बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विश्व

चिलीमा उग्र–दक्षिणपन्थको विजय : राजनीतिमा नयाँ मोड

शुक्रबार, ०४ पुस २०८२, १३ : ४१
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • चिलीको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी नेता होजे एन्टोनियो काष्ट विजयी भए, उनले ५८.२ प्रतिशत मत प्राप्त गरे।
  • निर्वाचनमा जाराले ४१.८ प्रतिशत मत प्राप्त गरिन्, उनले हार स्वीकार गर्दै काष्टलाई शुभकामना दिइन्।
  • काष्टले आप्रवासी नीतिमा कडाइ गर्ने र नवउदारवादी आर्थिक सुधार गर्ने प्रतिबद्धता जनाए।

चिली ।  यसै महिना अर्थात् डिसेम्बर १४ तारिखमा चिलीको राष्ट्रपति निर्वाचन अन्तर्गत दोस्रो चरणको नतिजा सार्वजनिक भयो । नतिजा कस्तो आउँछ भन्नेबारे धेरैलाई पहिले नै अनुमान थियो । चिलीका दक्षिणपन्थीहरूको व्यापक समर्थन प्राप्त गरेर होजे एन्टोनियो काष्ट चिलीको राष्ट्रपति बन्ने तय भएको छ । 

पहिलो चरणको निर्वाचनमा जेनेट जाराले २६.८५ प्रतिशत मत प्राप्त गर्दै झिनो अन्तरले पहिलो स्थान हासिल गरेकी थिइन् । कास्टले २३.९३ प्रतिशत वैध मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरे । तेस्रो, चौथो र पाँचौँ स्थानमा तीन दक्षिणपन्थी उम्मेदवार क्रमशः १९.७१ प्रतिशत मतसहित फ्रान्को पेरिसी, १३.९४ प्रतिशत मतसहित जोहानेस कैसर र १२.४७ प्रतिशत मतसहित एभलिन म्याथेई रहन सफल भएका थिए ।

उनीहरू सबैले दोस्रो चरणको निर्वाचनमा आफ्ना मतदाताहरूलाई दोस्रो स्थानमा रहेका दक्षिणपन्थी उम्मेदवार कास्टलाई समर्थन गर्न आग्रह गर्दै उनकै प्रचार अभियानमा सामेल भए ।

यसरी तीन पटकको प्रयास पश्चात ‘क्याम्बियो पर चिली’ नामक गठबन्धनबाट उम्मेदवार बनेका अति–दक्षिणपन्थी उम्मेदवार काष्टले अन्ततः ५८.२ प्रतिशत मत प्राप्त गरे । ‘युनिडाड पर चिली’ गठबन्धनकी उम्मेदवार जीनेट जाराले ९९ प्रतिशत मत गणना सम्पन्न हुँदासम्म ४१.८ प्रतिशतमात्रै मत प्राप्त गर्न सकिन् ।

चिलीयन कम्युनिस्ट पार्टीका कार्यकर्ताले पनि उनको पक्षमा उल्लेखनीय समर्थन दिएका थिए । तमाम प्रयासका बाबजुद जारा बहुमत मतदातालाई परिचालन गर्न सफल दक्षिणपन्थी लहरलाई उल्टाउन भने असमर्थ रहिन् ।

Chile 1

सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो सन्देश दिँदै उनले आफ्नो हार स्वीकार गरिन् । उनले लेखेकी छन्, ‘लोकतन्त्रले ठुलो र प्रस्ट आवाजमा बोलेको छ । मैले भर्खरै राष्ट्रपतिमा निर्वाचित हुनुभएका होजे एन्टोनियो काष्टसँग कुरा गरेकी थिएँ । उहाँलाई सफल कार्यकालको शुभकामना दिँदै मैले चिलीका जनता र देशको भलाईको पनि कामना गरेकी छु । हामीलाई समर्थन गर्ने तथा हामीले आह्वान गरेका सबै जनतामा हामी आफ्नो मातृभूमिमा सबैको राम्रो जीवनका लागि सदैव काम गरिरहनेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु । सदाझैँ हामी दृढ तथा निर्भिक भएर तपाईंहरूसँगै हुनेछौँ ।’

आफू विजयी भए लगत्तै काष्टले भनेका छन, ‘यो खुसीको दिन हो । लाखौँ चिलीवासी जनताले उभिने निर्णय गरेका छन् । यो मेरो पार्टीको वा व्यक्तिको विजय होइन, अहिले चिलीले जितेको छ । निर्भिक जीवनको आशाले जितेको छ । अब हामी राजनीतिक, प्रशासनिक वा कुनै प्रकारका न्यायिक विशेषाधिकार बेगर सबै क्षेत्रमा कानुनी शासन तथा त्यसप्रतिको सम्मान पुनर्स्थापित गर्नेछौँ । हामी स्वतन्त्रताको बाटोमा अघि बढ्नेछौँ ।’

  • चिलीमा वामपन्थीको पराजय

जाराले यसअघिको गेब्रियल बोरिकको वामपन्थी सरकारको निरन्तरताको प्रतिनिधित्व गर्थिन् । बोरिकले आफ्नो कार्यकालमा खासै लोकप्रियता हासिल गरेका थिएनन् । चिलीमा कुनै पनि दल वा अभियान पुनः निर्वाचित नहुने प्रवृत्ति एक प्रकारको नियमजस्तै स्थापित भइसकेको छ ।

त्यहाँ लोकतन्त्र पुनर्स्थापना भएदेखि नै कुनै पनि सत्तारूढ दल वा गठबन्धनले आफूलाई लगातार दोस्रो कार्यकाल पुनः निर्वाचित गराउन सफल भएको इतिहास विरलै छ । चिलीका मतदाताहरूमा एक प्रकारको वैचारिक ‘पेन्डुलम’ जस्तो अवस्था देखिन्छ । कुनै पनि सरकारले आफ्नो योजना तथा कार्यक्रममा जनतालाई विश्वस्त बनाउन नसकेको देखिन्छ ।

चिलीमा कुनै पनि उम्मेदवार पुनः निर्वाचित नभएका भने होइनन् । सन् २००६ देखि २०१० सम्म राष्ट्रपति रहेका मिशेल बाचलेट सन् २०१४ मा विजयी भएर आएका थिए । त्यसैगरी २०१०–२०१४ मा राष्ट्रपति रहेका सेबास्टियन पिनेरा पुनः २०१८ मा ‘ला मोनेडा’ भनिने राष्ट्रपति कार्यालयमा फर्किए, तर उनीहरूले पनि लगातार भने जित्न सकेका थिएनन् ।

लोकतन्त्र पुनर्वहालीपछि तानाशाह अगष्टो पिनासेसँग खुलेआम जोडिन चाहने अति–दक्षिणपन्थी उम्मेदवारले जितेको भने यो पहिलो पटक हो । तानाशाही शासक पिनासेको रक्तपातपूर्ण शासन (१९७३–१९९०) सम्म तीन हजारभन्दा बढी मानिस मारिएका थिए । साथै मानव अधिकार उल्लङ्घनका घटनाबाट ३८ हजारभन्दा बढी मानिस पीडित भएका थिए ।

पिनासेको पतन पश्चात् धेरै समय चिलीमा आफूलाई उग्र–दक्षिणपन्थी भन्नु वा पिनोचेसँग आफूलाई जोड्नु राजनीतिक रूपमा जोखिमपूर्ण मानिन्थ्यो, तर अहिले अवस्था त्यस्तो रहेन । यसपटक धेरैले उनको प्रशंसा गरे । तानाशाहलाई समर्थन गर्नु पनि आपत्तिजनक मानिएन ।

उग्र–दक्षिणपन्थी परिवर्तन

अहिले निर्वाचित बनेका उम्मेदवार काष्टले पहिलो पटक चुनावमा भाग लिएका होइनन् । ५९ वर्षीय कास्टले सन् २०१७ र २०२२ मा पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए, तर तानाशाही पिनासेको पक्षमा उनको दक्षिणपन्थी बयान तथा दक्षिण अमेरिकी देशहरूमा गर्भपतनमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावका कारण चिलीका बहुमत मतदाताको उनले कडा प्रतिरोधको सामना गर्नु परेको थियो ।

त्यसैगरी उनका पिताको पृष्ठभूमिलाई लिएर पनि उनको आलोचना हुने गर्थ्यो । जर्मनीमा जन्मेका उनका पिता आफ्नो समयमा त्यहाँको नाजी पार्टीका सदस्य थिए । धेरै वर्ष पहिले उनले कुनै सन्दर्भमा यदि पिनासे जीवित भएको भए आफू उनलाई मतदान गर्ने अभिव्यक्ति दिएका थिए । पिनासेको हिंसात्मक शासनको घाउ निको भइनसकेको चिलीमा त्यस्तो अभिव्यक्तिलाई राम्रो ठानिएन ।

तर पछिल्लो निर्वाचनमा भने उनले कम विवादास्पद अडान लिने निर्णय गरे । साथै दक्षिणपन्थी उम्मेदवारहरूको राजनीतिक कार्यक्रमहरूलाई पनि समेट्ने बाचा गरे । यसले गर्दा उनीप्रतिको आशङ्का घट्न एवं दक्षिणपन्थी जमातमा विश्वसनीयता बढ्न सघाउ पु¥यायो ।

काष्टले लोकप्रियतावादी तथा सावधानीमूलक अभियानमार्फत आफूलाई चिलीलाई बचाउने उद्धारकर्ताको रूपमा अघि सारे । यसले गर्दा उनी धेरैको मन जित्न सफल भए । ‘चिली टुक्रिँदै छ’ भन्ने नारा लिएर उनले ‘चिलीको इतिहासको सबैभन्दा खराब संकट’ चलिरहेको दाबी गरे । आफूले देखाएको सङ्कट सम्बोधन गर्न ‘आपतकालीन सरकार’ सुरु गर्ने प्रतिबद्धता समेत गरे ।

साथै दक्षिण अमेरिकी मुलुकहरूबाट कामको खोजीमा आइपुग्ने आप्रवासीहरूप्रति पनि उनी आक्रमक रूपमा प्रस्तुत भए । चिलीका जनताको कष्टका लागि उनले आप्रवासीहरूलाई पनि दोषी देखाए । उनले घोषणा गरेको आप्रवासी समस्या समाधानका लागि उनका प्रस्तावहरू पनि सार्वजनिक गरिए ।

Chile 2

उनले सिमानामा छेकबार बनाउने तथा खाल्डो खनेर आप्रवासीहरूलाई प्रवेश गर्नबाट रोक्ने योजना प्रस्तुत गरे । साथै उनले आफ्नो अभियानका क्रममा चिलीमा काम गर्ने तीन लाख ८० हजारभन्दा बढी सरकारी कागजातको अभावमा चिलीमै काम गरिरहेका आप्रवासीहरूलाई देश छोडेर जान आदेश गर्दै त्यसका लागि दिनगन्ती नै सुरु गरे । ती आप्रवासीहरू चिली छोडेर नगएको खण्डमा तिनीहरूलाई खोजेरै भए पनि निष्कासन गर्ने सङ्कल्प समेत गरेका छन् ।

काष्ट आर्थिक मुद्दाहरूमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलीका घोषित प्रशंसक हुन् । उनी  कट्टर नवउदारवादी सुधारको कुरा गर्छन् । १८ महिनामा ६ अर्ब अमेरिकी डलरभन्दा बढीले वित्तीय खर्च कटौती गर्ने उनको घोषणा छ, जसलाई चिलीका धेरैजसो अर्थशास्त्रीले असम्भव काम भनेका छन् । यसका लागि उनले कुनै न कुनै रूपमा सामाजिक कार्यक्रमहरूको बजेट कटौती गर्ने आशंका गरिएको छ ।

कूटनीतिक क्षेत्रमा काष्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो बलियो समर्थन देखाएका छन् । उनको त्यस्तो झुकावलाई लिएर धेरै विश्लेषकले अमेरिकासँग मिल्दोजुल्दो हुनेगरी चिलीले अन्तर्राष्ट्रिय नीतिको पुनर्संरचना गर्नसक्ने व्याख्या गरेका छन् ।

निवर्तमान राष्ट्रपति बोरिकले वाशिंगटनको सोझै आलोचना नगरेको भएता पनि प्यालेस्टिनी नरसंहारमा  आलोचनात्मक अडान कायम राखेका थिए । साथै आफूलाई दक्षिण अमेरिकाको बृहत्तर क्षेत्रीय एकीकरणको पक्षमा समेत उभ्याएका थिए । वाशिंगटनलाई खुसी पार्नकै लागि काष्टले भने ती सबै कूटनीतिक पहल तथा अडानहरू छोड्ने सङ्केत प्रस्ट देखाएका छन् ।

काष्टले जितेको समाचार आएलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लेखेका छन्, ‘चिलीका निर्वाचित राष्ट्रपति होजे एन्टोनियो काष्टलाई बधाई छ । संयुक्त राज्य अमेरिका क्षेत्रीय सुरक्षालाई बलियो बनाउन तथा चिलीसँगको व्यापार सम्बन्धलाई पुनर्जीवित गर्नका लागि उनको प्रशासनसँग काम गर्न तयार छ ।’

गत केही समय यता, अझ भनौँ दुई महिनाभन्दा कम समयभित्रै दुई दक्षिण अमेरिकी मुलुक बोलिभिया र चिलीमा दक्षिणपन्थीहरू सत्तामा आएका छन् । साथै यसअघि नै अमेरिका निकट दलहरू सत्तामा रहेका इक्वेडर, पेरु, पाराग्वे र अर्जेन्टिनाजस्ता दक्षिण अमेरिकी देशहरूको समूहमा सामेल भएका छन् ।

ब्राजिल, कोलम्बिया, उरुग्वे र भेनेजुएलामा भने अझै पनि वामपन्थी दल तथा राजनीतिक शक्तिहरू सत्तामा कायमै छन् । केही विश्लेषकका अनुसार यी बाँकी रहेका वामपन्थी मुलुकहरू दक्षिण अमेरिकाको दक्षिणपन्थतर्फको ढल्काईलाई रोक्न केही हदसम्म सफल हुने दाबी गर्छन । तथापि यो समयले नै स्पष्ट पार्नेछ ।

पाब्लो मेरिग्वेट/न्युज क्लिकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप