बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

संस्थापनले महामन्त्रीद्वयलाई भन्यो– घोषित मितिमा महाधिवेशन नहुने अवस्था आयो

आइतबार, ०६ पुस २०८२, १५ : ०४
आइतबार, ०६ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम पूरा नगरेको आरोप लगाएको छ।
  • पार्टी सभापति देउवाले महाधिवेशन निर्धारित समयमा गर्न नसकिने अवस्थाबारे छलफल गरेका थिए, पदाधिकारीको तयारी नपुगेको गुनासो आएको थियो।
  • लेखकले क्रियाशील सदस्यताको अन्तिम नामावली तयार नभएकाले महाधिवेशनको सम्भावना कम भएको बताएका थिए।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न नसक्दा घोषित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको जिकिर गरेको छ । मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । 

सभापति देउवाले शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा आइतबार बिहान कार्यवाहक सभापति खड्काले बोलाएको महामन्त्रीद्वय तथा नेता रमेश लेखक र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको बैठकमा संस्थापनले त्यस्तो जिकिर गरेको हो । 

देउवाले आफ्नै निवास महाराजगञ्जमा निर्धारित समयमै महाधिवेशन गर्न बाधा के –के छन् ? कसरी फुकाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । छलफलका क्रममा देउवाले पदाधिकारीले पर्याप्त तयारी गर्न नसकेको बताएका थिए । ‘कार्यवाहक सभापति र महामन्त्रीहरूले महाधिवेशनको लागि पर्याप्त तयारी र व्यवस्थापन गर्न सक्नुभएको छैन । साथीहरू गुनासो लिएर आएका आयै छन्,’ देउवाले बैठकमा राखेको धारणा उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो । 

उक्त बैठकमा देउवाले कार्यवाहक सभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माको ब्रिफिङमा चित्त बुझाएका थिएनन् । मुख्यगरी सभापतिसँगको बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यताका बारेमा भइरहेका कामबारे ब्रिफिङ गरेका थिए । थापाको गुनासो जिल्ला, क्षेत्रले निर्देशन बमोजिम काम गर्न नसकेको भन्ने रहेको स्रोतले बतायो । तर, पार्टीको पहिलो वरियताको महामन्त्रीले समस्याको समाधान गर्नुपर्ने गुनासो राखेर अगाडि बढ्न नसकिने बताएका पनि स्रोतको दाबी छ । 

स्रोतका अनुसार त्यसपछि देउवाले कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादबारे सम्बन्धित पक्षसँग छलफल गरेर समस्या समाधानको पहल गर्न निर्देशन दिएका थिए । देउवाको निर्देशन बमोजिम खड्काले आइतबार बिहान बैठक बोलाएका थिए ।

त्यो बैठकमा निवर्तमान गृहमन्त्री लेखक र पार्टी कार्यालयका मुख्यसचिव पौडेललाई पनि बोलाइएको थियो । लेखक देउवाका विश्वासपात्र र पार्टीभित्र समन्वय गर्न सक्ने नेताका रूपमा चिनिन्छन् । 

बैठकमा सुरुमा कार्यवाहक सभापति खड्काले क्रियाशील सदस्यताबारे अहिलेको अवस्थाबारे महामन्त्री थापालाई धारणा राख्न भने । थापाले धारणा राखेपछि लेखकले क्रियाशील सदस्यता विवाद टुंगोमा लाग्न नसकेकाले घोषित मितिमा महाधिवेशन हुने सम्भावना टरेको भन्न मिल्ने अवस्था आइसकेको बताएका थिए ।

‘महाधिवेशन सम्पन्न गर्नका लागि आधारभूत रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण सम्पन्न भएको छैन । सुनिन्छ, ठाँउठाँउमा विवाद छ । वितरण र नवीकरणको काम नसकिएकाले अन्तिम नामावली तयार हुने कुरा नै भएन,’ लेखकको भनाइ उद्धृत गर्दै बैठक स्रोतले रातोपाटीसँग भन्यो, ‘यस्तो गतिले तीन सातामा महाधिवेशन गर्न सकिँदैन ।’ लेखकले क्रियाशील सदस्यको अन्तिम नामावली तयार नभएसम्म महाधिवेशनको परिकल्पना नै गर्न नसकिने बताएका थिए । 

शनिबारको बैठकमा मातहतका समितिले सहयोग नगरेको बताएका थापाले आइतबारको बैठकमा लेखकको धारणामा प्रतिवाद नगरेको स्रोतले बतायो । अर्का महामन्त्री शर्माले पनि यसबारे केही बोलेका थिएनन् । 

बैठकमा महाधिवेशनका लागि आवश्यक विधान मस्यौदा समिति, दस्ताबेज तयारी समिति, प्रचारप्रसार समिति गठन हुन नसकेकोबारे पनि कुरा उठेको थियो । 

बैठकमा सहभागी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले शनिबार र आइतरबार पार्टीको आन्तरिक विषय र निर्वाचनबारे छलफल भएको जानकारी दिए । 

‘पार्टी महाधिवेशनको प्रक्रिया कहाँ पुग्यो । निर्वाचनको तयारीबारे पार्टीमा के भइरहेको छ ? के–के काम बाँकी छन् भन्नेबारे कुराकानी भएको हो,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘यो विशुद्ध पार्टीको आन्तरिक छलफल हो । औपचारिक निर्णय गर्ने बैठक होइन ।’

कांग्रेसमा पुसमा महाधिवेशन गर्ने निर्णय महामन्त्रीद्वय थापा र शर्माका कारण गरिएको थियो । संस्थापन पक्ष फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा थियो । दुवै महामन्त्रीका कारण पुसमा महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्री नेतृत्वकै समितिले कार्यकुशलता देखाउन नसक्दा महाधिवेशन घोषित मितिमा हुन नसक्ने अवस्थामा पुगेको भन्दै अहिले संस्थापनले बैठकमा कुरा राख्दै आएका छन् । 

‘महामन्त्रीहरूले आफ्नो जिम्मेवारी पुरा नगर्दा उनीहरूकै माग बमोजिम पुस मसान्तमै गर्ने भनिएको कांग्रेसको महाधिवेशन नहुने अवस्था देखिएको छ,’ शनिबार र आइतबारका बैठकमा संस्थापन पक्षका नेताहरूले भनेका थिए । 

देउवाले बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि बोलाएका थिए । तर, उनीहरू सहभागी नभएको देउवा निकट स्रोतले बतायो । दुवै नेताका सचिवालयले उपत्यका बाहिर रहेकाले सहभागी हुन नसकेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप