बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी स्टाफ कलेजको प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण

आइतबार, २८ मङ्सिर २०८२, १६ : ०१
आइतबार, २८ मङ्सिर २०८२

काठमाडौँ । प्रहरी स्टाफ कलेजको इन्ट्रान्स (प्रवेश) परीक्षामा १६ जना डीएसपी उत्तीर्ण भएका छन् । प्रहरी प्रधान कार्यालयले गत वर्षदेखि स्टाफ कलेज लागू गरेको थियो । अहिले उत्तीर्ण भएकाहरूले २०८३ मा एमपिएस (मास्टर इन पुलिस साइन्स) कोर्स गर्नेछन् । सो कोर्स १६ महिनामा पूरा गर्नुपर्छ ।

एमपिएसको प्रवेश परीक्षा उत्तीर्ण हुने डीएसपीहरुमा विकास बम, हरि प्रसाद पौडेल, प्रविण कार्की, नवराज ढुङ्गेल, केशवराज ज्ञवाली, गणेशचन्द्र कोइराला, राजेशराज पुरी, कमल राज पण्डित, राज कुमार राई, रमेश कुमार श्रेष्ठ, खगेन्द्र धमला, पुष्कर बोगटी, सुधीर राई, वसन्त पाण्डे, इन्द्रजित इटनी र निरञ्जन भट्टराई छन् ।

स्टाफ कलेजको प्रवेश परीक्षामा १ सय ३० जना डीएसपीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रहरी स्टाफ कलेज अन्तर्गत पहिलो शैक्षिक सत्र अन्तर्गत अहिले १७ जना प्रहरी अधिकृतहरू एमपिएस (मास्टर इन पुलिस साइन्स) कोर्स गरिरहेका छन् ।

मास्टर इन पुलिस साइन्स २०७० मा भर्ना भएका इन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट लागु गरिएको छ ।

एमपिएसको दोस्रो शैक्षिक सत्रको लागि मंसिर २१ देखी भएको प्रवेश परीक्षा  निर्धारित समयभन्दा अघि नै लिइएको भनेर अधिकृतहरू असन्तुष्ट बनेका छन् ।

चैतमा प्रवेश परीक्षा लिनुपर्नेमा शैक्षिक सत्र सुरु भएको ७औँ महिनामा नै प्रवेश परीक्षा लिन लागिएको भनेर अधिकृतहरू असन्तुष्ट बनेका हुन् । डीएसपीहरुले आईजीपी दान बहादुर कार्कीलाई भेटेर त्यसबारे असन्तुष्टि राखेका थिए ।

गत वर्ष राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले चैतमा प्रवेश परीक्षा लिएको थियो । नियमित कक्षा जेठमा सुरु हुन्छ । गत वर्ष पनि तयारीको लागी पर्याप्त समय नपाउँदा १७ जना मात्रै एमपिएसको प्रवेश परीक्षा उत्तीर्ण भएका थिए ।

प्रहरी प्रधान कार्यालयले स्वीकृत गरेको पाठ्यक्रम अनुसार एमपिएसमा एउटा ब्याचमा  ३५ जना अधिकृतहरू हुनुपर्छ तर, यसपटक पनि थोरै अधिकृतहरू मात्र उत्तीर्ण भएका छन् ।

स्टाफ कलेजका लागी वार्षिक करिब ६ करोड खर्च हुने अनुमान गरिएको छ । पुरै बजेट नछुट्याइएको हुनाले अर्थ मन्त्रालयसँग थप बजेट निकाशा माग्नुपर्ने अवस्था रहेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप