शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौँडा सडक विस्तार विवाद : आज सर्वोच्चमा सुनुवाइ हुँदै

बुधबार, ०२ पुस २०८२, ११ : ३२
बुधबार, ०२ पुस २०८२

सारांश

  • हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
  • पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले दायर गरेको रिटमाथि सर्वोच्चको इजलासमा सुनुवाइ हुनेछ।
  • रिट निवेदकले सडक विस्तार गर्दा व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको भन्दै मुद्दा दर्ता गरेका थिए।

हेडौँडा । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको हो।

रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले दायर गरेको उक्त रिटमाथि सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा रिट निवेदन मागी सुनुवाइ हुनेछ। सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।

नेतृ कंसाकारलगायतका निवेदकहरूले हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध गत मंसिर १६ गते मुद्दा दर्ता गरेका थिए। सडक सीमा क्षेत्र २५/२५ मिटर (हाल २५/२५ गज) भित्रका संरचना हटाएर सडक विस्तार गर्दा व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको भन्दै उक्त रिट दर्ता गरिएको थियो।

उक्त रिटमाथि मंसिर १९ गते सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको थियो। मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकका संरचना नहटाउन वा यथास्थितिमा राख्न ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो। साथै, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाइएको थियो।

त्यस्तै, मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले ‘अन्य आदेश’ गरेको थियो। उक्त आदेशअनुसार सो मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गर्दै आज (पुस २ गते) का लागि पेशी तोकिएको थियो।

उक्त मुद्दामा निवेदकले डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप