रमेश उप्रेतीलाई ‘हिरो’ पुग्यो, अब बन्न चाहन्छन् ‘खुंखार भिलेन’
काठमाडौं । रमेश उप्रेती कुनै बेलाका चल्तीका हिरो हुन् । एकपछि अर्को फिल्ममा काम गर्न भ्याइनभ्याई हुन्थ्यो । फिल्महरू पनि सफल हुन्थे । तर त्यहीबिच उनी अमेरिकातिर लागे ।
नेपाल आएर सन् २०१८ मा ‘ऐश्वर्या’मार्फत फिल्ममा कमब्याक गरे । रमेश र दीपिका प्रसाईंको रिल जोडीलाई पर्दामा निकै रुचाइयो । त्यसयताका सात वर्ष उनी ठुलो पर्दाबाट टाढै रहे । अब भने उनी ‘झरीपछिको इन्द्रेणी’ मार्फत फेरि सिनेमा हलमा आउँदैछन् ।
पहिले लामो समय अमेरिका बसेर आएको हुनाले यो ‘ग्याप’लाई रमेश फेरि उतै फर्किए भन्ने अर्थमा लिएका थिए । तर उनी न त अमेरिका फर्किएका थिए, न त फिल्म क्षेत्र नै छाडेका थिए । तै पनि प्रश्न उब्जिन्छ- यति लामो विश्राम किन ?
‘खासमा ऐश्वर्यापछि म आफैं एक फिल्म निर्माण तयारीमा थिए । त्यो समय कोभिड सुरु भयो । त्यो महामारीले गरेको तयारी र योजनाहरूलाई विफल भयो’, उनले भने, ‘कोभिड महामारी सकिन लाग्दा बल्ल काम सुरु गर्ने मुड बनेको थियो । त्यहीबिच केही व्यक्तिगत र आन्तरिक समस्याले मलाई मानसिक रूपमा विचलित बनायो ।’ त्यसपछि केही समय आफैंलाई काम गर्न मन नलागेको उनी सुनाउँछन् ।
यस अवधिमा उनले थुप्रै फिल्म साइन पनि गरे, तर तीमध्ये धेरै निर्माण प्रक्रियामा अगाडि बढेनन् । केहीको छायांकन सुरु भयो तर बिचैमा अड्कियो । केही त फ्लोरमा जान नै सकेका छैनन् ।
‘अरूका फिल्म साइन गरेपछि आफ्नो नगर्ने भनेर आफूले पनि गरिनँ । बाहिरको पनि बनेन’, उनले भने, ‘यसले नै दर्शकहरूमाझ ल्याउन सफल भयो ।’

थुप्रै सफल र लोकप्रिय फिल्मका हिरो उप्रेतीका यसअघिका अधिकांश फिल्म प्रेमकथा आधारित छन् । त्यसैले उनको छवि नै रोमान्टिक हिरोको बनेको छ । ग्यापपछि फर्किंदै गर्दा उनलाई फेरि रोमान्टिक हिरोको भूमिकामै हेर्ने दर्शकको चाहना हुनसक्छ, तर उनी यो फिल्ममा उनले दर्शकलाई ‘सरप्राइज’ दिँदैछन् ।
‘‘झरीपछिको इन्द्रेणी’ मेरो पहिलेका फिल्म भन्दा टोटल्ली डिफरेन्ट कन्टेन्टमा छ’, रमेश भन्छन्, ‘यसमा डाँडाकाँडा, एक्सन, हिरो–हिरोइनको चमकधमक त्यस्तो केही छैन ।’ फिल्म साधारण कथामा बनेको उनी सुनाउँछन् ।
‘यो फिल्म मैले विगतमा कहिल्यै नगरेको पृथक शैलीको हो । मैले आर्टिस्ट भएपछि हरेक खालको क्यारेक्टर गर्नुपर्छ भन्ने हिसाबले यसमा काम गरेको हो,’ रमेश भन्छन् ।
मनोरञ्जन भन्दा पनि ‘कन्टेन्ट’लाई प्राथमिकता दिएर यो फिल्म स्विकारेको उनी बताउँछन् । उमेर बढ्दै जाँदा कलाकारले पनि विषयवस्तु अनुसारका भूमिका स्वीकार्नुपर्छ भन्नेमा उनी ‘कन्भिन्स’ छन् । फिल्म क्षेत्रमा ‘उमेर’ एउटा ठुलो बहसको विषय बन्न सक्छ । किनभने कतिपय कोही उमेरले हिरो बन्ने बताउँछन् भने कोही विषयवस्तुले । नेपाली फिल्ममा नयाँपुस्ताको आगमनसँगै पुराना कलाकार चरित्र भूमिकामा सीमित हुन थालेका छन् । तर रमेश यसलाई पूर्णत: अस्वीकार गर्छन् ।
‘उमेरले होइन, विषयवस्तुले हिरो बनाउने हो’, अन्तर्राष्ट्रिय उदाहरण दिँदै उनी भन्छन्, ‘५०–६० वर्षका मान्छे इन्डियामा हिरो भएर खाइरहेका छन् । हलिउडमा त अझै त्यो भन्दा पनि बूढा हिरोले काम गरिरहेका छन् ।’ उनको बुझाइमा कलाकारलाई उमेरमा बाँध्नु हुँदैन । यदि कथाले माग गर्छ भने जुनै उमेरको भूमिका गर्न तयार हुनुपर्छ ।
‘हामीले टिनएजर लभ स्टोरी खेल्नु हुँदैन, त्यो स्वाभाविक हो,’ रमेश भन्छन्, ‘तर म्याच्युरिटी बढ्दै गएपछि लाइफका अप्स एन्ड डाउन्स, सम्बन्धका जटिलता र सामाजिक परिवेशलाई समेट्ने भयानक कथाहरू बन्छन् ।’
रमेशको अनुभवमा ‘मिडिल एज’ नै कथाका लागि सबैभन्दा उर्वर उमेर हो । जहाँ काम, सम्बन्ध, संघर्ष र सफलताको वास्तविक चित्रण गर्न सकिन्छ । यही कारण पनि उनलाई अहिले ‘म्याच्युर्ड’ कथामा काम गर्न बढी मजा आउँछ ।
फिल्म ‘झरीपछिको इन्द्रेणी’ शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा रमेश एक सरकारी कर्मचारी लेखापालको रुपमा देखिएका छन् । फिल्ममा उनको भूमिकाले केही खराब सरकारी कर्मचारीको चरित्र चित्रण गर्ने उनी सुनाउँछन् ।
‘एक खराब कर्मचारीको समाज, घरपरिवार र राष्ट्रमा कस्तो असर पर्छ भनेर देखाइएको छ’, उनी भन्छन् । फिल्मले सही के हो र गलत के हो भन्ने मार्गनिर्देश समेत गर्ने उनको भनाइ छ ।
‘फिल्म सबै प्रकारको दर्शकलाई मध्यनजर गरेर निर्माण भएको छ र उपयुक्त पनि छ’, उनी भन्छन्, ‘यसले राष्ट्रमा पनि योगदान दिन्छ जस्तो लाग्छ ।’
फिल्ममा उनले अभिनेत्री दीपाश्री निरौलासँग सहकार्य गरेका छन् । पहिले दीपाश्रीसँग उनले देवर भाउजूको रुपमा धेरै फिल्ममा सँगै काम गरेका थिए । तर जोडीको रुपमा सहकार्य यो पहिलो हो ।
‘उहाँ खारिएर आएकी कलाकार हुनुहुन्छ । उहाँसँग काम गर्दा धेरै सिक्न र जान्न पाइन्छ’, रमेशले दीपाको प्रशंसामा भने ।
ग्यापपछिको चुनौती
सात वर्षपछि पर्दामा फर्किँदा कलाकारलाई कस्तो महसुस हुन्छ ? यो स्वाभाविक प्रश्नलाई रमेशले सहज रूपमा लिएनन् ।
‘चुनौती त लाग्दोरहेछ,’ उनी भन्छन्, ‘तर कलाकार भएपछि काम सुरु गर्दा एक्साइटमेन्ट पनि हुन्छ, कहिलेकाहीँ नर्भस पनि हुन्छ । यो नर्भसनेस नकारात्मक भन्दापनि राम्रो काम गर्ने हुटहुटीबाट आएको हो ।‘ उनलाई लाग्छ, फरक खालको क्यारेक्टर पाएपछि राम्रो गर्न सकिन्छ र दर्शकले लामो समयसम्म याद राख्छन् ।

तर नेपाली फिल्मको वर्तमान परिदृश्यमा उनको पुस्ताका कलाकारका लागि चुनौती दोब्बर छ । ‘मलाई त तीनवटा जेनेरेसनसँग फाइट गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘पुरानो जेनेरेसन (गणेश उप्रेती), मेरो जेनेरेसन र अहिलेको (जेनजी जेनेरेसन) सबैसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण हो ।’ यति मात्र होइन, दर्शकको अपेक्षा पनि उच्च हुन्छ । पहिलेजस्तो प्रस्तुति नदिए आलोचना हुने डर हुन्छ । तर रमेशलाई त्यो डरभन्दा पनि नयाँपनको उत्साहले फिल्ममा डोर्याइरहेको छ ।
सपना ‘खुङ्खार भिलेन’
‘हिरो’को भूमिकामा स्थापित भइसकका रमेशलाई अब रहर छ खुङ्खार ह्यान्डसम भिलेनको भूमिका । ‘मलाई च्यालेन्जिङ क्यारेक्टर गर्न मन लाग्छ’, उनले अबको आफ्नो प्राथमिकता स्पष्ट पारे, ‘खुङ्खार भिलेन ।’
उनलाई भिलेनको अभिनय गर्न त्यसै मन लागेको भने होइन । विश्वभरि नै भिलेनहरू स्टाइलिस र हिरोलाई चुनौती दिने खालको हुने भएकाले लोभिएका हुन् । उनी अहिले प्रदर्शनरत् बलिउड फिल्म ‘धुरन्धर’मा अभिनेता अक्षय खन्नाको भूमिकाबाट निकै प्रभावित भएका छन् । ‘च्यालेन्जिङ तर नेगेटिभ भूमिका, जसले स्टोरीलाई लिड गरोस्, त्यो गर्न पाए हुन्थ्यो,’ उनले भने ।

उनलाई अब सामान्य ‘हिरो’को भूमिकामा खासै इच्छा छैन, किनकि त्यो उनका लागि ‘मोनोटोनस’ भइसकेको छ । ‘कलाकारको धर्म भनेको क्यारेक्टरमा ढल्नु हो, उमेरमा होइन,’ सञ्जीव कुमार र अनुपम खेरले कम उमेरमा वृद्धको रोल गरेको उदाहरण दिँदै उनी भन्छन्, ‘कलाकार भनेको क्यारेक्टरमा ढल्ने हो, उमेरमा होइन । म पनि त्यस्तै रुपमा चिनिन चाहन्छु ।’
रमेशको अर्को इच्छा फिल्म बनाउने हो । अर्को वर्ष फिल्म निर्माण गर्ने उनको योजना छ । ‘कलाकारले कमाएको पैसा फिल्ममा लगाउँदा जोखिम मोल्नुपर्छ । अहिलेको अस्थिर बजारमा त्यो जोखिम लिन गाह्रो छ’, उनी भन्छन्, ‘म व्यापारी होइन, विशुद्ध कलाकार हो । आफ्नो छाक काटेर बचाएको पैसा हाल्दा भोलि घाटा भयो भने गाह्रो हुन्छ ।’
अभिनय र निर्माणलाई सँगै अघि बढाउने सोचमा रहेका रमेशलाई निर्देशनमा चाहिँ रूचि छैन ? ‘म निर्देशक कहिल्यै बन्दिनँ’, उनी भन्छन्, ‘त्यो एकदमै चुनौतीपूर्ण काम हो । एउटै व्यक्तिले अभिनय र निर्देशन दुवै गर्दा दुवैलाई न्याय गर्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण