आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'म्यान्ली रोमाञ्च'को रोमाञ्चकारी यात्रापछि...

सोमबार, ०७ पुस २०८२, १८ : १७
सोमबार, ०७ पुस २०८२

सात वर्षअगाडि मदन पुरस्कार विजेता स्व. मोहनराज शर्मा अस्ट्रेलिया आउनुभएको बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अस्ट्रेलियाको अध्यक्षको जिम्मेवारी मैले सम्हालेको थिएँ । उहाँको छोराले ‘हाम्रो बुवालाई यहाँका साहित्यानुरागीहरूसँग भेट्न मन छ’ भन्नुभयो । 

त्यति बेला हामी हरेक महिना कम्तीमा एउटा साहित्यिक कार्यक्रम आयोजना गर्ने गर्थ्यौँ । उहाँको प्रमुख आतिथ्यतामा अनेसास, एनएसडब्ल्यू, अस्ट्रेलियाको सातौँ वार्षिक महोत्सव, रात्रिभोज र रचना वाचनको कार्यक्रमसहित हामीले आयोजना गर्‍यौँ । साहित्यकार मोहनराज शर्माले पहिलो पटक अस्ट्रेलिया आउँदा साहित्यिक संस्था र साहित्य लेख्ने मान्छे नभेटेको र खिन्न भएको भन्नुभयो । साथै, अहिले नेपाली भाषा र साहित्यमा सक्रिय, विशेष गरी युवा पुस्ता देख्दा उहाँ असाध्यै खुसी हुनुभएको बताउनुभयो । उहाँको आँखा र अनुहारमा छचल्किएको खुसी र आनन्द अझै म सम्झिरहन्छु । 

त्यसपछि चौध वर्षको अन्तरालमा सिड्नी घुम्न आइरहनुहुने अभिभावक पुस्ताका साहित्यकारहरूसँग साक्षात्कार गर्ने अवसर मिल्यो । धेरै अग्रजहरू दुई–तीन महिनाको छोटो बसाइमा आउनुहुन्थ्यो भने एक वर्ष बस्ने गरी आउनुहुने अग्रज साहित्यकारहरू भने हामीले आयोजना गर्ने कार्यक्रमहरूमा नियमित आउने गर्नुहुन्थ्यो, जुन क्रम अझै पनि छ । 

अस्ट्रेलिया बसेर, हेरेर र भोगेर गएपछि केही साहित्यकारहरूले नियात्रा लेख्नुभएको छ । अधिकांश लेखकहरूसँग मेरो भेट भएको छ । एक पटक मलाई एक जना लेखकको अस्ट्रेलियाबारे लेखिएको नियात्रा कसैले हातमा दियो, लेखकलाई मैले भेटेको थिइनँ । किताब पढ्दा त्यो किताबभित्र मेरो नाम पनि थियो । त्यति बेला मैले थाहा पाएँ कि साहित्यलाई माया गर्ने मान्छेले साहित्यिक गतिविधि कस्तो भएको छ, को–को यहाँ सक्रिय छन् भनेर परैबाट भए पनि बुझेर, अवलोकन गरेर र महसुस गरेर जाँदो रहेछ । 

केही दिन अगाडि ब्ल्याकटाउन लाइब्रेरीमा मैले 'म्यान्ली रोमाञ्च' भन्ने पुस्तक देखेँ । यसो सरर्र पल्टाएर हेरेँ, अस्ट्रेलियाको नियात्रा थियो । मलाई नेपालको मूलधार भनिने साहित्य, अस्ट्रेलियाको अंग्रेजी मूलधार साहित्य र अस्ट्रेलिया भ्रमणमा आउनुभएका साहित्यकारहरू, यहाँको अस्ट्रेलियाली नेपाली साहित्यप्रति उहाँहरूको दृष्टिकोण कस्तो रहेछ भन्ने चासो लागिरहन्छ । त्यही भएर किताब घरमा लिएर आएँ । 

यति बेला म एउटा अंग्रेजी साहित्यको किताब र एउटा नेपाली उपन्यासको पाण्डुलिपि अध्ययन गरिरहेकी छु । तथापि 'म्यान्ली रोमाञ्च' ले मलाई तान्यो र त्यो रोमाञ्चको यात्रामा म पनि सहभागी भएँ ।

एक सय वटा किताब लेखिसक्नुभएका लेखक तेज प्रकाश श्रेष्ठको यो नियात्राको पहिलो क्रममा 'नमस्ते सिड्नी' भन्ने शीर्षक छ ।

'प्रेमले चुम्यौ दक्षिणी गोलार्द्धको पवित्र भूमि ! कोटी कोटी नमन गर्‍यौ यस धर्तीलाई ! पहिलो स्पर्श रोमाञ्चक बनिरहेथ्यो ! चिसो तनमन तात्तियो गमक्कै !' पहिलो हरफ र परिच्छेदमै कृतज्ञता, उत्साह, खुसी र उमंगको ऊर्जा बगेको, किताबभरि नै यही ऊर्जा सलल बगेको महसुस गरिरहेँ । 

पहिलो पटक नेपालबाट बाआमा सिड्नी आउँदा जे अनुभव गर्नुहुन्छ, त्यो अनुभव उहाँले जस्ताको तस्तै लेख्नुभएको छ । पढ्दै गर्दा मैले दश वर्ष अगाडि सिड्नी आउनुभएको हाम्रो मम्मी ड्याडीलाई सम्झिएँ ।उहाँहरूले बयान गर्नुभएका कुराहरू, दृष्टिकोणहरू, उत्सुकताहरू र भावनाहरू सबै यी किताबमा लेखकले गर्नुभएका अनुभवहरूसँग मिल्दोजुल्दो लाग्यो । 

प्यारामाट्टाको फेरी चढेर सर्कुलर कीसम्म पुग्दाको अनुभव, ओपेरा हाउस देख्दाको मादकतासँगै नेपाली भाषा विद्यालय 'शब्दमाला'मा आफ्नी नातिनी पढ्न गएको कुराले गर्वले फुल्दै उहाँ जब शब्दमालाको अभिभावक दिवसको कार्यक्रममा पुग्नुभयो, त्यस कार्यक्रमको वर्णनले मेरो आँखा रसायो । आफ्नो भाषा, साहित्य र संस्कृति झल्काउने कार्यक्रममा पुग्दा नेपालको सुवास बोकेर आएका आमा–बुबाहरूले के अनुभूति गर्नुहुन्छ, त्यो पढ्दा म भावुक भएँ । 

हिन्दु धर्मको संस्कृतिलाई आत्मसात गरे पनि लेखकको हरेक धर्मप्रतिको उदार विचार किताबभरि देखिन्छ । चर्च, बौद्ध स्तुपा, हिन्दु मन्दिर र गुरुद्वारा जहाँ जाँदा पनि 'आखिरमा परमात्मा एक' भन्ने ईश्वरीय तत्त्वप्रतिको लेखकको अगाध आस्था र सम्मान देखिन्छ । 

'साहित्यको कुत्कुत्याई' भन्ने शीर्षकमा पुगेपछि म निःशब्द भएँ किनकि उहाँलाई मैले भेट्न पाइनँ । उहाँले पनि म र केही साथीहरूको नाम उल्लेख गर्दै भेट्ने इच्छा भएको तर भेट्ने तारतम्य नमिलेको भनेर लेख्नुभएको रहेछ । आश्चर्य र उदेक त मलाई त्यति बेला लाग्यो जब उहाँ सिड्नीमा आयोजना भएको एक साहित्यिक कार्यक्रममा दर्शक भएर आउनुभएको रहेछ । त्यहाँ म पनि आयोजक होइन पाहुना भएर गएको थिएँ । त्यहाँ हामी अधिकांश साहित्य लेख्ने मान्छेहरू थियौँ, तर साहित्यकार तेज प्रकाश श्रेष्ठसँग चिनजान नै भएन । प्रायः लेखकहरू अन्तर्मुखी हुन्छन् र अन्तर्मुखी मान्छेहरू यस्तै हुन्छन् होला भन्ने लागिरह्यो । तै पनि कता कता यो कुराले मन खल्लो भइरहेको छ । 

सिड्नीमा लागेको छ महिनासम्मको डढेलो, त्यसले पारेको वातावरणीय असर साथै लेखककै यात्रामा पारेको अवरोध सबै कुरा पढिरहँदा मैले चाहिँ त्यो साल पहिलो पटक पानी चलाउने कुरामा 'रेस्ट्रिक्सन' लागू भएको सम्झिएँ । बगैँचामा पाइपले पानी हाल्न नपाइने, कार धुन नपाइने यस्तै(यस्तै नियमहरू लागू भएको थियो । त्यतिबेला अस्ट्रेलियामा लाखौँको संख्यामा रुखहरू, जनावर र चराचुरुङ्गीहरू जलेका थिए । 

ठाउँ–ठाउँमा आदिवासीहरूका निकै रोचक कथाहरू उल्लेख गर्नुभएका लेखकको आदिवासीसँग सम्बन्धित विषय वस्तुमा विशेष रुचि रहेछ भन्ने कुरा थाहा पाएँ । आदिवासीको एउटा चित्रसँग उहाँले गर्नुभएको मौन संवाद, अस्ट्रेलिया डे मनाइरहँदाको रौनकमा त्यसको पृष्ठभूमिमा लुकेको आदिवासी अस्ट्रेलियनहरूको पराजयको कथा, साथै ठाउँ–ठाउँमा आदिवासीसँग सम्बन्धित प्रसंगहरूले यो पुस्तक व्यक्तिगत नियात्रा भए पनि अस्ट्रेलियन आदिवासीहरूको इतिहास र परिचय जान्न पनि काम लाग्ने स्रोत किताब भएको छ । 

नेपालबाट आएको जोसुकै व्यक्तिलाई मैले पहिलो पटक घुमाउन लाने ठाउँ भनेको नै ओपेरा हाउस र हार्बर ब्रिज देखिने सर्कुलर की, र सर्कुलर कीबाटै म्यान्ली जाने फेरी राइड हो । म्यान्ली जाने फेरीमा बसेपछि समुद्रको नीलो पानी, सिड्नी हार्बरको अभिमानी अनुहार, पानीको बिचको जेल र म्यान्ली बिचको सुन्दरता, यी सबै कुरा यति मोहक छन् कि सायदै कसैले बिर्सिएला । यही जीवनभरि अविस्मरणीय छाप छोड्ने म्यान्ली बिचको यात्रालाई नै मुख्य शीर्षक बनाएर लेखकले अभिव्यक्त गर्नुभएको स्मरण शीर्षक जस्तै रोमाञ्चक लाग्यो । 

कोभिडको लकडाउन सुरु हुनै लागेको बेला अस्ट्रेलियाको डढेलोसँगै जब लेखक रिजनल बस्ती बेन्डीगो र मिल्डुरा पुग्नुहुन्छ अनि उहाँको उमंग फेरि चुलिँदै जान्छ । जे देख्यो त्यहीप्रति अहोभाव र खुसी यो पुस्तकको प्राण हो जस्तो लाग्यो । आँखाले देखेका हरेक कुरालाई प्रेमपूर्ण रूपमा व्यक्त गर्दा नियात्रा पनि काव्य जस्तो लाग्दो रहेछ । यहाँ मैले लेखकको सहर र गाउँ दुवै प्रतिको समभाव पनि देखेँ । 

मेलबोर्न र क्यानबेरा जाँदाको प्रसंग होस् वा सिड्नीका वरिपरिका ठाउँहरू जाँदा होस्, जहाँ जाँदा जे देख्दा पनि प्रस्तुत गरिएका रितम्भरा भावहरू मैले महसुस गरेँ । यहाँनेर मलाई हामीले गर्ने ध्यानको याद आयो । प्रायः हरेक ध्यानको विधिको अन्तिममा ओशोले 'परमात्माको धन्यवाद दो, अपने अन्दरका आनन्द और से भी बाटो' यस्तै–यस्तै भन्नुहुन्छ । मैले यो किताबमा त्यस्तै भावहरू भेटिरहेँ । 

अस्ट्रेलियाका भौतिक संरचनाहरू देख्दा आफ्नो देशको याद आउने स्वाभाविक विचारका लहरहरू लेखकमा पनि आइरहेको पाएँ । अस्ट्रेलियाका विभिन्न ठाउँहरू घुम्दा नेपालका विभिन्न ठाउँहरूसँग तुलना गरेको देख्दा हामी सबै जना उस्तै छौँ जस्तो लागिरह्यो । ब्ल्यु माउन्टेन र निलगिरी हिमाललाई तुलना गरेको देख्दा मलाई एक पटक निलगिरी हिमाल हेरूँ–हेरूँ लागेर आयो । 

खाने कुराका प्रसंगमा विभिन्न खानेकुरा चाख्ने रुचि र खाने कुरा पकाउनेहरू प्रति लेखकले देखाउनुभएको सम्मान देख्दा, यो बानी विशेष गरी नेपाली पुरुषहरूले सिकिदिए हुन्थ्यो जस्तो लाग्यो । 

बाआमाले आफ्ना विदेशिएका छोराछोरीहरूलाई देख्दा के सोच्नुहुन्छरु यो किताबमा कहिँ(कहिँ त्यस्ता प्रश्नहरू निकै मार्मिक ढंगले उठाइएका छन् । एकातिर सन्ततिहरू विदेश आएकै हुनाले विदेश दर्शन गर्न पाइयो भन्ने भाव छ भने नेपाल छोडेर हिँडेका सन्ततिहरूको वियोगको आँसु त्यहीँनेर टल्किरहेको देखिन्छ । लेखक तेज प्रकाश श्रेष्ठले पनि बारम्बार ‘किन मेरा सन्तति देशमा बस्न सकेनन्’ भन्ने आजको सबैभन्दा 'बर्निंग प्रश्न' उठाइरहनुहुन्छ । यस्तो लाग्छ, यो प्रश्न यो युगको सबैभन्दा जटिल प्रश्न हो । 

किताब पढिसकेर सौरभकिरण श्रेष्ठ दाइलाई फोन गरेर सोधेँ –'यो किताबमा हजुरको बारेमा हजुरको ड्याडीले के लेख्नुभएको छ, थाहा छरु' दाइले भन्नुभयो – 'पढेको छु, तर ठ्याक्कै यही लेख्नुभएको होला भन्ने सम्झना छैन ।' मनमनै सोचेँ –'सय वटा भन्दा बेसी किताब लेखिसकेका बुवाका सबै किताब कसरी पढिसक्नु त हौ ? ' केही पानाहरू फोटो खिचेर सौरभ दाइलाई पठाइदिएँ अनि आफै सोचेँ –'साँच्चै मेरो मम्मी ड्याडीले मेरो बारेमा के सोच्नुहुन्छ होला है ?' 

ड्याडी मम्मी आएको साल हाम्रो घरमा घरदैलो साहित्यिक कार्यक्रम राखेका थियौँ । हामी साहित्यप्रेमी साथीहरू भेला भएर रचना वाचन गरेका थियौँ । ड्याडी आफू लेखक नभए पनि माधव प्रसाद घिमिरेको कविता उद्धृत गर्दै बोल्नुभएको थियो – 'यी हाँसे पनि दुःख लाग्छ यिनले बिर्से कि आमा भनी, यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी ।' त्यति बेला मलाई लागेको थियो मेरो ड्याडी र मम्मी पनि कवि हुन् । फरक यति छ कि उहाँहरू पुस्तकको रूपमा शब्दहरू लेख्नुहुन्न । 

मलाई लाग्छ, सबैका बाआमाहरूमा 'बाआमा तत्त्व' र छोराछोरीहरूमा 'छोराछोरी तत्त्व' भेटिन्छ । बा पुस्ताका अग्रज लेखकहरूले लेखेको किताब पढ्दा आफ्नै बाआमाको संवेदना, प्रेम र करुणा महसुस हुने रहेछ ।
पाँच पोखरी प्रकाशन गृहले प्रकाशन गरेको यो पुस्तकमा शब्दहरू झरझर झरना जस्तै बगिरहन्छन् । कतै कुनै गल्ती वा कतै कुनै वाक्य छुटे जस्तो वा प्रसंगहरू अधुरा जस्ता लाग्दैनन् । सोच्छु – 'साधना भनेको साधना हो । सय वटा भन्दा बेसी किताब लेखिसक्नुभएका, अनुभवले खारिनुभएका लेखकको कृतिमा यो लय, ताल र सिलसिला भेट्नु स्वाभाविक होला ।' 

किताबमा मैले याद गरेको एउटा रोचक कुरा भनेको 'मुस्कुराउनु' भन्ने शब्दको अत्यधिक प्रयोग । लेखक यो सारा चराचर जगत्प्रति कृतज्ञ हुनुहुन्छ, अस्ट्रेलियामा देखेका भोगेका हरेक कुराप्रति धन्यवाद भावले ओतप्रोत हुनुहुन्छ । त्यही भावलाई व्यक्त गर्दा उहाँ बारम्बार ‘मुस्कुराउनु’ भन्ने शब्द प्रयोग गरिरहनुहुन्छ । यो शब्दसँगै मुस्कुराएकी नातिनी मुमल, मुस्काइरहने समुद्र, पहाड, बादल र सिड्नीसँगै म पनि पटक पटक मुस्काएँ ।

तथापि एउटा सानो धृष्टता मेरो के छ भने म स्कुल पढ्दा नै कृष्णप्रसाद पराजुलीको 'राम्रो रचना मिठो नेपाली' भन्ने पुस्तकमा ‘मुस्कुराउनु’ भन्ने शब्द हिन्दी हो, ‘मुस्काउने’ भन्ने शब्द नेपाली हो भनेर पढेकी थिएँ । त्यसैको प्रभावले होला म ‘मुस्कुराउनु’ भन्ने शब्द प्रयोग गर्दिनँ । तथापि, साहित्यमा विभिन्न भाषाका शब्दहरू राख्ने कुरामा मेरो आपत्ति भने छैन । मेरो आफ्नै लेखाइमा पनि कथाका पात्रहरू प्रायः अस्ट्रेलियाकै हुने गर्दा उनीहरूको प्राकृतिक संवाद राख्दा नेपालीमा अंग्रेजी घुसाएर भुसुक्कै हुन्छ । त्यही पनि कता कता ‘मुस्कुराउनु’ भन्ने शब्दले चाहिँ मलाई झस्काइ नै रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सानु घिमिरे 'ज्योत्सना'
सानु घिमिरे 'ज्योत्सना'
लेखकबाट थप