बाघका लागि उपयुक्त बासस्थान बन्दैछ शुक्लाफाँटा
सारांश
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी भइरहेको छ, जहाँ बाघको संख्या बढेको अनुमान छ।
- निकुञ्जको आन्तरिक रिपोर्ट अनुसार, शुक्लाफाँटामा हाल ४३ वटा बाघ रहेको अनुमान छ, जुन सन् २०२२ को गणनाभन्दा बढी हो।
- बाघ गणनाका लागि निकुञ्जका कर्मचारीहरू चितवनमा तालिम लिइरहेका छन् र क्यामेरा ट्रयापिङ विधि प्रयोग गरिनेछ।
धनगढी । सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि बाघका लागि अनुकूल क्षेत्र बनेको छ । पछिल्ला वर्ष बाघको संख्या बढेको अनुमान गरिएको यो निकुञ्जमा यकिन संख्या पत्ता लगाउन बाघ गणनाको तयारी भइरहेको छ ।
नेपाल सरकारले बाघको संख्या अद्यावधिक गर्न देशका विभिन्न निकुञ्जलाई तीन वटा क्लस्टर (समूह)मा विभाजन गरी गणना कार्य अघि बढाएको छ । शुक्लाफाँटा तेस्रो क्लस्टरमा पर्छ । अहिले चितवन–पर्सा, बाँके– बर्दियाका जङ्गलमा बाघ गणनाको काम धमाधम भइरहेको छ । त्यहाँको काम सकिएपछि मात्र प्राविधिक टोली शुक्लाफाँटा आइपुग्नेछ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीका अनुसार अन्य निकुञ्जमा गणना सकिएपछि शुक्लाफाँटाको पालो आउने भएकाले अबको करिब दुई महिनाभित्र शुक्लाफाँटामा पनि बाघ गन्न सुरु गरिनेछ ।
‘हामी प्राविधिक रूपमा तयार छौँ । उताको टोली आउनासाथ क्यामेरा ट्रयापिङको काम सुरु हुन्छ,’ जोशीले भने ।
सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाले शुक्लाफाँटामा ३६ वटा बाघ रहेको देखाएको थियो । निकुञ्जको आन्तरिक अनुगमनले भने त्यो संख्या अझ बढेको सङ्केत गरेको छ । निकुञ्ज कार्यालयको पछिल्लो आन्तरिक रिपोर्ट अनुसार अहिले यहाँ बाघको संख्या ४३ पुगेको अनुमान छ ।
गत वर्षको अनुगमनमा ४४ वटा बाघ क्यामेरामा कैद भएका थिए, तर यस वर्ष एउटा बाघ कम देखिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कहिलेकाहीँ बाघ क्यामेरामा नपर्न पनि सक्छ वा प्राकृतिक कारणले मृत्यु भएको पनि हुन सक्छ । यस वर्ष दुई वटा बाघ प्राकृतिक रूपमै मरेका पनि छन् ।
‘३०५ वर्ग किलोमिटरको सानो क्षेत्रफलमा ४३ वटा बाघ हुनु आफैँमा ठुलो उपलब्धि हो,’ उनले भने ।
वाग्लेका अनुसार पर्याप्त आहारा भएका कारण सानो क्षेत्रफलमा पनि यति धेरै बाघ अटाएका हुन सक्छन् । शुक्लाफाँटामा बाघले खान मन पराउने मृग प्रजातिका जनावरको बाहुल्यता छ । तथ्याङ्क अनुसार यहाँ प्रतिवर्गकिलोमिटर १४६ वटा आहारा प्रजाति छन्, जुन नेपालकै सबैभन्दा धेरै हो ।
बाघले हप्तामा एक पटक सिकार गर्छ । उसलाई करिब ५० केजी मासु चाहिन्छ । शुक्लाफाँटामा जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना जस्ता जनावर प्रशस्त पाइन्छन् । आहाराको यही सहज उपलब्धताले गर्दा बाघहरू मानव बस्तीतिर नपसी निकुञ्जकै सुरक्षित घेराभित्र रमाउने गरेका छन् ।
आहारा र बासस्थानको राम्रो तालमेल मिलेकै कारण यहाँ बाघ व्यवस्थापनमा खासै समस्या नदेखिएको वाग्लेले बताए ।
वन्यजन्तु विज्ञहरूका अनुसार एउटा भाले बाघलाई आफ्नो प्रभुत्व जमाउन ५० देखि ६० वर्ग किलोमिटर क्षेत्र चाहिन्छ भने पोथी बाघलाई २० देखि ३० वर्ग किलोमिटर । शुक्लाफाँटाको सीमित भूगोलमा बाघको संख्या बढ्दै जाँदा उनीहरूबिच आफ्नो क्षेत्रका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । घना जङ्गल र पर्याप्त पानीका स्रोतहरूले गर्दा बाघहरू मिलेरै बसेको वाग्लेको भनाइ छ ।
यसपटकको गणनामा पनि अत्याधुनिक अटोमेटिक क्यामेरा प्रयोग गरिनेछ । बाघ हिँड्ने बाटो, पानी पिउने ठाउँ र घुमफिर गर्ने क्षेत्रहरूमा क्यामेरा जडान गरेर उनीहरूको हाउभाउ र संख्या कैद गरिनेछ । बाघ गणनाका लागि निकुञ्जका दुई कर्मचारी अहिले चितवनमा तालिम र अनुभव लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण