'प्रधानमन्त्री कानुन विपरीत बन्न हुने, मैले फेवाताल पुर्न नपाउने ?'
सारांश
- पोखरामा फेवाताल आसपास सिमसार क्षेत्र पुर्दै गरेका व्यवसायी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।
- खतिवडालाई अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ, यसअघि उनी अन्य मुद्दामा पनि पक्राउ परेका थिए।
- खतिवडाले सिमसार पुर्न प्रयोग भएका ४ वटा सवारी साधनको चाबी प्रहरीले नियन्त्रणमा लिएको छ, उनले गैरकानुनी काम गरेको आरोप छ।
पोखरा । पोखराको फेवाताल आसपास सिमसार क्षेत्र पुर्दै गरेका व्यवसायी युवराज खतिवडालाई सोमबार कास्की प्रहरीले पक्राउ गरेको छ । सिमसार पुर्ने क्रममा रोक्न पुगेको प्रहरी र रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि अभद्र व्यवहार गर्ने खतिवडालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उनी चौथो पटक पक्राउ परेका हुन् । यसअघि पनि अभद्र व्यवहार, जुवा, बैंकिङ कसुर र सिमसार पुरेकै आरोपमा पक्राउ परेका थिए । पछिल्ला केहिदिन यता खतिवडाले पोखरा १८ पामे क्षेत्रमा डाँडा खारेर सिमसार पुरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । २०७८ भदौमा उनी सिमसार पुरेकै आरोपमा पक्राउ परेका थिए ।
उनले हालसम्म फेवातालको ५ सय रोपनीभन्दा बढी सिमसार क्षेत्र पुरेको आरोप छ । प्रहरीले सिमसार पुर्न प्रयोग भएका ४ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ । खतिवडा पक्राउपछि पनि निरन्तर सिमसार पुर्ने बताउँछन् । पुरिरहेको अवस्थामा पत्रकारले सोधेको प्रश्नमा उनले देश नै गैर कानुनी रूपमा चलेकोले आफूले पनि त्यो अधिकार पाउनुपर्ने बताए ।
‘अधिकार त खोसेर लिने हो नि । अहिलेको प्रधानमन्त्री कुन कानुन अनुसार प्रधानमन्त्री बन्नुभयो ? सबै नागरिक हो, समान अधिकार हुनुपर्छ,’ उनले भने, ‘म महानगरबाट पेलानमा परेको हो । सिमसार निरन्तर पुरिरहन्छु । व्यवसाय गर्न पाउनु मेरो अधिकार हो ।’ पोखरा महानगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार अनुमतिबिना उत्खनन र ओसारपसार गरेमा १२ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र पटक–पटक दोहोरिएमा सामान जफत गर्ने व्यवस्था छ ।
उनले पटक पटक घटना दोहोर्याएका कारण सामान जफत गर्न पाउनेछ । प्रहरीले सिमसार पुरेको आरोपमा कसैले उजुरी नदिएका कारण तत्काल अभद्र व्यवहारमा मात्रै मुद्दा अघि बढेको बताएको छ । सूचना अधिकारी तथा डीएसपी हरिबहादुर बस्नेतले भने, ‘अरू उजुरी आएको छैन । हामीले अभद्र व्यवहार मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाएका छौँ । सिमसारका विषयमा उजुरी आयो भने सोही अनुसार अनुसन्धान हुन्छ ।’ खतिवडा राजनीतिक शक्तिको आडमा पटक पटक गैरकानूनी काम गर्दै आएका व्यक्ति हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल निकट रहेका धादिङका खतिवडा २ दशकदेखि पोखरामा छन् । केही समयअघि विवादित हिसाबले निर्माण भएको सेदीको वाइयूके मार्केटको एउटा सटरमा प्रहरीको बिट उद्घाटन भएको थियो । उक्त मार्केट उनै खतिवडाको हो । विवादमा परेपछि बिट उद्घाटन भएपनि प्रहरीले प्रयोग गरेको छैन ।
सोमबार पुरेको जग्गा पनि प्रदेश मन्त्री प्रकाशबहादुर केसीको भएको आरोप छ । तर, केसीले उक्त जग्गा आफूले ६ महिनाअघि नै विक्री गरिसकेको बताए । ‘मेरो जग्गामा एक टिप ग्राभेल पनि फालिएको छैन । म सरकारी जग्गा पुर्ने वा मिच्ने नियत भएको मान्छे होइन,’ उनले भने, ‘मिडियामा आएजस्तो त्यो जग्गा अहिले मेरो होइन । पहिले नै बिक्री गरिसकेको हुँ । त्यो जग्गा न मैले पुर्न लगाएको हुँ, न त त्यो अहिले मेरो जग्गा हो ।’ ताल किनार र सिमसारमा व्यवसायीहरू र महानगरबिच टकराब छ ।

सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै भएको प्रस्ट फैसला गरेको छ । सोही अनुसार कास्कीका पुण्यप्रसाद पौडेलको संयोजकत्वमा सिमाङ्कन समिति बनेर उक्त समितिले तालको नयाँ आकार छिनोफानो लगाएको छ । पछि महानगर र प्रदेश सरकारको प्राविधिक टोलीले छुट्टै अध्ययन गर्दा तालको आकार अझै बढाएको देखाइएको छ । फेवाताल रामसार सूचीमा सूचीकृत संरक्षित क्षेत्र हो । सर्वोच्च अदालतले तालको ६५ मिटर मापदण्ड खाली गराउन, दूषित जग्गा दर्ता खारेज गर्न आदेश दिएको छ । तालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण