एमाले महाधिवेशन : मेयर मोहनमायाको नजर पोलिटब्युरोतिर
सुर्खेत । नेकपा एमालेको जारी ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ । नेतृत्व छान्ने महाधिवेशन भएकोले आम नेता कार्यकर्ता र जनताले यो महाधिवेशनलाई चासोपूर्वक हेरेका छन् ।
त्यसमा पनि विधान महाधिवेशनले ठुलो संख्यामा पद कटौती गरेपछि नेताहरूबिच पदाधिकारी र केन्द्रीय सदस्यमा पर्न दौडधुप तीव्र भएको छ ।
त्यसैले कोही दोहोरिन लागि परेका छन् । कोही नयाँ भित्रिन लागिपरेका छन् । यसै मध्येकी एक हुन् १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएकी मोहनमाया ढकाल । उनी कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख हुन् ।
केन्द्रीय सदस्यमा डेब्यू गर्दा उनी उपमेयर थिइन् । अनेरास्ववियुको राजनीतिबाट एमालेसँग नजिकिएकी उनले छोटो समयमा नै आफ्नो व्यक्तित्व र नेतृत्व विकासको अवसर पाइन् । त्यति मात्र होइन संसदीय मोर्चाको रूपमा रहेको स्थानीय सरकारको उपप्रमुख हुँदै प्रमुख भएर उत्कृष्ट कार्यसम्पादन गर्दै आएकी उनी पार्टी काममा पनि उत्तिकै सक्रिय छिन् ।
कुनै पनि जनप्रतिनिधि सफल हुनका लागि उसका राजनीतिक चेतना,पार्टीप्रतिको लगाव निरन्तरता,पार्टीको मूल एजेण्डा,नेतृत्वको लाइन जस्ता विषयहरूको आधारभूत जानकारी हुनुपर्दछ । ढकाल यस्ता विषयमा संवेदनशील छिन् ।
‘हामीलाई समाजमा चिनिन सक्ने पार्टीले नै बनाएको हो ’ ढकाल भन्छिन् ‘जनप्रतिनिधि पार्टीले नै बनायो । यो गरिमालाई बुझ्नका लागि पार्टीका आधारभूत मान्यता र सिद्धान्तको जानकार हुनुपर्दछ ।’
२०७७ पुस ५ को घटनापछि एमालेको केन्द्रीय राजनीतिमा पाइला राखेकी ढकाल यो महाधिवेशन मार्फत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा दाबी गर्दैछिन् ।
नेतृत्व विकासका लागि निरन्तरता आवश्यकता रहेको बताउने उनी पार्टीले आफ्नो कामको मूल्याङ्कन गर्ने कुरामा ढुक्क छिन् ।
त्यसमा पनि कर्णाली भूगोलबाट राजनीतिक आकाशमा उदाउँदै गरेकी उनी पार्टीले कर्णालीका जुनसुकै जिल्लाको जिम्मेवारी दिए पनि निर्वाह गर्न तयार रहेको बताउँछिन् ।
‘पार्टी र सामाजिक फोरममा महिलाका मुद्दा उठाउन,कर्णालीका मुद्दा उठाउन मेरो उम्मेदवारी जरुरी छ’ ढकालले भनिन् ‘अघिल्लो कार्यकालको अनुभवले मलाइ पार्टीले अङ्गालेका जनजीविकाका सवाल,राजनीतिक सामाजिक विषय आदिलाई नजिकबाट जान्ने मौका पाएकी छु । त्यो अनुभवलाई आगामी कार्यकालमा पूर्ण रूपमा कार्यान्वयन गर्नेछु ।’
पार्टीले सञ्चालन गरेका महाअभियानहरू मिसन ग्रास रुट,समृद्धिका लागि मध्यपहाडी यात्रा,वडा केन्द्रित अभियान आदिमा ढकालको भूमिका महत्त्वपूर्ण थियो ।
यस अवधिमा कहिले सुर्खेतको सह इन्चार्ज त कहिले क्षेत्र नं २ को इन्चार्जको भूमिकामा उनी रहिन् । ११औँ महाधिवेशनका प्रतिनिधि छनौट गर्ने विषयमा पनि अन्यतिर विवाद हुँदा उनको जिम्माको क्षेत्रमा निर्विरोध भयो । ‘म पार्टीको मूल लाइन बचाउँदै समन्वयकारी भूमिका निर्वाह गर्न सक्छु’ ढकाल भन्छिन् ‘कार्यकर्ताले खोजेको नेतृत्व पनि यस्तै हो ।’
गत भदौ २४ को विध्वंस र तोडफोडमा ढकालको घर पनि निशानामा पर्यो । उनलाई केपी ओलीको कार्यकर्ता र नगरप्रमुख भएकै आरोपमा अराजक समूहले घर जलाउने र सम्पत्ति लुट्ने काम गरे ।
जलेको नगर भवन सफा गरिन् । खरानी बढारिन् । उजाडिएका वडा कार्यालयहरुलाई तत्काल विकल्प दिएर जनताका काम गरिन् । अहिले डेरामा बसिरहेकी उनी भन्छिन् ‘राजनीतिमा यस्ता उतारचढाव आउँछन् । जान्छन् । तर आफ्नो मूल जिम्मेवारीबाट तलमाथि गर्न मिल्दैन ।’
केपी शर्मा ओलीको नेतृत्वमा नै पार्टी अघि बढ्नु पर्दछ भन्ने धारणा पार्टीका फोरममा राख्दै आएकी ढकाल आफ्नो उम्मेदवारीले ‘मेरो उम्मेदवारीले समग्र कर्णालीका महिलाको राजनीतिक वृत्ति विकासमा सहयोग पुग्छ’ उनी भन्छिन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनकाे पाेलिटब्युराेतिर नजर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण