त्रिवेणी कप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने
सारांश
- लमजुङको बेसीशहरमा ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु भएको छ।
- प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्नेछन्, खेल दिउँसो २ बजे सुरु हुनेछ।
- विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन्, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था छ।
लमजुङ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आजदेखि ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
उद्घाटन खेलमा आज एपीएफ र सुन्दरबजार भिड्नेछन्। बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी–१ टेलिभिजन च्यानलमार्फत गरिने भएको आयोजकले जनाएको छ । यसले देश तथा विदेशमा रहेका फुटबल प्रेमी दर्शकहरूलाई घरमै बसेर खेलको प्रत्यक्ष आनन्द लिन सहज बनाउने विश्वास आयोजकको छ ।
प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ उपाधिसहित १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय टिम एपीएफ फुटबल क्लब, सुन्दरबजार फुटबल क्लब, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो फुटबल क्लब, लालीगुराँस लगायत क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण