शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सीजी मोटर्ससँग डिलरसिप तोड्ने केवाईसीको निर्णयमा अदालतको ब्रेक

बुधबार, ०९ पुस २०८२, १८ : ०२
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले चिनियाँ अटोमोबाइल कम्पनी चोङ्गकिङ चाङ्गआन कुवाएको केवाईसी ब्रान्डलाई सीजी मोटर्ससँगको डिलरसिप सम्झौता एकतर्फी रूपमा तोड्ने कार्यमा रोक लगाएको छ । 

न्यायाधीश ईश्वर पराजुलीको इजलासले सीजी मोटर्सको पक्षमा अन्तरकालीन आदेश जारी गर्दै सम्झौतालाई यथास्थितिमा राख्न भनेको हो ।

अदालतले चिनियाँ कम्पनीलाई अर्को निर्णय नभएसम्म केवाईसी ब्रान्डका गाडीहरू वा सोसँग स्पेसिफिकेसन मिल्ने अन्य गाडीहरू सीजी मोटर्सबाहेक अन्य कुनै कम्पनी वा व्यक्तिमार्फत आपूर्ति तथा बिक्री वितरण नगर्न नगराउन भनेको छ । 

के हो विवाद ?

नेपालका लागि केवाईसी ब्रान्डको आधिकारिक बिक्रेता रहेको सीजी मोटर्ससँगको करार अवधि बाँकी छँदै चिनियाँ कम्पनीले एकतर्फी रूपमा सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । 

चिनियाँ कम्पनीको उक्त कदमले आफूले नेपाल भित्र्याएका गाडीहरूको बिक्री, मौज्दात रहेका पार्टपुर्जा, वारेन्टी र सर्भिसिङ लगायतका विषयमा ठुलो आर्थिक दायित्व सिर्जना हुने र यसबाट कम्पनीलाई अपूरणीय क्षति पुग्ने दाबी गर्दै सीजी मोटर्स अदालत गएको थियो ।

यसअघि यो विषय उच्च अदालत पाटनमा समेत पुगेको थियो । उच्च अदालतले यो विषय करारीय विवाद र जालसाजीसँग सम्बन्धित भएकोले जिल्ला अदालतबाटै निरूपण हुनुपर्ने ठहर गरेको थियो । 

सोही आधारमा सीजीले काठमाडौँ जिल्ला अदालतमा ’करारको यथावत परिपालना’को माग गर्दै मुद्दा दायर गरेको थियो ।

सोउपर अदालतको आदेशमा भनिएको छ, ‘विपक्षी चिनियाँ कम्पनीबाट उत्पादित केवाईसी ब्रान्डका गाडीसँग स्पेसिफिकेशन मिल्ने गाडीहरू निवेदक वादी सीजी मोटर्स बाहेक अन्य कम्पनी/व्यक्तिको नाउँबाट आपूर्ति तथा बिक्री वितरण नगर्नू नगराउनू, करार सम्झौता यथास्थितिमा कायम राख्नू ।’

अदालतले यस विषयमा थप छलफलका लागि दुवै पक्षलाई पुस २२ गते उपस्थित हुन समेत आदेश दिएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू विजयकान्त मैनाली, गोपाल कृष्ण घिमिरे तथा अधिवक्ताहरू मुकुन्द न्यौपाने, जयनारायण भण्डारी र विपीन सुवेदीले बहस गरेका थिए । 

अदालतको यो आदेशसँगै अब तत्कालका लागि केवाईसी ब्रान्डका गाडीहरू अन्य कुनै समूहले बिक्री गर्न पाउने छैनन् र सीजी मोटर्ससँगको पुरानो सम्झौता नै कायम रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप