ट्रम्पको समर्थन पाएका उम्मेदवार होन्डुरसको राष्ट्रपति निर्वाचित, ‘चुनावी कू’ को आरोप
सारांश
- होन्डुरसको राष्ट्रपतिमा नास्री अस्फुरा विजयी भएका छन्, जसले ४०.३ प्रतिशत मत प्राप्त गरे।
- निर्वाचनमा धाँधलीको आरोप लागेको छ, र नतिजालाई लिएर देशमा राजनीतिक तनाव बढेको छ।
- अमेरिकी हस्तक्षेप र पूर्व राष्ट्रपतिलाई माफी दिइएको विषयले पनि चुनावी प्रक्रियामा विवाद निम्त्यायो।
तेगुसिगाल्पा । प्राविधिक गडबडी र धाँधलीको आरोपका बिच निकै ढिला गरी सार्वजनिक गरिएको मतपरिणाम अनुसार होन्डुरसको राष्ट्रपतिमा अनुदारवादी नेसनल पार्टीका उम्मेदवार नास्री अस्फुरा विजयी भएका छन्।
राष्ट्रिय निर्वाचन परिषद् (सीएनई) का अनुसार अस्फुराले ४०.३ प्रतिशत मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सेन्टर-राइट लिबरल पार्टीका साल्भाडोर नास्राल्लाले ३९.५ प्रतिशत मतमा चित्त बुझाएका छन्। निर्वाचनको झन्डै तीन साता लामो अन्योलपछि सार्वजनिक भएको यो नतिजालाई लिएर देशमा राजनीतिक तनाव झनै बढ्ने सङ्केत देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुल्ला समर्थन पाएका अस्फुराले नतिजा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल एक्स मार्फत आफू शासन चलाउन तयार रहेको र जनतालाई निराश नपार्ने उद्घोष गरेका छन्। यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सबै पक्षलाई नतिजा स्वीकार गर्न र शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहयोग गर्न आग्रह गरेका छन्। तर, होन्डुरसको कंग्रेसका अध्यक्ष लुइस रेडोन्डोले भने यो चुनावी नतिजा पूर्ण रूपमा गैरकानुनी रहेको भन्दै विरोध जनाएका छन्।
नोभेम्बर ३० मा मतदान भए पनि मतगणनाको क्रममा दुई पटकसम्म प्राविधिक अवरोध आएपछि नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो। निर्वाचन परिषद्की अध्यक्ष आना पाओला हलले मतगणनाको जिम्मा पाएको निजी कम्पनीले पूर्व जानकारी बिना मर्मत सम्भार गरेको भन्दै ढिलाइको दोष कम्पनीमाथि थोपरेकी छन्। प्रणालीमा आएको समस्याका कारण झन्डै १५ प्रतिशत मतपत्रहरू हातैले गन्नुपरेको थियो, जसले गर्दा निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेका छन्।
यो चुनावी प्रक्रियामा अमेरिकी हस्तक्षेपको मुद्दाले पनि निकै चर्चा पायो। निवर्तमान राष्ट्रपति सिओमारा कास्ट्रोले यसलाई ‘चुनावी कू’ को संज्ञा दिँदै ट्रम्पले हस्तक्षेप गरेको आरोप लगाएकी छन्। ट्रम्पले अस्फुुराको अग्रता उल्टिएमा ‘परिणाम भोग्नुपर्ने’ र आर्थिक सहायता रोक्ने चेतावनी दिएका थिए। यही बिचमा ट्रम्पले लागुऔषध र हतियार मुद्दामा अमेरिकामा जेल सजाय काटिरहेका नेसनल पार्टीकै पूर्व राष्ट्रपति जुआन ओर्ल्यान्डो हर्नान्डेजलाई माफी दिएपछि विवादले नयाँ मोड लिएको थियो।
पराजित उम्मेदवार नास्राल्लाले भ्रष्ट समूहले मत गणनामा चलखेल गरेको र ट्रम्पको टिप्पणीले आफ्नो जित्ने सम्भावनालाई धक्का पुर्याएको दाबी गरेका छन्। यद्यपि, अमेरिकाले भने नवनिर्वाचित प्रशासनसँग मिलेर द्विपक्षीय सुरक्षा सहयोग अगाडि बढाउने र अवैध आप्रवासन नियन्त्रणमा काम गर्ने स्पष्ट पारेको छ। नतिजा सार्वजनिक हुनुअघि नै राजधानी तेगुसिगाल्पामा धाँधली विरुद्ध हजारौँले प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण