बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले कोशी प्रदेश कमिटीद्वारा आन्दोलनको घोषणा

मङ्गलबार, ०८ पुस २०८२, ११ : ३६
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • एमाले कोशी प्रदेश कमिटीले सरकारका कदमहरूलाई असंवैधानिक र प्रतिगमनकारी ठहर गर्दै आन्दोलनको घोषणा गर्यो।
  • एमालेले केपी शर्मा ओलीलाई दुःख दिने षड्यन्त्र भएको आरोप लगाउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि आह्वान गरेको छ।
  • पार्टीले १४ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने र लोकतन्त्रप्रेमी सबैलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले वर्तमान सरकारका कदमहरूलाई 'असंवैधानिक' र 'प्रतिगमनकारी' ठहर गर्दै सशक्त आन्दोलनको घोषणा गरेको छ । एमाले प्रदेश कमिटीले मंगलबनर विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्ताे घाेषणा गरेकाे हाे ।

 एमाले प्रदेशका अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाउँदै त्यसका विरुद्ध प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने जनाइएको छ ।

पार्टीले भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७-२९) बाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको ऐतिहासिक सफलतालाई स्मरण गर्दै, सरकारले सोही लोकप्रियताबाट डराएर षडयन्त्र बुनेको दाबी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, "देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिने नियतका साथ मुलुकलाई थप द्वन्द्व र मुडभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ ।"

एमाले कोशी प्रदेशले २०८२ भदौ २३ र २४ गतेकाे घटनाको सन्दर्भ जोड्दै, जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र असंवैधानिक सरकार गठन गर्ने कदमले लोकतन्त्र र संविधानमाथि प्रहार भएको उल्लेख गरेको छ । पार्टीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनस्थापना, सर्वपक्षीय सरकारको गठन, संविधान संशोधन र ताजा जनादेशको मागलाई पुनः अघि सारेको छ ।

आगामी कार्यक्रमहरूका बारेमा जानकारी दिँदै विज्ञप्तिमा कोशी प्रदेशका सबै १४ जिल्ला कमिटीहरूलाई शान्तिपूर्ण रूपमा खबरदारी प्रदर्शन, सद्भाव र्‍याली र विभिन्न स्वरूपका विरोधका कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरिएको छ । एमालेले सरकारबाट गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण व्यवहार, धरपकड र अनुचित कार्यहरू एक सेकेन्ड पनि नसहने चेतावनी दिँदै त्यसको कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, "असंवैधानिक सरकारबाट गरिने कुनै पनि खाले प्रतिगमनकारी कदम र षडयन्त्र विरुद्ध नेकपा (एमाले) कोशी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रने छ ।"

साथै, एमालेले यो आन्दोलन केवल पार्टीको मात्र नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताउँदै सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी र युवा विद्यार्थीहरूलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन अपिल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप