न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय भएको बताएका छन् ।
न्यायपरिषद् दिवस २०८२ का अवसरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायपरिषद् सिङ्गो न्यायापलिकाको चरित्र निर्माण गर्ने निकाय भएको बताएका हुन् ।
“न्याय परिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय हो, यो न्यायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संवैधानिक संरक्षक हो”, प्रधानन्यायाधीश राउतले भने, “न्यायपरिषद्को प्रत्येक निर्णयले केबल एउटा व्यक्ति वा संस्थालाई मात्र प्रतिविम्बित गर्ने होइन, न्यायप्रतिको जनविश्वासलाई पनि प्रत्यक्ष प्रभाव पार्दछ ।”
नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतन्त्रको अपरिहार्य आधारस्तम्भका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उहाँले संविधानमा लेखिएको मूल्यमान्यताको मूर्तरुप कार्यान्वयन गर्ने संस्थाहरू सक्षम, निष्पक्ष र जवाफदेहीपूर्ण भएमात्र हुने बताए।
प्रधानन्यायाधीश राउतले न्यायपरिषद्को प्रभावकारिता अभिवृद्धिमा सरोकारवाला निकायको सकारात्मक सहयोग अपरिहार्य हुनुपर्ने र सबैको सामूहिक प्रयासबाट नै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामार्फत हुनुपर्नेमा जोड दिए ।
“न्यायिक निष्पक्षता, स्वतन्त्रता र सक्षमता न्यायपालिकाका आधारभूत मूल्य हुन, जुन सम्पूर्ण न्यायकर्मी र कर्मचारीले आ–आफ्नो कार्यसम्पादनको सिलसिलामा कहिल्यै भुल्न मिल्दैन”, उनले भने, “जनताको न्यायपालिकाप्रतिको विश्वास र भरोसा कानुनले सिर्जना गरेका बाध्यता नभई न्यायकर्मीको काम र व्यवहारबाट हासिल हुने स्थिति हो, न्यायिक प्रक्रियाको स्वच्छ र प्रभावकारी व्यवस्थापन एवं त्यसका आधारमा निष्पादन हुने निष्पक्ष न्यायले नै न्यायालय र न्यायकर्मीको गरिमा बढ्ने हुनाले आफ्नो व्यावसायिक दक्षताको इमान्दारीपूर्वक र अधिकतम् प्रयोग गरी न्यायप्रति नै सवैले आफूलाई समर्पित गर्न जरुरी छ ।”
उनले प्रक्रियामा कुनै पनि कृत्रिम अवरोध सिर्जना गर्ने, व्यावसायिक धर्मबाट विचलित भएको कुराको ढाकछोप गर्ने, न्यायको प्रवाहलाई अवरुद्ध गर्ने र अन्ततः न्यायको मर्म र गरिमामा प्रहार गर्ने कुनै पनि साना ठूला क्रियाकलाप अक्षम्य रहने कुराको हेक्का राख्दै अहिलेको विषम परिस्थितिमा सबै संस्था एवं निकायले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने भनाई राखे ।
प्रधानन्यायाधीश राउतले भने, “सबैले सबैको सम्मान गर्ने, सबैले आआफ्नो भूमिका र जवाफदेहीता निर्वाह गर्ने र असल अभ्यासलाई स्थापित गर्दै आआफ्नो कर्म क्षेत्रमा निरन्तर डटेर लाग्नुपर्ने भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण