बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खाद्यान्नको मूल्य सम्हालिँदा घट्दै मुद्रास्फीति, यस्तो छ समग्र अवस्था

सोमबार, २९ मङ्सिर २०८२, १५ : १२
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर १.११ प्रतिशत कायम छ।
  • खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको ३.६९ प्रतिशत छ।
  • प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी १.८० प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ०.२६ प्रतिशत मुद्रास्फीति रहेको छ।

काठमाडौं । देशको समग्र मूल्यवृद्धि दर अझै घटेको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकले यस्तो देखाएको हो । 

विवरण अनुसार कात्तिक महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर १.११ प्रतिशत कायम छ । असोजमा यो दर १.४७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको यही समयमा भने मूल्यवृद्धि दर ५.६० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो ।

उता चालु आर्थिक वर्षको चार महिनाको औसत मुदास्फीति १.५३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो ।

यो महिना खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । 

तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ ।

बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक ०.२३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिकविन्दुगत उपभोक्ता मूल्य सूचक १.२६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८० प्रतिशत, मधेस प्रदेशको १.७३ प्रतिशत, बागमती प्रदेशको ०.८१ प्रतिशत, गण्डकी प्रदेशको ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.२६ प्रतिशत छ । 

यो महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईको १.२४ प्रतिशत, पहाडको ०.८८ प्रतिशत र हिमालको १.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप