर्छ भन्ने पर्गेल्ने प्रयास गरिएको छ ।
जीवनको सुरुवात सालनालबाट हुन्छ। यो केवल आमा र शिशुलाई जोड्ने मासुको त्यान्द्रो मात्र होइन; यो अस्तित्वको निरन्तरता र सुरक्षाको पहिलो प्रत्याभूति हो। वैदिक दृष्टिमा सालनाललाई जीवनको ‘दैवी–सेतु’ मानिन्छ, जसले नयाँ चेतनालाई पृथ्वीमा अवतरण गराउँछ।
मास्लोको पिरामिडको सबैभन्दा तल्लो तह ‘शारीरिक र सुरक्षा आवश्यकता’सँग यो चरण ठ्याक्कै मेल खान्छ। एउटा नवजात शिशुलाई सबैभन्दा पहिले भोक, निद्रा, न्यानोपन र अभय (डररहित अवस्था) चाहिन्छ। विज्ञानले पनि पुष्टि गरेको छ कि मानिसको मस्तिष्कको ८० प्रतिशत विकास जीवनको सुरुवाती चरणमै हुन्छ।
- कल्याणकारी राज्यको दायित्व
लोककल्याणकारी राज्यको पहिचान ठुला भवन वा फराकिला सडकभन्दा पहिले उसका नवजात शिशुहरूको स्वास्थ्य अवस्थाबाट हुन्छ।सुनौलो एक हजार दिन, गर्भधारणदेखि बच्चा दुई वर्ष पुग्दासम्मको अवधिलाई राज्यले ‘लगानीको स्वर्ण समय’ मान्नुपर्छ। यदि यो चरणमा बच्चाले पर्याप्त पोषण पाएन भने, उसको बौद्धिक क्षमता र शारीरिक विकास सधैँका लागि कुण्ठित हुन्छ।
कुपोषित बालबालिका हुनु भनेको भविष्यको राष्ट्रिय उत्पादकत्व कमजोर हुनु हो।सुरक्षित प्रसूति सेवा, सुत्केरी पोषण भत्ता र खोप कार्यक्रमहरू राज्यले दिने ‘दान’ होइनन्, यी त भविष्यका सबल नागरिक उत्पादन गर्ने ‘लगानी’ हुन्। त्यसैले राज्यले बाल–स्याहार केन्द्रहरूको गुणस्तरमा ध्यान दिनु आवश्यक छ,जहाँ पोषणसँगै प्रारम्भिक सिकाइको वातावरण मिलोस्।
सालनाल काटिएपछि राज्यले दिने सुरक्षाको अदृश्य सालनाल जोडिन्छ। जबसम्म राज्यले बालबालिकाको भोक र सुरक्षाको जिम्मा लिँदैन, तबसम्म माथिल्लो तहको चेतना वा राष्ट्रियताको आशा गर्नु व्यर्थ हुन्छ।
- बाल–गुरुकुल
बाल्यकालको दोस्रो चरणमा बालक परिवारको साँघुरो घेराबाट निस्केर ‘गुरुकुल’ मा प्रवेश गर्छ। सनातन परम्परामा गुरुकुल केवल अक्षर चिनाउने ठाउँ थिएन, यो त ‘जीवन जिउने कला’ सिकाउने प्रयोगशाला थियो।पश्चिमी मनोविज्ञानमा यो चरण मास्लोको ‘सम्बन्ध र सम्मानको आवश्यकता’ सँग जोडिन्छ। बच्चाले अब ‘म को हुँ?’, ‘मेरो समूह कुन हो?’ र ‘म के बन्न सक्छु?’ भन्ने प्रश्नहरूको उत्तर खोज्न थाल्छ। अनुशासन, मित्रता, र सामाजिकीकरणको पाठ यहीँबाट सुरु हुन्छ।
त्यसैले आजको राज्यले परम्परागत गुरुकुलको मूल्यमान्यता र आधुनिक शिक्षाको प्रविधिलाई जोड्ने नीति लिनुपर्छ।गरिब र धनीका छोराछोरीले पढ्ने विद्यालयको गुणस्तरमा आकाश–पातालको फरक हुनुहुँदैन। लोककल्याणकारी राज्यमा शिक्षा व्यापार होइन, नैसर्गिक अधिकार हो।जीवन–मूल्य: विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँगै नैतिक शिक्षा र जीवन उपयोगी सीपको समायोजन हुनुपर्छ।
अङ्क ल्याउने मेसिन मात्र उत्पादन गर्ने शिक्षाले समाजमा पछि गएर भ्रष्टाचार र अनैतिकता बढाउँछ। त्यसैले आधुनिक युगमा राज्यले ‘डिजिटल डिभाइड’ कम गर्दै प्रविधिको पहुँच सबैमा पुर्याउनुपर्छ।यदि राज्यले यो चरणमा सही लगानी गर्यो भने मात्र २० वर्षपछि देशले अनुशासित, सिर्जनशील र जिम्मेवार युवा शक्ति प्राप्त गर्छ। नत्र, दिशाहीन र कुण्ठित युवा जमातले समाजको स्थिरता नै खलबल्याउन सक्छ।
- गृहस्थ
सनातन दर्शनले गृहस्थ आश्रमलाई सबैभन्दा महत्त्वपूर्ण र ज्येष्ठ आश्रम मानेको छ। किनभने, ब्रह्मचारी, वानप्रस्थी र सन्न्यासी—यी तीनै वर्गको पालनपोषण गृहस्थकै काँधमा हुन्छ। यो चरण जीवनको मध्यभाग हो, जहाँ व्यक्तिले विवाह गर्छ, सन्तान जन्माउँछ, धन आर्जन गर्छ र समाजको आर्थिक चक्रलाई चलायमान बनाउँछ।
मास्लोको सिद्धान्तमा यो चरण ‘सम्मान र आत्म–सम्मान’ को परिपूर्ति गर्ने समय हो। आफ्नो पेसा, व्यवसाय र कर्मद्वारा समाजमा स्थापित हुने र अर्कालाई योगदान दिने चाहना यहाँ प्रबल हुन्छ।गृहस्थ चरणमा राज्यले नागरिकलाई पाल्ने होइन, उनीहरूलाई आफैँ गरी खान सक्ने वातावरण दिने हो।राज्यले रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ। युवाहरू रोजगारी नपाएर विदेश पलायन हुनु भनेको गृहस्थ आश्रमको विफलता हो, जुन अन्ततः राज्यकै विफलता हो।
एकजना गृहस्थले कमाएको धनको सुरक्षा र त्यसको उचित प्रतिफलको ग्यारेन्टी राज्यले गर्नुपर्छ। कर प्रणाली शोषणकारी नभई प्रोत्साहनकारी हुनुपर्छ।काम गर्ने उमेरमा कर तिर्ने नागरिकले बिरामी पर्दा वा सङ्कटमा पर्दा राज्य मेरो साथमा छ भन्ने महसुस गर्नुपर्छ। स्वास्थ्य बीमा र बेरोजगारी भत्ताजस्ता कार्यक्रमहरू यसका उदाहरण हुन्।जब गृहस्थ बलियो हुन्छ, तब मात्र देशको अर्थतन्त्र बलियो हुन्छ। तसर्थ, राज्यले गृहस्थलाई दुहुनो गाई मात्र नठानी उसलाई अर्थतन्त्रको इन्जिन मानेर सम्मान गर्नुपर्छ।
- वानप्रस्थ
जीवनको उत्तरार्धतिर लाग्दा मानिस वानप्रस्थमा प्रवेश गर्छ। शाब्दिक अर्थमा वनतिर प्रस्थान भए पनि, यसको दार्शनिक अर्थ मोहबाट मुक्त भएर समाजलाई ज्ञान बाँड्ने अवस्था हो । यो अवकाशको समय होइन, यो त पुनर्नियुक्तिको समय हो—तर फरक भूमिकामा।मास्लोको आत्म–साकारर पछिल्लो समय थपिएको आत्म–अतिक्रमणको चरण यही हो। यहाँ व्यक्तिले आफ्ना लागि होइन, भावी पुस्ता र समाजका लागि सोच्न थाल्छ।
विडम्बना, आधुनिक राज्यहरूले वृद्धवृद्धालाई बोझका रूपमा हेर्ने गल्ती गरिरहेका छन्। तर, लोककल्याणकारी राज्यले उनीहरूलाई ज्ञानको पुस्तकालय मान्नुपर्छ।जीवनभर प्रशासन, शिक्षा, कृषि वा अन्य क्षेत्रमा काम गरेर खारिएका अनुभवी नागरिकहरूलाई राज्यले ‘थिंक ट्याङ्क’ र सल्लाहकार समितिहरूमा प्रयोग गर्नुपर्छ। उनीहरूको दूरदृष्टिले राज्यलाई भड्किन दिँदैन।
विद्यालय र विश्वविद्यालयहरूमा पाका नागरिकसँग संवाद कार्यक्रम राखेर नयाँ पुस्तालाई इतिहास र अनुभव हस्तान्तरण गर्ने संयन्त्र बनाउन सकिन्छ।स्थानीय तहमा न्याय सम्पादन, मेलमिलाप र सामाजिक सुधारका काममा वानप्रस्थीहरूको परिपक्वता अचुक औषधि हुन सक्छ।कुनै पनि राष्ट्रले आफ्ना वरिष्ठ नागरिकको अनुभव गुमाउनु भनेको आफ्नै इतिहास र विवेक गुमाउनु सरह हो। तसर्थ, राज्यले यो अमूल्य मानवीय पुँजीलाई खेर जान दिनुहुँदैन।
- सन्न्यास र ब्रह्मनाल
जीवनको अन्तिम चरणसन्न्यास हो, जसको अन्त्य ब्रह्मनाल (मृत्युशय्या) मा पुगेर हुन्छ। पशुपतिनाथको मन्दिर परिसरमा रहेको ब्रह्मनालले जीवनको अन्तिम सत्य—मृत्युलाई इङ्गित गर्छ। यो चरणमा मानिस भौतिक जगतबाट विरक्त भई आध्यात्मिक शान्ति र अस्तित्वको अर्थ खोज्न थाल्छ।विज्ञानले पनि देखाएको कुरा यही हो । जीवनको अन्तिम समयमा मानिसको मस्तिष्कमा अर्थ खोज्ने प्रक्रिया तीव्र हुन्छ। यो भयको समय होइन, यो त उत्सव र विसर्जनको समय हो।
एक संवेदनशील राज्यले नागरिकको बाँच्ने अधिकार मात्र होइन, सम्मानपूर्वक मर्न पाउने अधिकारको पनि संरक्षण गर्नुपर्छ।देवघाट, काशी, लुम्बिनीजस्ता पवित्र तीर्थस्थलहरूलाई केवल पर्यटकीय गन्तव्य होइन, राष्ट्रिय शान्ति तथा ध्यान केन्द्रका रूपमा विकास गरिनुपर्छ। जहाँ वृद्ध नागरिकहरूले अन्तिम समय शान्तिपूर्ण, सुविधायुक्त र आध्यात्मिक वातावरणमा बिताउन सकुन्।
अन्तिम अवस्थाका बिरामीहरूका लागि पीडारहित र प्रेमपूर्ण स्याहारको व्यवस्था गर्नु राज्यको दायित्व हो। अस्पतालहरूमा र घर–घरमा ‘हस्पिस केयर’ को अवधारणालाई राज्यले नीतिगत रूपमै लागू गर्नुपर्छ।मानिसको अन्तिम संस्कार (दाहसंस्कार/समाधि) को व्यवस्थापन राज्यको सभ्यताको परिचय हो। घाटहरूको आधुनिकीकरण, सरसफाइ र सहजतामा राज्यले ध्यान दिनुपर्छ। जापानी संस्कृतिमा मृत्युलाई ‘नयाँ अध्याय’ मानेजस्तै, हामीले पनि मृत्युलाई भय होइन, ब्रह्मनालको विश्रामका रूपमा स्विकार्ने सामाजिक मनोविज्ञान तयार पार्नुपर्छ।
जसरी राज्यले जन्मँदा सालनाल काट्न अस्पताल दिन्छ, त्यसरी नै मर्दा ब्रह्मनालमा खुट्टा राख्न शान्त वातावरण दिनु पनि राज्यकै कर्तव्य हो।सालनालदेखि ब्रह्मनालसम्मको यो यात्रा केवल एक व्यक्तिको जैविक आयुको कथा होइन; यो चेतनाको निरन्तर विस्तारको महागाथा हो। पूर्वीय दर्शनको आश्रम व्यवस्था र पश्चिमी मास्लोको पिरामिडले अन्ततः एउटै निष्कर्ष दिन्छन्— मानिसलाई पूर्ण बन्नका लागि भौतिक सुरक्षादेखि आध्यात्मिक स्वतन्त्रतासम्मको अनुकूल वातावरण चाहिन्छ।
एक सच्चा लोककल्याणकारी राज्य त्यो हो, जसलेबाल्यकालमा आमा बनेर पोषण र सुरक्षा दिन्छ। किशोर अवस्थामा गुरु बनेर ज्ञान र संस्कार सिकाउँछ।युवा अवस्थामा साथी बनेर अवसर दिन्छ।प्रौढ अवस्थामा शिष्य बनेर अनुभव ग्रहण गर्छ।वृद्धावस्थामा सेवक बनेर स्याहार र सम्मान गर्छ।
जब राज्यले नागरिकको जीवनचक्रका यी पाँचै चरणमा आफ्नो भूमिकालाई न्यायपूर्ण ढङ्गले निर्वाह गर्छ, तब मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराले सार्थकता पाउँछ। सालनालको सम्बन्ध रगतको हुन्छ भने ब्रह्मनालको सम्बन्ध आत्माको हुन्छ। यी दुई बिन्दुको बिचमा राज्यले जति बलियो, उत्तरदायी र मानवीय पुल निर्माण गर्न सक्छ, त्यति नै त्यो राष्ट्र सभ्य, विकसित र अमर रहन्छ।
अन्त्यमा, जीवनको यो वक्ररेखालाई बुझेर नीति निर्माण गर्नु नै आजको राजनीतिको मुख्य कार्यभार हो ।
(प्रधान रास्वपाका कोसी प्रदेश विकास योजना तथा नीति तर्जुमा विभागका उपप्रमुख हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण