कैलालीका स्थानीय तहमा बेरुजुको चाङ
सारांश
- सुदूरपश्चिमका स्थानीय तहहरूमा बेरुजुको आकार बढ्दै गएको छ, जसले वित्तीय अनुशासनमा प्रश्न उठाएको छ।
- कैलाली जिल्लाका पालिकाहरूमध्ये गोदावरी र घोडाघोडी नगरपालिका बेरुजु फर्छ्यौटमा कमजोर देखिएका छन्।
- महालेखा परीक्षकको प्रतिवेदन अनुसार, कैलालीका स्थानीय तहमा ४ अर्बभन्दा बढी बेरुजु रहेको छ।
धनगढी । सुदूरपश्चिमका स्थानीय तहहरूमा बेरुजुको आकार निरन्तर बढिरहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८२ सालको प्रतिवेदन अनुसार कैलाली जिल्लाका पालिकाहरूमा बेरुजुको आकार घट्नुको साटो बर्सेनि बढ्दै गएको छ ।
कैलालीको गोदावरी नगरपालिका वित्तीय अनुशासन कायम गर्नमा सबैभन्दा कमजोर देखिएको छ । नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा पुरानो बेरुजुमध्ये एक रुपैयाँ पनि फर्छ्यौट गर्न सकेको छैन ।
महालेखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गोदावरी नगरपालिकाको कुल बेरुजु ४३ करोड ८६ लाख ३१ हजार रुपैयाँ थियो । नियम अनुसार यो रकम घटाउँदै लैजानुपर्नेमा नगरपालिकाले त्यसयताका वर्षहरूमा बेरुजु घटाउन कुनै पहल गरेको छैन ।
आर्थिक वर्ष २०७९/०८० मा पुरानो हिसाब मिलान हुन नसक्दा ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ थपियो । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा पनि पुरानो बेरुजु जस्ताको तस्तै रह्यो भने नयाँ ५ करोड ८ लाख ७३ हजार ६१५ रुपैयाँ थपिन पुग्यो । यसरी लगातार थपिँदै जाँदा हाल गोदावरी नगरपालिकाको कुल बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५ रुपैयाँ पुगेको छ । नगरपालिकाले प्रारम्भिक प्रतिक्रियाबाट सल्टिने सामान्य हिसाब मिलाएपनि अध्यावधिक बेरुजु फर्छ्यौटमा चरम उदासीनता देखाएको प्रतिवेदनले औँल्याएको छ ।
घोडाघोडीको अवस्था पनि उस्तै
बेरुजु फर्छ्यौटमा गोदावरीजस्तै कमजोर अवस्था घोडाघोडी नगरपालिकाको पनि देखिएको छ । घोडाघोडीको कुल बेरुजु ५२ करोड ७१ लाख ७० हजार नाघेको छ ।
घोडाघोडीले आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा बेरुजु फर्छ्यौट शून्यमा झारेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा भने नाम मात्रको ६२ हजार १६५ रुपैयाँ फर्छ्यौट गरेको देखिन्छ । तर सोही वर्ष ३ करोड १७ लाखभन्दा बढी नयाँ बेरुजु थपिएपछि कुल अंकमा कमी आउन सकेन ।
जिल्लाभर ४ अर्बभन्दा बढीको हिसाब मिलान बाँकी
महालेखा परीक्षकको प्रतिवेदन–२०८२ ले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ बेरुजु थपिएको देखाएको छ । जसमा कैलालीका १३ स्थानीय तहको हिस्सा ठुलो छ ।
कैलाली जिल्लाका सबै पालिकाहरूको हालसम्मको कुल (अध्यावधिक) बेरुजु ४ अर्ब ११ करोड ७ लाख २६ हजार १९६ रुपैयाँ पुगेको छ ।
कुन पालिकाको बेरुजु कति ?
१. गोदावरी नगरपालिका : ५४ करोड ३७ लाख ८० हजार
२. घोडाघोडी नगरपालिका : ५२ करोड ७१ लाख ७० हजार
३. लम्कीचुहा नगरपालिका : ५२ करोड ६४ लाख २९ हजार
४. भजनी नगरपालिका : ३७ करोड ३९ लाख ६१ हजार
५. टीकापुर नगरपालिका : ३४ करोड ५१ लाख ५० हजार
६. गौरीगंगा नगरपालिका : ३३ करोड ३६ लाख ३ हजार
७. धनगढी उपमहानगरपालिका : ३० करोड ६८ लाख ५७ हजार
८. जानकी गाउँपालिका : २१ करोड ३० लाख ५५ हजार
९. बर्दगोरिया गाउँपालिका : १८ करोड ४२ लाख ५० हजार
१०. चुरे गाउँपालिका : १६ करोड ७१ लाख ४ हजार
११. जोशीपुर गाउँपालिका : १२ करोड ९७ लाख २३ हजार
गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै थपिएको नयाँ बेरुजु हेर्दा चुरे गाउँपालिकामा ७ करोड ६ लाख, लम्कीचुहामा ५ करोड ५७ लाख र भजनीमा ४ करोड ७४ लाख रुपैयाँ देखिएको छ । धनगढी उपमहानगरपालिकामा सोही वर्ष ४ करोड ७२ लाख र टीकापुरमा ४ करोड २९ लाख बेरुजु थपिएको छ ।
गाउँपालिकाहरूतर्फ गत वर्ष कैलारीमा ३ करोड ३८ लाख, जानकीमा १ करोड ५५ लाख, बर्दगोरियामा १ करोड ३६ लाख र जोशीपुरमा ९६ लाख रुपैयाँ बेरुजु थपिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
जनप्रतिनिधि र कर्मचारीहरूले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा नराख्दा स्थानीय सरकारको वित्तीय सुशासनमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण