बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस नेताहरु भन्छन् : सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

बिहीबार, १० पुस २०८२, १७ : ३६
बिहीबार, १० पुस २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बोल्दै नेताहरु सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । उनीहरुले कांग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसके पनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङले सरकारले निर्वाचनमय वातावरण बनाउन अझै नसकेकाले सांसदहरुले अर्को बाटो अपनाएर रिट दर्ता गरेको बताए । उनले कांग्रेस निर्वाचनको पक्षमा रहेपनि त्यो वातावरण बनाउन सरकारले नसकेको उल्लेख गरे । उनले पार्टीको महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘महाधिवेशन हुन्छ । क्रियालिश सदस्यताको टुंगो जिल्लाबाट आउने क्रम जारी छ । छिटै टुंगो लाग्छ । सरकार पक्षबाट निर्वाचनको आकाशमा देखिएको बादल फाटेको अवस्था देखिएन । त्यो काम सरकार पक्षको हो । त्यो नदेखेपछि संसद पुनःस्थापनाका लागि रिट दायर गरिएको हो । सरकार पक्षले वातावरण बनााए निर्वाचनमा सहभागी हुन्छौँ । निर्वाचन नभएपछि डार्क भूगोलतिर छिरिन्छ । यो महाधिवेशन गर्छौं, एक दुई दिन तलमाथि हुनसक्छ तर तिललाई पहाड बनाउनु हुँदैन, आकाश खसिहाल्छ जस्तो गर्नु हुँदैन ।’

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन अलमलमा नरहेको र विगतको भन्दा भव्यताका साथ सम्पन्न हुने दाबी गरे । उनले नियमित महाधिवेशन चाँडै हुने पनि बताए । उनले भने, ‘महाधिवेशन अलमलमा पर्दैन । महाधिवेशन भव्यताका साथ हुन्छ । पहिलाको भन्दा भव्यताका साथ सम्पन्न हुन्छ । नियमित महाधिवेशन सम्पन्न हुन्छ । महाधिवेशन चाँडै नै सम्पन्न हुन्छ ।’

पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी रहेको र छिटै टुंगिने बताइन् । उनले पदाधिकारीहरुको पदावधिको समयसम्म महाधिवेशन हुने दाबी गरिन् । उनले निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । देश शून्यतामा नजाओस् भनेर सर्वोच्चमा रिटसहित पुगेको बताइन् ।

उनले भनिन्, ‘११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी छ । ११ जिल्लाको समस्या हो । क्रियाशिलको नविकरण लगभग सकिसकेको छ । नयाँ क्रियाशिलमा नम्बर छुटेको कारणले समस्या भएको हो । पदावधिको समयसम्म महाधिवेशन हुन्छ । आम निर्वाचनमा सरकारले ध्यान दिन सकेको छैन । निर्वाचनमा सहभागी हुन हामी तयार छौँ तर निर्वाचनको वातावरण बनाउनुपर्छ । निर्वाचन गर्नुपर्छ भन्ने कांग्रेसको निर्णय हो । देशलाई भ्याकुमको अवस्थामा नजाओस् भनेर साथीहरुले हस्ताक्षर गर्नुभएको हो ।’

नेता अर्जुननरसिंह केसीले कांग्रेस अन्योलमा नरहेको र संस्थागत निर्णय गरेर निर्वाचनमा जाने भनिसकेको बताए । उनले पार्टीको महाधिवेशन पनि तोकिएको समयभित्रै हुनुपर्ने बताए । उनले यथास्थितिमा निर्वाचनमा जानु भनेको आत्महत्या गरे बराबर भएको जिकिर गरे । उनले भने, ‘कांग्रेस अन्योलमा छैन, हामीले संस्थागत रुपबाटै के गर्ने भनिसकेका छौँ । महाधिवेशन तोकिएको मितिभित्रै हुनुपर्छ । यो कसैको रहर भन्दा पनि परिस्थितिको कुरा हो । यथास्थितिमा निर्वाचनमा जानेकुरा आत्महत्या बराबर हो ।’

नेता केसीले अधिवेशन तोकिएको समयमा हुनैपर्ने बताए । उनले विकसित घटनाक्रमलाई हेरेर कांग्रेस अघि बढ्नुपर्ने बताए । -न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप