बैंकका कर्मचारीमाथि मोसोः बैंकिङ क्षेत्रमा ‘काल पल्किने’ डर
सारांश
- सप्तरीको ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ।
- बैंक कर्मचारीमाथि कुटपिट र मोसो दल्ने कार्यमा सप्तकोशी नगरपालिकाकी उपमेयरको संलग्नता रहेको आरोप छ।
- घटनापछि बैंकका कर्मचारी संगठन र परिसंघले दोषीलाई कारबाहीको माग गरेका छन्, भने प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेको थियो।
काठमाडौं । ज्योति विकास बैंकको सप्तरीको रुपनी शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारको घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । बैंकले प्रवाह गरेको ऋण असुली गर्न जाँदा कर्मचारीमाथि दुर्व्यवहार गर्ने मात्रै नभएर यसको भिडियो बनाएर पोस्ट गरेको घटनाले यतिबेला वित्तीय क्षेत्र नै तरंगित बनेको हो ।
उक्त भिडियोमा सप्तरी कञ्चनपुरस्थित एउटा एग्रो फर्मका कर्मचारीले बैंकका प्रतिनिधिहरूलाई मोसो दलेको देखिन्छ । बैंकका कर्मचारीहरूले हात जोडिरहँदा एक महिलाले भने स्थानीय भाषामै गाली गर्दै बैंकका कर्मचारीमाथि कुटपिट गर्दै थिइन् ।
यो घटनाको सम्बन्धमा बैंककै कर्मचारी संगठन, वित्तीय संस्था कर्मचारी संघ (फियन) देखि बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) सम्मले घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यस्तो छ घटनाको विवरण
गत बुधबार (मंसिर २४ गते) ज्योति विकास बैंक प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठ सप्तरीकै कञ्चनपुरमा रहेको सप्तकोशी एग्रो फर्ममा गए । त्यो फर्म सप्तकोशी नगरपालिकाकी उपमेयर रीताकुमारी चौधरीसहितको स्वामित्वका रहेको फर्म भएको बताइएको छ ।
बैंकले दिएको ऋण समयमा नतिरेपछि बैंकले उक्त कम्पनीको धितोमा रहेको सम्पत्ति लिलामी प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयसम्म पनि ऋण असुल हुन सकेमा लिलामी प्रक्रिया रोक्न सक्ने उद्देश्यसहित उनीहरू त्यहाँ गएका थिए ।
तर त्यहाँ पुग्दा उनीहरूमाथि अप्रत्यासित घटना भयो । ऋणी र परिवारका सदस्य र अन्य केहीले उनीहरूमाथि घेरा हाले । सुरुमै उनीहरूमाथि हातपात गरे, मोसो दले । उक्त घटनामा उपमेयर चौधरीसमेत प्रत्यक्ष रूपमा संलग्न रहेको बैंकको दाबी छ ।
त्यतिमात्रै होइन, त्यही समूहका सदस्यले ‘भिडियो खिचेर भाइरल बनाउनुपर्छ’ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्टसमेत गरे । त्यसपछि मरणासन्न हुनेगरी कुटपिट गरेको बैंकले जनाएको छ ।
त्यसपछि उनीहरूलाई छाड्न एउटा सर्त राखियो, केन्द्रीय कार्यालयबाट लिलामीको सूचना स्थगनको पत्र पठाउनुपर्ने । सोही स्थगनको सूचना पठाउन केन्द्रीय कार्यालयसँग सम्पर्क गर्नुपर्ने भनेपछि मात्रै उनीहरूलाई आफ्नो मोबाइल दिइएको बैंकले जनाएको छ ।
कर्मचारीले सम्पर्क गरेपछि केन्द्रीय कार्यालयले बेलुकी साढे ५ बजे लिलामी स्थगनको पत्र पठायो । बैंकका एक उच्च कर्मचारी भन्छन्, ‘हामीले लिलामीको सूचना प्रक्रियागत रूपमा नै निकालेका थियौँ, तर जुन घटना भएको भन्ने थाहा भयो, ऋणभन्दा ठुलो कर्मचारीको जिउज्यान होइन भन्ने ठानेर स्थगनको पत्र पठाएका हौँ ।’
त्यतिबेलासम्म सप्तकोशी नगरपालिकाका मेयरसमेत त्यहाँ पुगेका थिए । उनले उपमेयरका परिवारलाई ‘नगर्नुपर्ने काम गरेको’ भन्दै यसलाई सामसुम पार्नुपर्ने बताएको पीडित कर्मचारीलाई उद्धृत गर्दै बैंकका एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए ।

त्यो भए के गर्ने त ? उनीहरूले स्थानीय भाषामै छलफल गरेपछि ‘केही पनि नभएको’ भन्ने कागज बनाउन लगाएर जबर्जस्ती हस्ताक्षर गर्न लगाएर मात्रै छाडेका थिए, यसो गर्दा झण्डै ६ बजिसकेको थियो ।
जाहेरीमा प्रहरीको आनाकानी, पाँचौँ दिन मात्रै दर्ता
कर्मचारी मुक्त भएको थाहा भएपछि बैंककै पहलमा बैंकले ऋणी र उनको परिवारमाथि प्रहरीकहाँ जाहेरी लिएर गयो । तर प्रहरीले जाहेरी लिन मानेन । बरु उनीहरूसँग मिलापत्र गर्न दबाब दिएको बैंक स्रोतले जनाएको छ ।
‘हामीले जाहेरी लिएर गएका थियौँ । भिडियो सामाजिक सञ्जालमा आइसकेको थियो, कर्मचारीले आफू कुटिएको भनेर किटानी गरेका थिए,’ बैंक स्रोत भन्छ, ‘तर उहाँहरूले जाहेरी लिनुभएन । उहाँहरूले समस्या बल्झाउन हुन्न, मिलापत्र गर्नुपर्छ भन्नुभयो । जाहेरी दर्ता गर्न नमानेपछि साथीहरू त्यत्तिकै फर्किनुभएको थियो ।’
तर जाहेरी दर्ता नगर्नुको कारणबारे प्रहरीको भने छुट्टै तर्क छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरी घटना र जाहेरीको प्रकृति नमिलेकोले उक्त घटनाको सम्बन्धमा त्यो दिन जाहेरी लिन नसकेको बताउँछन् ।
‘उहाँहरूले ज्यान मार्ने उद्योग र शरीर बन्धकको जाहेरी लिएर आउनुभयो । तर घटनाको प्रकृति र पीडितको अवस्था हेर्दा त्यो जाहेरी लिन नमिल्ने देखियो,’ उपरीक्षक पुरी भन्छन्, ‘ज्यान मार्ने उद्योग हुन शरीरमा चोटपटक हुृनुपर्छ, उहाँहरूको शरीरमा त्यस्तो चोटपटक थिएन । आन्तरिक रूपमा चोटपटक लागेको भए डाक्टरको रिपोर्ट ल्याउनुस्, होइन भने जाहेरी सच्याएर ल्याउनुस् भनेका हौँ ।’
उक्त घटनाबारे दबाब बढेपछि प्रहरीले सोमबार कार्यालय समयको अन्तिममा जाहेरी दर्ता गरेको छ । बैंकको केन्द्रीय कार्यालयबाट कानुनी सल्लाहकारको टोली पुगेपछि प्रहरीले बैंकको जाहेरी अन्तिम समयमा आधिकारिक रूपमा दर्ता गरेको थियो । जहाँ अपमानजनक व्यवहारको कसुरमा ६ जनाविरुद्ध जाहेरी परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बैंकको शाखा चार दिनदेखि बन्द
घटनाका कारण असुरक्षा बढेपछि बैंकको शाखा नै बन्द छ । बैंकका कर्मचारीहरू जाहेरी लिएर प्रहरीकहाँ गएको घटनापछि सोही समूहले बैंकको शाखा तोडफोड गर्ने चेतावनी दिएको थियो, सोही कारण असुरक्षा बढेपछि चार दिनदेखि शाखा बन्द रहेको बैंकले जनाएको छ ।
घटनाको चौतर्फी विरोध
घटना सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको छ । नेपाल वित्तीय संस्था परिसंघ (सीबीफिन) ले विज्ञप्ती जारी गर्दै स्थानीय तहका जिम्मेवार निकायका पदाधिकारीकै संलग्नतामा लज्जास्पद र घृणित घटना भएको र प्रहरीले समेत जाहेरी लिनुको सट्टा मिलापत्र गर्न दबाब दिएकोमा आपत्ति जनाएको छ ।
परिसंघले यो आक्रमण ती कर्मचारीमात्रै नभएर सम्पूर्ण बैंकिङ क्षेत्र र स्वयं सरकारमाथिकै आक्रमण भएको ठहर गरेको छ ।
त्यस्तै वित्तीय संस्था कर्मचारी संघ (फियन) ले विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि आक्रमण गर्ने र बैंकिङ सम्पत्तिमाथि क्षति पुर्याउनेगरी भएको यो घटनाका दोषीलाई कारबाहीको माग गरेको छ । साथै दोषीमाथि कारबाही नभए बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू काम छोडेर सडकमा आउन बाध्य हुने समेत फियनले चेतावनी दिएको छ ।
उक्त घटनाप्रति अन्य बैंक तथा वित्तीय संस्थाले समेत विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । एनआईसी एसिया बैंक कर्मचारी युनियनले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता घटना दोहोरिन नदिन शून्य सहनशीलताको नीति अख्तियार गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

‘काल पल्कने’ डर
यो घटनाले निष्क्रिय कर्जाको समस्याबाट गुज्रिरहेको समग्र बैंकिङ क्षेत्रको कर्जा असुलीमा थप समस्या आउन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
आर्थिक मन्दीका कारण यतिबेला धेरै ऋणीहरू कर्जा तिर्न समस्यामा छन् । तर यही बिचमा केही समूहले बैंकको ऋण तिर्न पर्दैन भन्दै अभियान चलाइरहेका छन् । यो अवस्थामा ऋण तिर्न सक्नेले पनि नतिरिरहेको अवस्था छ । कतै त संगठित रूपमै बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरेको घटनासमेत सार्वजनिक भएका थिए ।
यो घटनाले प्रवृत्तिकै रूप लिने हो कि भन्ने डर पैदा भएको सरोकारवालाहरू बताउँछन् । यद्यपि यो घटनामा संगठित समूहको संलग्नता भने नदेखिएको बैंकले जनाएको छ ।
उपमेयरको नेतृत्वको समूहले नियोजित रूपमा भने घटना घटाएको बैंकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण