आत्मसमर्पण होइन, आत्मसम्मान चाहिन्छ: एमालेभित्र अनावश्यक तरंग नबनाउन ईश्वर पोखरेलको अपिल
सारांश
- एमाले नेता ईश्वर पोखरेलले पार्टीभित्र अनावश्यक तरंग सिर्जना नगर्न आग्रह गरे।
- उनले पार्टी एकता, विधि र आत्मसम्मानको पक्षमा जोड दिँदै विगतका नकारात्मक अनुभवबाट पाठ सिक्न आग्रह गरे।
- पोखरेलले नेतृत्वको व्यवहारमा विभेदको अन्त्य र पार्टी विभाजनको दृढ विरोध हुनुपर्ने बताए।
काठमाडौँ । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीभित्र अनावश्यक तरंग सिर्जना नगर्न र विगतका त्रासदीपूर्ण अनुभवको ‘भूत’ बाट अहिले पनि डराइरहनु उपयुक्त नहुने बताएका छन् । हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीभित्र देखिएका बहस, प्रतिस्पर्धा र त्यसपछिका भेटघाटलाई लिएर सार्वजनिक भएका प्रतिक्रियाप्रति ध्यानाकर्षण जनाउँदै उनले पार्टी एकता, विधि र आत्मसम्मानको पक्षमा जोड दिएका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्ट्याटसमा पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वका विरुद्ध कसैबाट पनि असंवैधानिक वा संस्थागत निर्णय विपरीत कुनै गतिविधि नहुने स्पष्ट पारेका छन् । विगतमा पार्टीभित्रका विवादले नकारात्मक र नोक्सानदायी परिणाम भोग्नुपरेको सन्दर्भ स्मरण गर्दै उनले अहिले त्यही भयबाट तरंगित हुनु उचित नहुने बताएका छन् ।
उनले नेतृत्व चयनमा सर्वसम्मति हुन नसक्नुका कारणतर्फ संकेत गर्दै नेतृत्वबाट सर्वसम्मतिका लागि ठोस पहल नदेखिएको अनुभूति धेरै प्रतिनिधिले गरेको उल्लेख गरेका छन् । समूह–समूह बनेर प्रतिस्पर्धामा जाँदा पार्टी जीवनको लोकतान्त्रीकरणसँग सम्बन्धित विषयहरू ‘अवधारणा पत्र’मार्फत खुला रूपमा उठाइएको र ती विषय महाधिवेशनको बन्दसत्रमै प्रस्तुत भइसकेकाले लुकाउनुपर्ने केही नभएको उनको भनाइ छ ।
पोखरेलले महाधिवेशनले दिएको निष्कर्ष सबैले मान्नुपर्ने कर्तव्य भएको उल्लेख गर्दै नेतृत्वबाट कार्यकर्ताले आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहारको अपेक्षा गर्ने स्पष्ट पारेका छन् । कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति दोहोरिए त्यसले फेरि अप्रिय र नोक्सानदायी परिणाम निम्त्याउन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
‘संस्थागत गरिएका (वा गरिने) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता / कार्यकर्ताले आत्म समर्पण होइन, आत्मसम्मान खोज्छन्: कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुँदा वा हुन नसक्ता त्यसप्रति असहमती वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि’, उनले लेखेका छन् ।
उनको पार्टी रूपान्तरणका लागि निरन्तर बहस र छलफल, आधिकारिक तथा संस्थागत निर्णयको पालना, व्यवहारमा विभेदको अन्त्य र पार्टी विभाजनको दृढ विरोध अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख छ । आग्रह–प्रेरित कटाक्ष र अनावश्यक आलोचनाले पार्टी र आन्दोलनलाई लाभ नभई नोक्सान मात्र पुर्याउने भन्दै उनले सबैलाई संयमित र जिम्मेवार हुन आग्रह गरेका छन्।
हालै सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । महाधिवेशनपछि पोखरेल समूहको काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको भेलालाई लिएर सार्वजनिक टिप्पणी बढेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण