शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

कांग्रेस, एमाले र नेकपाकै भरमा मधेसकेन्द्रित दल

बिहीबार, १० पुस २०८२, १६ : २०
बिहीबार, १० पुस २०८२

सारांश

  • राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ, जसमा दलहरू उम्मेदवार चयन र आन्तरिक तयारीमा जुटेका छन्।
  • तराई केन्द्रित दलहरू सिट जोगाउन र जनमत पार्टीले उम्मेदवारी दिने तयारी गरिरहेका छन्, ठूला दलहरूसँग तालमेलको सम्भावना छ।
  • जसपा नेपाल, लोसपा नेपाल र जनमत पार्टीले चुनावका लागि आन्तरिक छलफल र अन्य दलहरूसँग सहकार्यको प्रयास गरिरहेका छन्।

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि दलहरू उम्मेदवार चयनदेखि अन्य आन्तरिक तयारीमा जुटेका छन् । क्षेत्र, जिल्ला तथा प्रदेश समितिले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाइरहेका छन् । माघ ११ गते राष्ट्रिय सभाका १८ सिटका लागि मतदान हुँदै छ । 

हाल राष्ट्रिय सभामा तराईकेन्द्रित दलका चार जना सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शेखर सिंह तथा जनता समाजवादी पार्टी नेपालबाट मोहम्मद खालिद, मृगेन्द्रकुमार सिंह यादव र पूजा चौधरी राष्ट्रिय सभा सदस्य छन् । उनीहरूको पदावधि पनि माघमा सकिँदै छ । यी दलहरू आ–आफ्नो सिट कसरी जोगाउने भन्ने गृहकार्यमा लागेका छन् । 

यसपटक डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रिय सभामा उम्मेदवारी दिने तयारी गरेको छ । यी तीनवटै दल आ–आफ्ना उम्मेदवारलाई कसरी जिताउने भन्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । राष्ट्रिय सभाका लागि यी तीन दल मिले पनि एक सिट पनि जित्न सक्दैनन् । यी दलहरूले ठुला दलहरू कांग्रेस, एमाले र नेकपामध्ये कुनै न कुनै दलसँग तालमेल गर्नैपर्ने हुन्छ, त्यसका लागि यी दलहरूले गृहकार्य गरिरहेका छन् । 

जसपा नेपालका महासचिव मोहम्मद लालबाबु राउतले राष्ट्रिय सभा चुनावका लागि आन्तरिक रूपमा गृहकार्य चले पनि ठोस रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको बताए । उनले भने, ‘भोलि पार्टीको बैठक छ, त्यसमा राष्ट्रिय सभा चुनावका लागि छलफल हुन सक्छ ।’ हाल जसपा नेपालका तीन जना सदस्य राष्ट्रिय सभामा छन् र ती तीन सिट जोगाउने दाउमा जसपा नेपाल लागिपरेको छ । 

कोशी प्रदेशमा जसपा नेपालको कुल मतभार १ सय २० छ भने मधेश प्रदेशमा १ हजार ९ सय २३ र लुम्बिनी प्रदेशमा ५३ मतभार मात्र छ । त्यस्तै लोसपा नेपालको मधेस प्रदेशमा ९ सय ३३ र लुम्बिनी प्रदेशमा २ सय ३५ मतभार छ । जनमत पार्टीको मधेस प्रदेशमा ७ सय ४६ र लुम्बिनी प्रदेशमा १ सय ५९ मतभार छ । यति मतभारले मात्र यी दलहरूले एक सिट पनि जित्न सक्ने देखिँदैन । 

जनमत पार्टीका महासचिव चन्दन सिंहले दलहरूबिच छलफल चलिरहेको बताएका छन् । उनले भने, ‘यसपालि जनमत पार्टीले पनि राष्ट्रिय सभामा आफ्नो उम्मेदवारी दिन्छ, त्यसका लागि मधेसवादी दललगायत अन्य ठुला दलहरूसँग पनि छलफल चलिरहेको छ ।’ 

उनले मधेसवादी दलहरूबिच मोर्चाबन्दी भएकाले त्यहाँ पनि यस विषयमा छलफल हुने बताए ।

लोसपा नेपालका महासचिव मनिष मिश्रले पनि राष्ट्रिय सभा चुनावका लागि संघीय लोकतान्त्रिक मोर्चामा टुंगो लगाएर त्यसपछि अन्य दलहरूसँग कुराकानी गर्ने बताए । उनले भने, ‘राष्ट्रिय सभा चुनावमा एक्लै एक्लै गएर केही गर्न सकिँदैन, त्यसका लागि दलहरूबिच सहकार्य गर्नैपर्छ, त्यसका लागि आन्तरिक गृहकार्य चलिरहेको छ ।’ 

२०७६ मा निर्वाचित भई आएका राष्ट्रिय सभा सदस्यहरूको पदावधि समाप्त भएर माघ माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो, जहाँ १९ मध्ये १८ जनाका लागि चुनाव हुनेछ । त्यसमध्ये कोशी प्रदेशबाट तीन जना, मधेस प्रदेशबाट चार जना, बागमती प्रदेशबाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, लुम्बिनी प्रदेशबाट तीन जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट दुई–दुई जना निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभा चुनावमा सातवटै प्रदेशका ५५० जना प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका १ हजार ५ सय ६ जना प्रमुख तथा उपप्रमुखले भाग लिन पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप