बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
एमसीसी

एमसीसी परियोजनाअन्तर्गत के–के हुँदैछन् काम ?

परियोजना सम्पन्न गर्ने समयको दबाब
सोमबार, ०७ पुस २०८२, १९ : ४४
सोमबार, ०७ पुस २०८२

सारांश

  • एमसीए-नेपालले एमसीसी अन्तर्गतका प्रसारण लाइन, सबस्टेसन र सडक सुधार कार्यलाई तीव्रता दिएको छ।
  • एमसीसी परियोजनाअन्तर्गत सडक स्तरोन्नति र सुपरिवेक्षणका लागि सम्झौता भएका छन्, जसमा नेपाली कम्पनीको सहभागिता रहेको छ।
  • स्थानीय विरोधका बाबजुद, एमसीए-नेपालले धानखोला-लमही सडक खण्ड स्तरोन्नतिको ठेक्का सम्झौता गरेको छ।

काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गतका प्रसारण लाइन, सबस्टेसन र सडक सुधारको कार्यहरूलाई तीव्रता दिएको छ । 

एमसीए–नेपाललाई परियोजनालाई समयमा सम्पन्न गर्ने समयको चाप परेको छ । एमसीए–नेपालले परियोजना सक्ने ५ वर्षे अवधिको काउन्टडाउन सुरु भइरहेको छ । 

एमसीए–नेपाललाई एमसीसी अन्तर्गतका परियोजनाहरू ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षभित्र सम्पन्न भइसक्नुपर्ने कडा प्रावधान छ । नेपालमा यो परियोजना २०८० भदौ १३ देखि कार्यान्वयनमा आएको हो, अर्थात् २ वर्ष ४ महिना यसको समय व्यतीत भइसकेको छ । 

अब बाँकी २ वर्षभन्दा कम समयमा ३१५ किमि प्रसारण लाइन, तीन वटा ठुला सबस्टेसन र ७७ किमिभन्दा बढी सडक स्तरोन्नतिको काम सक्नुपर्ने चुनौती एमसीए–नेपालसामु छ । तोकिएको समयमा काम नसकिए खर्च नभएको रकम अमेरिका फिर्ता जाने प्रावधान छ । उक्त प्रावधानले पनि एमसीए–नेपाललाई बाँकी २ वर्ष ८ महिनाको अवधिमा काम सम्पन्न गर्न ठुलो दबाब छ ।

समयको दबाबका कारण पछिल्लो समय एमसीए–नेपालले जलविद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधारको काम गर्न तीव्र रूपमा ठेक्का सम्झौता गर्दै निर्माण कार्यलाई अघि बढाएको छ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट परियोजना निर्धारित समयमै सम्पन्न हुने बताउँछन् । कार्यकारी निर्देशक खड्गले भने, ‘हाम्रो अहिलेको कार्यतालिका अनुसार नै काम भइरहेको छ र बाँकी अवधिमा सबै आयोजनाहरू पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’ 

उनले पाँच वर्षे समयावधि रहेको परियोजनाको २ वर्ष ४ महिना व्यतीत भइसकेको बताए । उनले अब बाँकी रहेको २ वर्ष ८ महिनाभित्रै सबै परियोजनाहरू सम्पन्न गर्नुपर्ने चुनौती भए पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

mca2

कार्यकारी निर्देशक विष्टले हालको कार्यतालिका र कार्यसम्पादनको गति हेर्दा निर्धारित समयभित्रै सबै कामहरू सम्पन्न हुनेमा विश्वस्त रहेको जिकिर गरे । २ वर्ष ८ महिनाभित्रै परियोजना सक्ने गरी प्रायः ठुला आयोजनाहरूको निर्माण कम्पनी छनोट गरी ठेक्का प्रक्रिया गरिसकिएको बताए ।

त्यसैको निरन्तरतास्वरुप सोमबार एमसीसीअन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) बराबरका दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । 

एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिका लागि र उक्त कार्यको सुपरिवेक्षणका लागि दुई छुट्टाछुट्टै सम्झौता गरेको छ ।  

एमसीसी परियोजनमा पहिलोपटक नेपाली कम्पनीलाई ठेक्का

एमसीसीअन्तर्गत परियोजनाहरूमा पहिलो पटक नेपाली कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । एमसीसी अन्तरर्गतका परियोजनाहरू मध्येको सडक स्तरोन्नतिको मुख्य ठेक्का पूर्ण रूपमा नेपाली कम्पनीहरूको संयुक्त उपक्रमले प्राप्त गरको छ । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ । 

यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को सम्झौता पनि गरेको छ । 

एमसीए–नेपालले ठेक्का सम्झौता गरेका सबै विदेशी कम्पनीहरू रहेका छन् । यसअघि प्रसारण लाइन आयोजनाहरूमा एमसीए–नेपालले विदेशी कम्पनीहरूसँगको साझेदारीमा नेपाली कम्पनीहरू संलग्न गरेको थियो ।

तर एमसीसी अन्तर्गतको ठुलो भौतिक पूर्वाधारको ठेक्का पूर्ण रूपमा नेपाली स्वामित्वका कम्पनीले मात्र पाएका थिएनन्, पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डको ठेक्का पाएको पहिलो पटक हो । 

ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए । 

प्राविधिक र वित्तीय मूल्याङ्कनमा ११ कम्पनीमध्ये प्राविधिक र वित्तीय रूपमा भएको मूल्यांकनमा शर्मा–कुमार यो कामका लागि छनोट भएको हो । 

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस आयोजनालाई अमेरिका–नेपालबिच ७५ वर्षभन्दा लामो मित्रताको एक महत्त्वपूर्ण कडीको भएको बताएका थिए ।

mca

उनले भने, ‘यी दुई सम्झौताले सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वोत्कृष्टतालाई नेपालमा चिनाउनेछन्। यो कुनै एउटा सम्झौता मात्र होइन, यो नेपाली जनताका लागि मूर्त परिणाम सिर्जना गर्नका लागि हाम्रो साझा प्रतिबद्धताको उपलब्धि हो ।’ 

अमेरिकी राजदूत थम्प्सनले धान खोला – लमही सडक स्तरोन्नति आयोजना र नारायणघाट – मुग्लिङ सडक मर्मत आयोजनाले अमेरिका–नेपाल साझेदारीको सशक्तता, मिलेनियम च्यालेन्ज कम्प्याक्टको गति तथा नेपाली जनता एवं नेपालमा कार्यरत अमेरिकी व्यवसायीहरूका लागि मूर्त परिणाम सिर्जना भएको बताए । 

उनले भने, ‘कम्प्याक्टले नेपालमा अत्यावश्यक सडक पूर्वाधार उपलब्ध गराउँदै गर्दा यी दुई सम्झौताले फूल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वाेत्कृष्टतालाई चिनाउनेछन् ।’ 

त्यस्तै अर्थ मन्त्रालयका सह–सचिव डा. धनीराम शर्माले एमसीए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको विश्वास व्यक्त गरे ।

एमसीए–नेपाल कार्यकारी निर्देशक विष्टले दुई सम्झौताहरूले व्यापारिक लागत घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने बताए । उनले परियोजना समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको समेत उल्लेख गरे । सडक मर्मतको कार्य आगामी २४ महिना (२ वर्ष) भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

परियोजनामा अहिलेसम्म ७ वटा निर्माण ठेक्का सम्झौता

एमसीसी अन्तर्गत हालसम्म सातवटा प्रमुख निर्माण ठेक्काहरूमा हस्ताक्षर भइसकेको एमसीए–नेपालले जनाएको छ । 

सोमबार भएको धानखोलादेखि लमहीसम्मको सडक सुधारको ठेक्कासँगै परियोजनाका मुख्य तीनवटा विद्युत् प्रसारण लाइन र तीनवटा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको एमसीए–नेपाल कार्यकारी निर्देशक विष्टले बताए । पछिल्लो पटक सडक मर्मतको ठेक्का थपिएसँगै निर्माणतर्फ सम्झौताका संख्या सात पुगेको उनको भनाइ छ । 

यसबाहेक विभिन्न परामर्शदाताहरूसँगका अन्य सम्झौताहरू पनि कार्यान्वयनको चरणमा छन् । एमसीए–नेपालका अनुसार नेपालमा एससीसीका अनुदानमा बन्ने परियोजनामध्ये तीन वटा सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइनको ठेक्का लागिसकेको छ । जसमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड प्रसारणलाइन बनाउन ७ करोड ६४ लाख ६४ हजार अमेरिकी डलर लागत अनुमान गरेको छ ।  

रातमाटे–न्यू दमौली खण्ड र दमौली–न्यू बुटवल–भारतको सीमासम्म ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ । त्यस्तै, न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण समेत आरम्भ भइसकेको छ । 

एमसीसीको अनुदानमा तनहुँको दमौली, नुवाकोट रातमाटे सबस्टेसन र नवलपरासीमा ४०० केभी क्षमताको सबस्टेसन निर्माण हुँदै छ । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरिसकेको छ । ८ किलोमिटर प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । 

करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशक भित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । ऊर्जा व्यापार सम्झौताअन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा यसले सघाउनेछ । एमसीसी परियोजनालाई नेपालको पूर्वाधार विकास, विशेषगरी विद्युत प्रसारण र सडक सुधारका लागि महत्त्वपूर्ण मानिएको छ । 

धानखोला देखि लमही खण्डमा स्थानीयको अवरोध 

एमसीसी परियोजनाअन्तर्गत धानखोला–लमही ४० किलोमिटर सडक खण्डको मर्मत तथा स्तरोन्नतिका विषयलाई लिएर स्थानीयहरूले विरोध गर्दै आएका छन् । 

आयोजनाको कार्यान्वयन लैजाने बेलामा स्थानीयले अवरोध गर्ने बताएका छन् । एमसीसी अन्तर्गतको यो सडकको विवाद अहिले पनि कायम छ । झण्डै ४० किलोमिटर लम्बाइको यो सडक पूर्वपश्चिम राजमार्गको अन्य सडकभन्दा कम चौडा बनाउन लागिएको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । 

लुम्बिनी प्रदेश राजधानी दाङ क्षेत्रसँग जोडिने उक्त सडक दुई लेन बनाउने गरी ठेक्का आह्वान गरिएको भन्दै स्थानीयहरू असन्तुष्ट छन् । पूर्व–पश्चिम राजमार्गको अन्य सडकखण्डमा ४ लेनको सडक निर्माण भइरहेको अवस्थामा यो सडकलाई दुई लेनको मात्रै बनाउन लागिएको भन्दै विरोध भइरहेको अवस्थामा एमसीए–नेपालले ठेक्का सम्झाता गरेको छ । 

पूर्वपश्चिम राजमार्ग अहिले पनि दुई लेनको छ । साँघुरो भएका कारण यसलाई एशियाली हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको छ । झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनको बनाउने प्रक्रिया अहिले पनि चलिरहेको छ । 

प्रदेश राजधानीभित्रै पर्ने क्षेत्रमा दुई लेनको मात्रै सडक बनाउन खोजिएपछि देउखुरीका स्थानीयवासी, राजनीतिक दल र विभिन्न संघसंस्थाले यसलाई फराकिलो बनाउन दबाब दिइरहेका छन् । तर एमसीए–नेपालले उक्त सडकको २ लेनमा बनाउने गरी सोमवार निर्माण कम्पनी छनोट गरी सम्झौता गरेको छ । 

सम्झौतामा एमसीए–नेपालले  धानखोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाएको छ । 

यता सडक स्तरोन्नति गर्न छनोट भएका शर्मा एण्ड कम्पनी प्रवन्ध निर्देशक रमेश शर्माले आजै देखि कामको तयारी सुरु गरिने बताए । उनले केही प्राविधिक अन्योल र स्थानीय विवादबिच परियोजनालाई गति दिने विषयमा छलफल भइरहेको बताए ।

सडकको चौडाइबारे स्पष्ट पार्दै भने, ‘यो सडक बनाउने शैली दुई लेनको हो, तर चौडाइका हिसाबले करिब ४ लेन बराबरको हुनेछ । सामान्यतया २ लेनको सडक ७ मिटरको हुन्छ भने ४ लेनको सडक १४ मिटरको हुन्छ । यो सडक १२ मिटर चौडा हुनेछ । तर यसमा ४ लेनको सडकमा हुने जस्तो बिचमा डिभाइडर वा फूलबारी भने रहने छैन ।’ 

dang-dhankola-lamahi

शर्माका अनुसार यो टेन्डर एक वर्ष अगाडि नै हुनुपर्ने भए पनि एमसीसी कार्यान्वयनमा देखिएको ढिलाइका कारण रोकिएको थियो । एमसीए–नेपालले १२ मिटरको बनाउने गरी ठेक्का दिएको उनको भनाइ छ ।  

उनले भने, ‘हामी भोलिदेखि नै क्याम्प कहाँ राख्ने, पिच प्लान्ट कहाँ राख्ने भन्ने तयारीमा लाग्छौँ ’ उनले भने । पूर्ण रूपमा काम सुरु हुन (मोबिलाइजेसन) भने करिब एक महिना लाग्ने देखिएको छ । एमसीसीको मापदण्ड अनुसार गुणस्तरीय काम गर्नुपर्ने भएकाले तयारीमा केही बढी समय लाग्ने उनको भनाइ छ । 

अमेरिकी सहयोग नियोग एमसीसीको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख योगदानमा ऊर्जा तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप