क्रियाशील सदस्यता र संसदीय बोर्ड गठनको तयारीमा कांग्रेस
सारांश
- नेपाली कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्न लागेको छ, जसले पुस २६ देखि २८ गतेसम्म हुने तय भएको थियो।
- क्रियाशील सदस्यताको फारम पुर्याउन ढिलाइ भएपछि कार्यतालिका प्रभावित भएको हो, जसले गर्दा कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
- बैठकले प्रतिनिधिसभाका उम्मेदवार छनोट गर्न संसदीय बोर्ड बनाउने र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने निर्णय गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले तय गरेको महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि परिमार्जनको गृहकार्य थालेको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जनका लागि बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
गत मंसिर १५ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गर्दै कार्यतालिका पारित गरेको थियो । त्यो कार्यतालिकामा पार्टीको नयाँ क्रियाशील सदस्यताको फारम र सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पारित गरेर जिल्ला कार्यसमितिलाई पुस ८ गतेभित्र बुझाउने उल्लेख थियो । ‘नयाँ क्रियाशील सदस्यता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बसी निर्णय, फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने- पुस ८ गते भित्र,’ बैठकको निर्णयमा लेखिएको थियो ।
तर, महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अहिलेसम्म सबै स्थानमा क्रियाशील सदस्यताको फारमसमेत पुर्याउन सकेको छैन । समितिको सोमबार बसेको बैठकले फारम पुर्याउने समय पुस १० गतेसम्मलाई निर्धारण गरेको छ ।
समितिकी सदस्य सिता गुरुङले १० गतेसम्म क्रियाशील सदस्यताका नयाँ फारम सम्बन्धित स्थानमा पुर्याइसक्ने सहमति समितिमा बनेको जानकारी रातोपाटीलाई दिइन् । यसले कार्यतालिका प्रभावित बनेपछि परिमार्जनका लागि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
क्रियाशील सदस्यताको समयसँगै बैठकले पार्टीका तल्ला अधिवेशनको समय पनि परिमार्जन गर्ने तयारी गरिरहेको ती पदाधिकारीले बताए ।
त्यस्तै कार्यसम्पादन समितिले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभामा पार्टीका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउने निर्णय पनि गर्नेछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट समानुपातिकतर्फको सूची ढिलोमा पुस १४ गतेभित्र बुझाइसक्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यो समय आउन अब ६ दिन मात्रै बाँकी छ ।
माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि पनि उम्मेदवार छान्नुपर्नेछ । आयोगले पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।
कांग्रेस विधानमा सभापतिको अध्यक्षतामा पदाधिकारीसहितको संसदीय बोर्ड बनाउने व्यवस्था छ । त्यो निर्णय पनि अहिले कार्यसम्पादन समितिबाट गरेर पछि केन्द्रीय समितिले अनुमोदन गर्ने तयारी कांग्रेसको छ ।
त्यस्तै बैठकले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती संयोजक रहेको पार्टीको केन्द्रीय निर्वाचन समितिलाई मान्यता दिने निर्णय पनि गर्नेछ ।
महाधिवेशनमा पेस गर्ने विधान संशोधन समिति पनि कार्यसम्पादन समिति बैठकबाट गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण