शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भूकम्प

जापानमा महाभूकम्पको चेतावनीले सम्झाएको नेपालको जोखिम

पछिल्लो साढे तीन महिनामा भूकम्पको निरन्तर धक्का
मङ्गलबार, ०१ पुस २०८२, १३ : ००
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • जापानमा गएको भूकम्पले नेपालको भूकम्पीय जोखिमलाई पुनः उजागर गरेको छ, विशेष गरी पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा औंल्याइएको छ।
  • विज्ञहरूले पश्चिम नेपालमा ५२० वर्षयता ठूलो भूकम्प नगएकाले ८ म्याग्निच्युडसम्मको भूकम्पको जोखिम रहेको चेतावनी दिएका छन्।
  • भूकम्पविद्का अनुसार, कमजोर संरचना र भूकम्प प्रतिरोधी नभएका भवनहरू नै मानवीय क्षतिको मुख्य कारण हुन्।

काठमाडौंँ । गत सोमबार जापानको उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पले फेरि एकपटक विश्वको ध्यान भूकम्पीय जोखिमतिर तानिएको छ । 

प्रविधिमा अब्बल मानिने जापानलाई समेत त्रसित बनाउने यस्ता घटनाले नेपालको भूगर्भमा सञ्चित हुँदै गरेको महाभूकम्पको जोखिमलाई पुनः सतहमा ल्याइदिएको छ । विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा महाभूकम्पका लागि शक्ति सञ्चय भइरहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

नेपालको पश्चिमी भू–भाग, विशेष गरी गोर्खादेखि सुदूरपश्चिमको देहरादुन (भारत) सम्मको करिब ८०० किलोमिटर लामो क्षेत्र विगत ५०० वर्षभन्दा बढी समयदेखि कुनै विनाशकारी महाभूकम्प आएको छैन । तर भूगर्भविद्हरूका लागि यो शान्ति ‘आँधीअघिको सन्नाटा’जस्तै हो । लामो समय भूकम्प नआउनुले यस क्षेत्रमा अत्यधिक मात्रामा शक्ति सञ्चित भइरहेको भूकम्पविद्हरू बताउँछन् । 

  • ‘हाम्रो क्षेत्र भूकम्पको प्रयोगशालाजस्तै हो’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार  नेपाल भूकम्पीय जोखिमको एउटा यस्तो जीवित प्रयोगशाला हो । जहाँ जोखिम कुनै निश्चित समय वा अवधिका लागि मात्र होइन सधैँभरिका लागि हो । 

‘हामी भूकम्प जाने ठाउँमा नै छौँ, यो तथ्यलाई हामीले कहिल्यै बिर्सन मिल्दैन,’ डा. अधिकारी भन्छन्, ‘तर चिन्ताको सबैभन्दा ठुलो विषय पश्चिम नेपाल हो । जहाँ सन् १५०५ यता कुनै ठुलो भूकम्प गएको ऐतिहासिक प्रमाण छैन । जति लामो समय शक्ति सञ्चय हुन्छ, भूकम्पको आकार र त्यसले निम्त्याउने विनाश पनि त्यति नै विशाल हुने सम्भावना बढ्छ ।’ 

विगत एक वर्षको तथ्याङ्कले पनि नेपालको भू–सतहमुनिको निरन्तरको उथलपुथललाई पुष्टि गर्छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०८१ देखि हालसम्म नेपाल र यस आसपासको क्षेत्रमा २० भन्दा बढी मझौला तथा ठुला भूकम्पका धक्का महसुस गरिएको छ । यी साना र मझौला धक्काहरूले ठुलो भूकम्पको शक्तिलाई कम गर्छ भन्ने आम भ्रमलाई चिर्दै विज्ञहरू सचेत गराउँछन् – यी कम्पनहरू केवल पृथ्वीको गर्भमा सञ्चित भइरहेको अपार शक्तिका बाहिरी सङ्केत मात्र हुन् । 

  • क्षेत्रगत जोखिमको डरलाग्दो चित्र: कहाँ कति खतरा ?

डा. अधिकारीका अनुसार नेपालको भौगर्भिक बनावट पूर्वदेखि पश्चिमसम्म एकैनासको छैन । भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको निरन्तरको टकरावले सिर्जना गरेको हिमालय क्षेत्रमा भूकम्प जाने समयान्तर र त्यसको प्रकृति ठाउँअनुसार फरक छ । 

  • पश्चिम नेपालः साइलेन्ट जोन

यो क्षेत्र भूकम्पीय दृष्टिकोणले सबैभन्दा संवेदनशील मानिएको छ । गोर्खादेखि पश्चिमको विशाल भू–भागमा ५२० वर्षदेखि ठुलो भूकम्प नगएकाले यहाँ ८ म्याग्निच्युड वा सोभन्दा माथिको भूकम्पका लागि पर्याप्त शक्ति सञ्चित भइसकेको अनुमान छ । ‘जति लामो समय शक्ति रोकियो, त्यति नै ठुलो भूकम्पको रूपमा त्यो बाहिर आउँछ,’ डा. अधिकारीले भने । 

यस क्षेत्रमा रहेका कमजोर भौतिक संरचना र भौगोलिक विकटताले भूकम्पको क्षतिलाई अझ भयावह बनाउन सक्ने देखिन्छ । हालै जाजरकोट र बझाङमा गएका मझौला भूकम्पले समेत ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको घटनाले यहाँको जोखिमको स्तरलाई स्पष्ट पारेको छ । 

  • मध्य नेपाल : २०७२ ले पनि नसकेको जोखिम 

२०७२ सालको विनाशकारी गोर्खा भूकम्पले मध्य नेपालमा सञ्चित केही शक्तिलाई बाहिर निकालेको थियो ।  विशेष गरी काठमाडौँ उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा अझै पनि भूकम्पीय शक्ति बाँकी नै रहेको अध्ययनहरूले देखाएका छन् । 

यस क्षेत्रमा सामान्यतया १०० देखि २०० वर्षको अन्तरालमा ठुला भूकम्प जाने गरेको देखिन्छ । ९० सालको महाभूकम्प र २०७२ को गोर्खा भूकम्पबिचको ८२ वर्षको अन्तरालले यो क्षेत्र निरन्तर सक्रिय रहेको देखाउँछ । त्यसैले मध्य नेपाल पनि जोखिममुक्त छैन र यहाँ कुनै पनि बेला अर्को ठुलो धक्का आउन सक्ने सम्भावना कायमै रहेको अधिकारी बताउँछन् । 

  • पूर्वी नेपालः ९० वर्षदेखिको शक्ति सञ्चय 

सन् १९३४ (१९९० साल) को महाभूकम्पपछि पूर्वी नेपालमा करिब ९० वर्षदेखि कुनै ठुलो भूकम्प गएको छैन । यो अवधि पनि शक्तिशाली भूकम्पका लागि शक्ति जम्मा हुन पर्याप्त हो । अझ पूर्व सिक्किमतिरको भू–भागमा करिब ९०० वर्षदेखि ठुला भूकम्प नगएको मानिन्छ । जसले गर्दा त्यस क्षेत्रमा जाने कुनै पनि ठुलो भूकम्पको गम्भीर असर नेपालको पूर्वी भेगमा पर्न सक्छ । यसरी हेर्दा नेपालको कुनै पनि भू–भाग भूकम्पीय जोखिमबाट अछुतो नरहेको रातोपाटीसँग अधिकारीले भने ।

  • भूकम्पको पूर्वानुमानः असम्भव विज्ञान र जापानको पाठ 

बेला–बेलामा जाने साना भूकम्पपछि सर्वसाधारणमा अब ठुलो भूकम्प आउने हो कि भन्ने त्रास फैलिनु स्वाभाविक हो । तर  डा. अधिकारी स्पष्ट पार्छन्, ‘कुनै पनि सानो भूकम्पले अब ठुलो भूकम्प आउँदै छ भनेर निश्चित सङ्केत गर्दैन । भूकम्प कहिले, कहाँ र कति ठुलो जान्छ भनेर पूर्वानुमान गर्ने प्रविधि आजसम्म विश्वमा कहीँ पनि विकास भएको छैन ।’ 

अधिकारीका अनुसार जापानजस्तो प्रविधिमा अब्बल र भूकम्पको उच्च जोखिममा रहेको देशले समेत ‘मेगाक्वेक’ को सम्भावनाबारे चेतावनी दिन्छ । तर कहिले आउँछ भनेर ठोकुवा गर्न सक्दैन । जापानको भूकम्प अनुसन्धान प्यानलले आगामी ३० वर्षभित्र नानकाई ट्रफमा महाभूकम्प आउने सम्भावना ९० प्रतिशतसम्म रहेको बताएको छ  ।  

विज्ञहरूका अनुसार केवल ५ प्रतिशत भूकम्पहरू मात्र ‘फोरशक’ (मुख्य भूकम्पअघिको धक्का) हुने गर्छन्, तर कुन धक्का फोरशक हो भनेर अग्रिम थाहा पाउन असम्भव छ । त्यसैले, पूर्वानुमानको व्यर्थ प्रतीक्षामा बस्नुभन्दा तयारीमा जुट्नु नै एक मात्र बुद्धिमानी विकल्प हो ।

  • ‘मुख्य शत्रु भूकम्प होइन, कमजोर संरचना हो’

भूकम्प आफैँले मानिसको ज्यान लिँदैन ज्यान लिने र अपूरणीय क्षति पुर्‍याउने त भूकम्प प्रतिरोधी नभएका कमजोर घर, विद्यालय, अस्पताल र अन्य भौतिक संरचनाहरूले हुने गरेको अधिकारी बताउँछन् ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पश्चिम नेपाल र अन्य ग्रामीण क्षेत्रहरूमा परम्परागत रूपमा ढुङ्गा र माटोले बनेका, इन्जिनियरिङ मापदण्ड पूरा नगरेका घरहरूको बाहुल्यता छ । 

केहि समयघि जाजरकोटमा ६.४ म्याग्निच्युड र बझाङमा ५.३ म्याग्निच्युडको भूकम्पले पुर्‍याएको क्षति यसको ज्वलन्त उदाहरण हो । ‘यी भूकम्प आफैँमा महाभूकम्प थिएनन्, तर कमजोर संरचनाका कारण सयौँले ज्यान गुमाउनुपर्‍यो र हजारौँ घरबारविहीन भए,’ डा. अधिकारी भन्छन्, ‘हाम्रो मुख्य चुनौती र शत्रु भनेकै हामीले बनाउने संरचनाहरू हुन्, राष्ट्रिय भवन संहिता बनेको छ  । यसको कार्यान्वयन सहरका केही सीमित क्षेत्रमा बाहेक विशेष गरी ग्रामीण भेगमा छैन ।’ 

उनका अनुसार भारतीय प्लेट प्रतिवर्ष करिब दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि धस्सिरहेको छ, जसले हिमालय क्षेत्रमा निरन्तर शक्ति सञ्चय गराउँछ । यो शक्ति भूकम्पका रूपमा बाहिर निस्किँदा हाम्रा संरचनाहरू त्यसलाई थेग्न सक्ने हुनुपर्छ । 

  • जोखिम न्यूनीकरणका लागि के गर्ने ?

लामो समयदेखि भूकम्पविद्को रूपमा काम गरेका अधिकारीका अनुसार जोखिम नक्साङ्कन र वैज्ञानिक अनुसन्धान तत्काल गर्नुपर्छ । ‘नेपालको कुन क्षेत्रमा कति भूकम्पीय जोखिम छ, कहाँको जमिन कस्तो छ र सम्भावित भूकम्पले कस्तो क्षति पुर्‍याउन सक्छ भन्नेबारे विस्तृत वैज्ञानिक अध्ययन र नक्साङ्कनलाई तीव्रता दिनुपर्छ ।’ 

उनका अनुसार नेपालमा आधिकारिक र विस्तृत तथ्याङ्क छैन । 

नयाँ बन्ने सम्पूर्ण सरकारी तथा निजी संरचनाहरू अनिवार्य रूपमा भूकम्पप्रतिरोधी बनाउन राज्यले शून्य सहनशीलताको नीति अपनाउनुपर्ने उनी बताउँछन् ।

लाखौँको सङ्ख्यामा रहेका पुराना र जोखिमयुक्त घर, विद्यालय, अस्पतालजस्ता सार्वजनिक संरचनाहरूको तत्काल पहिचान गरी तिनलाई भूकम्प थेग्न सक्ने बनाउन प्रबलीकरणको राष्ट्रिय अभियान चलाउनु जरुरी रहेको उनले बताए । 

  • पछिल्लो साढे तीन महिनामा भूकम्पको निरन्तर धक्का

पछिल्लो करिब साढे तीन महिनाको अवधिमा नेपालका विभिन्न जिल्लाहरूमा साना तथा मध्यम खालका भूकम्पको धक्का पटक–पटक महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०८२ साल भदौदेखि मंसिरसम्म देशका पूर्वी पहाडदेखि सुदूरपश्चिमका सीमावर्ती क्षेत्रसम्म ३.५ देखि ४.९ म्याग्निच्युडका भूकम्पहरू गएका छन् ।

सुदूरपश्चिम र पश्चिमी नेपालमा भूकम्पको सक्रियता बढी देखिएको छ । यस अवधिमा दार्चुला, बझाङ, बाजुरा र अछाम जिल्लालाई केन्द्रबिन्दु बनाएर धेरै पटक भूकम्प गएको देखिन्छ । दार्चुला जिल्लाको भारत र चीनसँग सीमा जोडिएका क्षेत्रहरू तावाघाट र कालापानी आसपास पनि भूकम्पको केन्द्रबिन्दु रहेको पाइएको छ ।

अवधिमा सबैभन्दा ठुलो भूकम्प असोज २९ गते बझाङको डन्टोलानजिकै ४.९ म्याग्निच्युडको गएको थियो । त्यसैगरी, रुकुम पूर्व/बाग्लुङ, सिन्धुपाल्चोक, रामेछाप, मनाङ र कास्कीजस्ता जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

  • पछिल्लो समय गएका भूकम्पहरूको विस्तृत विवरणः

ee

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप