बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनले सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति, ३८ निजी सवारी जले

सरकारलाई राहत प्याकेज दिन आग्रह
बुधबार, ०२ पुस २०८२, २० : ३९
बुधबार, ०२ पुस २०८२

सारांश

  • भदौ २३ र २४ गतेको आन्दोलनमा मिडियामा भएको क्षतिको विवरण सरकारलाई बुझाइयो।
  • १९ वटा सञ्चार संस्थाले ५९ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति बेहोरेका छन्, भने ३८ जनाको व्यक्तिगत सम्पत्ति नष्ट भयो।
  • पत्रकार महासंघले सरकारसँग राहत प्याकेज र घाइते पत्रकारका लागि विशेष सहयोगको माग गरेको छ।

काठमाडौँ । गत भदौ २३ गतेको जेनजी आन्दोलन तथा भदौ २४ गते भएको विध्वंशका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाइएको छ ।

बुधबार नेपाल पत्रकार महासङ्घले सङ्कलन गरेको विवरण सरकारलाई बुझाइएको हो । 

जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको महासङ्घले सरकारलाई बुझाएको क्षतिको विवरणमा उल्लेख गरिएको छ । क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पुर्‍याएको महासङ्घले बताएको छ ।

क्षति पुगेका सञ्चार संस्थाहरूले नेपाल पत्रकार महासङ्घलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छन् । यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको देखिएको महासङ्घको भनाइ छ । 

घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन् । तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको महासङ्घले बताएको छ । 

'नेपालको सञ्चार जगतले यस घटनाबाट भोग्नुपरेको क्षति केवल आर्थिक हिसाबले मात्र मापन गर्न सम्भव छैन । कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौँ मूल्य तिरेर पनि पुनः प्राप्त गर्न नसकिने महत्त्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्ताबेजहरू सधैँका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ,' महासङ्घका सचिव रमेश खतिवडाले भने । 

महासङ्घले हालसम्म सङ्कलन गरेको विवरण अनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ ।

यस परिस्थितिमा क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुनः खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका सञ्चार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चार सम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासङ्घले सरकारसँग जोडदार माग गरेको छ । त्यस्तै घाइते पत्रकारका लागि विशेष राहत ल्याउन समेत माग गरिएको छ । 

यस सम्बन्धी क्षतिको विस्तृत विवरण सूची संलग्न गरी आजै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाइएको छ । 

महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासङ्घ प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चार संस्था र पत्रकारहरूलाई विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको थियो ।

मन्त्री खरेलले सरकारले क्षति पुगेका सञ्चार संस्थाहरू र निजी सवारी जलेका पत्रकारहरूलाई राहत दिनेबारे सरकार सकारात्मक रहेको बताए । 

महासङ्घ प्रतिनिधिमण्डलसँगको भेटमा सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गम्भीर रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप