बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संगीत

नेपाली गीतमा बाँसुरीको धुन भर्दै जर्मन नागरिक

‘फूलको थुँगा बगेर गयो’देखि ‘कुन मन्दिरमा जान्छौ यात्री’सम्म
आइतबार, २८ मङ्सिर २०८२, १० : ३६
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • जर्मनीमा बस्ने स्टेफनी बोशले नेपाली गीतमा बाँसुरी बजाउँछिन्, उनले नेपाल नदेखे पनि नेपाली संगीतप्रति ठूलो माया देखाएकी छिन्।
  • उनले 'फूलको थुँगा बगेर गयो' र 'कुन मन्दिरमा जान्छौ यात्री' जस्ता नेपाली गीतमा धुन भरेकी छिन्, र उनलाई अरू गीतमा पनि काम गर्ने इच्छा छ।
  • बोशले विभिन्न अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रममा प्रस्तुति दिएकी छिन् र उनी शास्त्रीय संगीत र पूर्वीय भजनमा पनि सक्रिय छिन्।

जर्मनी । उनले नेपाल देखेकी छैनन्, नेपाली भाषा जानेकी छैनन्, नेपाली गीत सिकेकी छैनन्, तर पनि यति मिठो धुनमा नेपाली शैलीमै बाँसुरी बजाउँछिन्– फूलको थुँगा बगेर गयो गंगाको पानीमा ।

यो कसरी सम्भव छ ? न भाषा जानेको छ, न त्यो देश देखेको छ, तर यो सबै सम्भव रैछ संगीतको भाषामा । संगीतलाई न भाषाले रोक्छ, न देशले रोक्छ, न धर्मले रोक्छ, न संस्कृतिले रोक्छ र न वर्णले रोक्छ ।

जर्मनीमा जन्मिएकी जर्मन नागरिक स्टेफनी बोशले ६ वर्षकै उमेरबाट बाँसुरी बजाउन थालेकी हुन् । उनी पूर्वीय र शास्त्रीय संगीतमा गहिरो रुची राख्छिन् । उनले दर्जनौँ भारतीय शास्त्रीय संगीत, भजन र रागमा बाँसुरीको धुन भरेकी छन् भने दुई वटा नेपाली गीतमा पनि मिठो धुन भरेकी छन् । ६ वर्षअघि ‘फूलको थुँगा बगेर गयो गंगाको पानीमा’ गीतमा बाँसुरीको धुन भरेकी उनले त्यसपछि ‘कुन मन्दिरमा जान्छौ यात्री’मा पनि धुन भरेकी हुन् । उनलाई अरू नेपाली गीतमा पनि धुन भर्ने धोको छ । क्रमशः यो कामलाई जारी राख्ने उनले बताइन् ।

नेपाल नपुगे पनि नेपाली र नेपाललाई औधी माया गर्ने बोशले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘कुनै दिन कुनै राम्रो संस्थाले मलाई बुद्धको जन्मस्थल पवित्र भूमि नेपाल पु‍¥याइदेओस् ।’

उनलाई नेपालका बारेमा बुद्धको जन्मभूमि र सगरमाथाका बारेमा मात्र होइन, सुन्दर प्रकृतिका बारेमा पनि राम्रोसँग थाहा छ । त्यसैले उनलाई नेपाल गइहालौँजस्तो लाग्छ, तर अहिलेसम्म यो अवसर जुर्न सकेको छैन । अब चाँडै यस्तो अवसर जुर्नेमा उनी आशावादी छिन् ।

जर्मनीमा पढ्न आएका नेपाली विद्यार्थी जनक श्रेष्ठलाई भेटेपछि नेपाली गीतमा धुन भर्न सहज भएको हो । श्रेष्ठले बोशलाई गितारमा साथ पनि दिएका छन् । कतिपयले त यी धुन उनले भरेकी हुन् भनेर पनि विश्वास गर्दैनन् । ‘यो नक्कली भिडियो होला, पश्चिमा संगीतज्ञले कसरी यति मिठो धुन भर्न सक्छ भनेर पनि मान्छेहरूले भन्छन्,’ बोशले भनिन्, ‘विश्वास नगर्ने कतिपयलाई त लाइभ बाँसुरी बजाएर पनि सुनाइदिन्छु ।’

उनले अन्य गीतमा भन्दा तुलनात्मक रूपमा छोटो समय अभ्यास गरेर ‘फूलको थुँगा बगेर गयो’ भन्ने धुन रेकर्ड गरेको बताइन् । पंक्तिकारलाई भेट्नुअघि उनलाई गायिका तारादेवीका बारेमा थाहा भए पनि गीतकारको नाम थाहा थिएन । पंक्तिकारले जानकारी गराएपछि अहिले उनले भिडियोमा गीतकार माधवप्रसाद घिमिरे, संगीतकार नातिकाजीलगायत सबैको नाम उल्लेख गरेकी छन् ।

बोशको युट्युब च्यानलमा विभिन्न गीतमा बाँसुरीको धुन भरेका ८१ वटा भिडियो छन् । उनका भिडियोहरूमा धेरै नेपालीले सकारात्मक कमेन्ट गरेका छन् । यस्तै माया सधैँभरि गरिरहन उनले नेपाली दर्शकलाई आग्रह गरेकी छन् ।

26cb3db8-b628-4b52-aa7f-5d57f5e13aaa

जर्मनीको कोलोनस्थित संगीत स्कुलमा म्यानफ्रेडो जिमरमानसँग रेकर्डर तथा ट्रान्सभर्स फ्लुट अध्ययन सुरु गरेकी उनले १९९५ मा संगीत शिक्षणमा स्नातक हासिल गरिन् । त्यसपछि उनले नेदरल्याण्ड्सको रोट्टरडाम्स कन्जर्भेटरीमा प्राध्यापक हान टोल र थेरा डे क्लेर्कको मार्गदर्शनमा अध्ययन गरी सन् २००० मा ब्याचलर र २००२ मा मास्टर अफ परफर्मिङ आट्र्स उत्तीर्ण गरिन् ।

प्राचीन संगीतका ख्यातिप्राप्त गुरुहरू म्यारेन भेरब्रुगेन, हान टोल, एम्स्टर्डाम लोकी स्टारडस्ट क्वार्टेट, जोन हल्लोवेलगायतसँग उनले नियमित प्रशिक्षण लिएर आफ्नो कलालाई अझ निखारेकी हुन् । विशेषगरी बार्थोल्ड कुइजेनसँगको प्रशिक्षणले आफूमा ठुलो प्रेरणा जगाएको उनले रातोपाटीलाई बताइन् ।

बोशले बारोक चेम्बर म्युजिक एन्सेम्बल ‘ला गियोया कोलन’ स्थापना गरेकी छन् । उनी टेलिम्यानिशे कलेजियम माइकलस्टाइन, कलेजियम कार्टुसियानम र ल आर्टे डेल मोन्डो जस्ता विभिन्न अर्केस्ट्राहरूसँग बाँसुरी बजाउँछिन् । उनले बाँसुरीमात्र बजाउने होइन, फुकेर बजाइने प्रायः सबै बाजा र पियानो पनि उत्तिकै राम्रो बजाउँछिन् । अरु पनि सबैजसो बाजाका बारेमा उनलाई राम्रो ज्ञान छ ।

एकपटक संजोगले उत्तर भारतीय बाँसुरीका बारेमा थाहा पाएपछि बोशको संगीत जीवनले महत्त्वपूर्ण मोड लियो । बाँसुरीका विश्वविख्यात गुरु पण्डित हरिप्रसाद चौरसियाको शिष्य बनेपछि उनले भारतीय शास्त्रीय संगीतको गहिरो अध्ययन गरिन् । यस विषयमा उनले भारतको मुम्बई र नेदरल्यान्ड्सको रोट्टरडाम्समा अध्ययन गर्ने अवसर पाइन् ।

गुरु चौरसियाका साथ उनले युरोप र इजरायलको जेरुसेलम फेस्टिभल अफ म्युजिकमा समेत प्रस्तुति दिएकी छन् । सोलो बाँसुरी बाधकका रुपमा उनले जर्मनीका विभिन्न सहर, नेदरल्याण्ड्स, भारत, श्रीलंका र पाकिस्तानमा समेत प्रस्तुति दिएकी छन् ।

41c64fea-ce96-4ebe-b0c4-91dd402a9850

बोशले लामो समयसम्म कथ्थक नृत्यांगना दुर्गा आर्यासँग सहकार्य गर्दै गोथे इन्टिच्युट म्युनिख, टान्चहाउस एनआरडब्लु, स्टेट म्युजियम बर्लिनलगायत प्रतिष्ठित संस्थानमा संयुक्त प्रस्तुति दिएकी छन् ।

सन् २००५ मेमा नेदरल्याण्ड्स दूतावासले पाकिस्तानमा अन्तरसांस्कृतिक संवाद र शान्ति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको संगीत यात्राका लागि उनलाई विशेषरूपमा आमन्त्रण गरेको थियो । त्यस्तै २००६ जनवरीमा भारतको भोपालमा गुन्देचा ब्रदर्सद्वारा आयोजित ‘प्रतिश्रुति’ महोत्सवमा पनि उनी सहभागी भइन्् । सन २००७ मा जर्मनीको क्लाङ्कोस्मोस वेल्टम्युजिक कार्यक्रममा १६ वटा कन्सर्ट पूरा गरेपछि डब्लुडीआर रेडियोले उनको विशेष प्रसारण रेकर्ड गरेको थियो ।

सोही वर्ष उनले भारतीय शास्त्रीय संगीतको बाँसुरी विषयमा ‘मास्टर्स अफ परफर्मिङ आट्र्स’ अन्तर्गत ‘सुम्मा कम लाउड’मा स्नातकोत्तर गरिन् । केही महिनापछि उनले असाधारण कलात्मक गुणहरूका लागि छात्रवृत्ति पनि प्राप्त गरिन् । उनी जर्मन, अंग्रेजी, फ्रेन्च र अलिअलि इटालियन भाषा बोल्छिन् । अब नेपाली र हिन्दी पनि सिक्ने रहर रहेको उनले बताइन् ।

9d018bfa-63b0-47ea-8844-8a5410b21978 (1)

बोशले आफ्ना संगीतका विद्यार्थीलाई भारतीय शास्त्रीय संगीतका साथै भजन सिकाउँछिन् । उनका विद्यार्थी अन्तर्राष्ट्रिय र बहुभाषिक तथा बहुसांस्कृतिक छन् । आफ्ना विद्यार्थीले पश्चिमा संगीतभन्दा पूर्वीय भजन बढी मन पराएको पनि उनले सुनाइन् ।

आफ्नो संगीत यात्रालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्दै बोश विश्व संगीत क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएकी छन् । उनी अहिले विश्व संगीत क्षेत्रमा पश्चिमी बारोक परम्परा र पूर्वीय शास्त्रीय संगीत दुवैलाई उस्तै सहजताका साथ प्रस्तुत गर्न सक्ने विशेष कलाकारका रूपमा चिनिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुबल सापकोटा
टुबल सापकोटा
लेखकबाट थप